काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा राजपालाई निषेधको राजनीति त्याग्न आग्रह गर्दै नेकपा एमाले प्रतिवादमा उत्रिनुपर्ने अवस्था आउन नदिन चेतावनी दिएका छन् ।
उपचारका लागि थाइल्याण्ड पुगेर फर्किएका ओलीले बुधबार त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो चेतावनी दिएका हुन् ।
उनले संविधान संशोधन प्रक्रियामा सहभागी भैसकेपछि पनि परिणामलाई स्वीकार्न अफ्ठेरो परेको बताउँदै एमाले प्रतिवादमा आउन अवस्था नबनाउन चेतावनी दिए ।
“संविधान संशोधन प्रकृयामा सहभागी भएपछि परिणाम स्वीकार्न गाह«ो भएजस्तो देखियो,” ओलीले भने, “एमाले प्रतिवादमा आउन नपरोस् । आक्रमण गर्दा चुप लागेर बस्ने कुरा हुँदैन । यसबारेमा निर्वाचन आयोगले हेर्नुपर्ने भए पनि हेरेको छैन ।”
अध्यक्ष ओलीले चुनाव दुई चरणमा गर्दा सरकार र निर्वाचन आयोग कसैले पनि छलफल नगरेको बताउँदै ११ दिनको समय धेरै लामो हुने बताए ।
“दुई चरणमा होइन, एकैचरणमा गरौं,” उनले भने, “यसले परिणाममा असर पुर्याउँछ । पहिलो चुनावले दोस्रोलाई असर पर्छ । निर्वाचन मन्त्रिपरिषदले निर्णय गर्ने भन्दा पनि दलहरुको परामर्शमा निर्वाचन आयोगले गर्नुपर्छ ।” उनले सरकारको विश्वसनीयता नभएको बताउँदै भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए । उनले अहिलेसम्म एमालेले प्रदेश नम्बर दुईको चुनावका लागि उमेदवारको टुंगो नलागेको बताए । बाह्र खरी बाट
फाइल तस्बिर



