काठमाडौं, १७ भदौ– सर्वोच्च अदालतमा रिक्त चार न्यायाधीशहरूको नियुक्तिका लागि सिफारिस गर्ने तयारी सुरु भएको छ । सम्भवतः असोजको पहिलो सातासम्म सर्वोच्चमा चारजना न्यायाधीश नियुक्त हुनेछन् ।
यसअघि न्याय परिषदको बैठकमा कोरम नै नपुगी न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको, दिनमा गर्न नसकी रातमा नियुक्तिका लागि सिफारि भएको, नियुक्त भएकाहरुको योग्यतामा समेत प्रश्न उठाइएको अवस्था थियो ।
लोकान्तरमा खबर रहेको छ
पटक भने न्याय परिषदको पूर्ण बैठकले न्यायाधीश सिफारिस गर्ने जनाइएको छ । न्याय परिषदमा वर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीले ‘भनेको मान्ने’ सदस्य भएकाले न्यायाधीश नियुक्ति विवादित नहुने अपेक्षा गरिएको छ ।
यसपटक सर्वोच्च अदालतको न्यायाधीश नियुक्तका लागि उच्च अदालतका मुख्यन्यायाधीश र पूर्वमहान्यायाधिवक्ता वरिष्ठ अधिवक्तामध्येबाट ‘योग्य र सक्षम’ व्यक्तिको नाम सिफारिस गरिने न्याय परिषद स्रोतले जनाएको छ ।
सर्वोच्चका न्यायाधीश नियुक्तिका लागि यसपटक धेरै विवाद नहुने कानून व्यवसायीको पनि अपेक्षा छ । न्याय परिषदका धेरै सदस्य परिषदका अध्यक्ष समेत रहेका प्रधान्यायाधीशको निर्णय ‘मान्ने खालका’ भएकाले सिफारिसमा विवाद नहुने एक वरिष्ठ अधिवक्ताले बताए । यसपटकको नियुक्तिबाट सम्भवतः सपना मल्ल पछि लाइनमा बस्ने व्यक्ति समेत आउने संभावना रहेको उनी बताउँछन् ।
सर्वोच्चको न्यायाधीशका लागि यसपटक उच्च अदालतका मुख्यन्यायाधीशबाट बमकुमार श्रेष्ठ सिफारिस हुने लगभग निश्चित छ । यद्यपि अघिल्लो पटकको सिफारिसमा वरिष्ठतालाई महत्व नदिइएकाले अहिले नै भन्न सकिने अवस्था भने छैन ।
यस्तै रिक्त चार पदमा उच्च अदालतका मूख्यन्यायाधीश र कानून व्यवसायीबाट कति जना सिफारिस गर्ने भन्ने विषय पनि टुंगो लागेको छैन ।
प्रमुख तीन पार्टी कांग्रेस, एमाले र माओवादीसमर्थित एक–एक जना कानून व्यवसायी र एकजना मूख्यन्यायाधीशलाई सर्वोच्चको न्यायाधीश सिफारिस गर्ने चर्चा राजनीतिक बृत्तमा चलेको छ । न्यायाधीश नियुक्तिमा मधेस केन्द्रित दलले पनि आफ्नोतर्फबाट एकजना हुनुपर्ने माग गरेको स्रोतको दावी छ ।
तर एकजना मूख्यन्यायाधीश भने कानून व्यवसायीबाट एकजनालाई मात्र सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिने बताउँछन् । मूख्यन्यायाधीशबाट तीनजनाको नाम सर्वोच्चको न्यायाधीशमा सिफारिस हुने उनको दावी छ ।
नेपाल बार काउन्सिलका एक सदस्य भने तीनजना कानून व्यवसायी र एकजना मुख्यान्यायाधीशको नाम सर्वोच्चको न्यायाधीशमा सिफारिस हुने बताउँछन् । ‘अहिले नै भन्न सकिने अवस्था त छैन । तर तीनजना कानून व्यवसायी र एकजना मूख्यन्यायाधीशलाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गर्ने चर्चा छ,’ नाम नबताउने शर्तमा उनले भने ।
सर्वोच्चको न्यायाधीश पदमा नियुक्त भएपछि भविश्यमा कुनै राजनीतिक नियुक्ति लिन नपाइने, अदालतमा बहस गर्न नपाइने भएकाले पूराना वरिष्ठ कानून व्यवसायीहरु सार्वेच्चको न्यायाधीश हुन त्यति इच्छुक देखिँदैनन् । सर्वोच्चको न्यायाधीशका लागि हालै मात्र ‘वरिष्ठ अधिवक्ता’को उपाधि पाएका आधा दर्जन कानून व्यवसायीको नाम चर्चामा आएको छ ।
सर्वोच्चमा रिक्त चार न्यायाधीशका लागि रमन श्रेष्ठ, ठाकुर न्यौपाने, येदु खनाल, बालचन्द्र आचार्य, कुमार रेग्मी, सुरेन्द्र महतो, गोपालकृष्ण घिमिरे र हरि फुयाँलको नाम चर्चामा छ । रमन श्रेष्ठ र हरि फुयाँल पूर्वमहान्यायाधिवक्ता हुन् । काठमाडौं उपत्यका बाहिरबाट सो पदमा दावी गर्नेमा वरिष्ठ अधिवक्ता कृष्ण थापाको उच्च संभावना रहेको बुझिएको छ ।
साथै मुख्यन्यायाधीशबाट सेवा निवृत्त भएका व्यक्ति समेत सर्वोच्चको न्यायाधीशका लागि सिफारिसमा पर्न सक्ने प्रवल संभावना रहेको कानून व्यवसायीहरू बताउँछन् ।
प्रधानन्यायाधीश पराजुली भने ‘वरिष्ठ अधिवक्ताहरूलाई उच्च अदालतको मुख्य न्यायाधीश बनाउने र उच्च अदालतका मुख्य न्यायाधीशलाई सर्वोच्चमा ल्याउने’ पक्षमा देखिएका छन् ।



