काठमाडौं, १८ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री प्रचण्डबीच १५ मिनेट भेटवार्ता भएको छ । होटेल हायातमा भएको सामूहिक शिष्टाचार भेटलगत्तै मुखर्जी–प्रचण्ड बेग्लै वार्ता भएको हो ।
‘एक्लाएक्लै के–के कुरा भए, थाहा भएन, सामूहिक भेटमा बडो राम्रो कुराकानी भयो,’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने । खनालका अनुसार मुखर्जीले राजनीतिक स्थिरताका लागि प्रधानमन्त्री प्रचण्डको प्रयासको स्वागत गरेका थिए ।
मुखर्जीले सहमतिमा संविधान संशोधन हुने विश्वास व्यक्त गरेक थिए । मुखर्जीको भनाइ थियो, ‘तपाईँको नेतृत्वमा संविधान कार्यान्वयन प्रक्रिया सुरु हुनेछ र सबै पक्षसँग सहमति बन्नेछ भन्नेमा म विश्वस्त छु, तपाईँले गर्नुभएको प्रयासमा समग्र भारतको साथ छ ।’
प्रधानमन्त्री प्रचण्डले नेपालको शान्तिप्रक्रियामा भारत सरकार र राष्ट्रपति मुखर्जीको भूमिकाको प्रंशसा गरेका थिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।



