१४ भदौ । गायक रामकृष्ण ढकाल अहिले विवादमा छन् । नेपाल आइडलको टप ५ औं राउण्डमा जज बनेका ढकालले निशान भट्टराईको प्रशंसा गरेपछि उनी विवादमा तानिएका हुन् । धेरेले यसलाई ‘बाहुनवाद’सँग पनि जोडेर हेरे । यसरी देशकै चर्चित गायकको आलोचना भइरहेका बेला क्याप्टेन एवं अभिनेता विजय लामाले पनि प्रतिक्रिया दिएका छन् । उनले ‘जज’ निष्पक्ष हुनुपर्ने भन्दै ‘जज’को कुर्सीबाटै कुनै एकको पक्ष लिनु राम्रो नभएको बताएका छन् । उनले विवादित गायक ढकाललाई ७ वटा टिप्स पनि दिएका छन् ।
यस्तो छ क्याप्टेन लामाको प्रतिक्रिया जस्ताको तस्तै: केही दिनअघि रामकृष्ण ढकालले नेपाल आइडलबारे दिनु भएको प्रतिकृयाले एक किसिमको तरङ ल्याएको छ, नेपालमा । सबैले आ-आफ्नो बिचार ब्यक्त गर्दै गरेको पाइन्छ, सामाजिक सन्जालहरुमा। धेरैजसोले आक्रोश पोखेका छन भने कोही-कोहीले चाहिँ न्युट्रल भएर लेखेका छन् । यसो हेर्दा मलाइ यसबारेमा टीका टिप्पणी गर्नु भन्दा एउटा निर्णायक प्यानल सदस्य (जज) भएर निभाउनुपर्ने मर्यादाको बारेमा चाहिँ चर्चा गर्न चाहन्छु। नेपाल आइडल होस या कुनै पनि कार्यक्रममा ‘जज’हरुलेः
१) प्रतिस्पर्धीहरुलाई तिमी भन्नु राम्रो होइन ।
२) ‘जज’ गर्दा होस या प्रतिकृया दिदा निष्पक्ष हुनु जरुरी हुन्छ ।
३) कुनैलाई मात्र राम्रो भनेर अरुलाई चाहिँ नकार्न मिल्दैन ।
४) सबैलाई हौसला दिनुपर्छ नकि आफ्नो प्यारोलाई मात्र।
५) सल्लाह सुझाब दिदा सकारात्मक ढङले प्रस्तुत गर्नुपर्छ ताकी प्रतिस्पर्धीहरु उठ्न सकुन र राम्रो प्रस्तुति दिन सकोस।
६) एक अर्का प्रतिस्पर्धीबीच तुलना गर्नु मिल्दैन।
७) वाक स्वन्तन्त्रता छ भन्दै जे पनि बोल्न मिल्दैन पब्लिक मिडियामा। यी सबै कुरामा ध्यान दिने हो भने या दिएको भए यत्रो विवादमा नै पर्दैन थियो होला, राम भाई । हाम्रो भन्दा राम्रोले जित्नुपर्छ, कुनै जात या ठाउँको आधारमा हैन सहि ब्यक्तिले जित्नुपर्छ । दैनिक नेपाल बाट



