डीआईजी नवराज सिलवालले सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज अन्तिम सुनुवाइ हुने भएको छ । सर्वोच्चको बृहत् पूर्ण इजलाशले उक्त रिट निवेदनमा आज सुनुवाइ गर्दै छ ।
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत, पुरुषोत्तम भण्डारीको इजलाशमा रिट निवेदनको सुनुवाइ हुँदै छ ।
यस अगाडिको पेशीमा विपक्षी नेपाल सरकार र आईजीपी प्रकाश अर्याल तर्फका अधिवक्ताहरुको बहस सकिसकेको छ । आज रीट निवेदक डीआईजी नवराज सिलवालको तर्फका अधिवक्ताहरुले इजलाशमा प्रत्युत्तर दिएपछि सुनुवाइ समाप्त हुनेछ । लामो समयदेखि हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा सम्भवत आजै फैसला आउनसक्ने आँकलन गरिएको छ । आज समयअभाव भएमा इजलाशले अर्को हप्ता आदेश सुनाउने गरी पेशी तोक्न सक्नेछ ।



