लेटाङ–भोगटेनीमा भएको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेकाहरूलाई सार्वजनिक गरिँदै।
मगर समुदायको सांस्कृतिक हुर्रा नाचमा रमाउन गएका दुई युवाको हत्यामा संलग्न भएको अभियोगमा मोरङ प्रहरीले १० जनालाई पक्राउ गरेको छ। भाइटीकाको अघिल्लो दिन लेटाङ–भोगटेनी नगरपालिका–५ स्थित एक घरमा हुर्रा नाच चलिरहँदा केराबारी गाविस ९ का सोनम गुरुङ र दिपेन गुरुङको हत्या भएको थियो।
पेट तथा शरीरका विभिन्न भागमा छुरा, चुप्पी, कर्दलगायत दायरासमेत प्रहार गरी हत्या भएपश्चात खटिएको प्रहरीले बुधबार राति इटहरी र लेटाङ–भोगटेनी नगरपालिकाका विभिन्न स्थानबाट १० जनालाई समातेको हो। विराटनगर–५ मा भएको अर्को हत्या घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा लेटाङ–४ धोवीटोलका कपिल चेम्जोङ, वडा नम्बर ५ का लीलबहादुर ठकुरी, निश्चल मगर, सन्तोष विश्वकर्मा, विक्रम मगर, उत्तम शाही, कुमार बस्नेत, सबिन राई, आदित्य मगर र रुपन राई छन्।
चेम्जोङ र ठकुरी इटहरीबाट पक्राउ परेका हुन् भने अन्य लेटाङ–भोगटेनी नगरपालिकाका विभिन्न स्थानबाट पक्राउ परेका मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए।
पक्राउ परेकाहरूलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ। एसपी भण्डारीका अनुसार सबैलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङले १० दिन थुनामा राखेर अनुसन्धान गर्न बिहीबारै आदेश दिएको छ।
मृतक र उक्त समूहबीच विगतमा पनि झैझगडा हुने गरेको र हुर्रा नाचका बखत पनि झगडा भएपछि सो समूहको आक्रमणमा दुबै युवाको ज्यान गएको प्रारम्भिक अनुसन्धानले देखाएको एसपी भण्डारीले बताए। ‘विगतको रिसराग पुनः दोहोरिँदा भएका झगडाले हत्या भएको हाम्रो प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ भण्डारीले भने।
सो दिनको झगडा भने मादक पदार्थ सेवनले बढाएको थियो। ‘रमाइलोका निम्ति चाडवाडमा मापसे गर्दा झगडा उत्पन्न भएको र पहिलेको झगडाले पनि त्यसमा मलजल गरेको देखिन आयो,’ भण्डारीले भने। एसपी भण्डारीका अनुसार बयानमा सबैले हत्यामा आफ्नो संलग्नता स्वीकार गरिसकेकाले थप अनुसन्धानमा प्रहरीलाई सघाउ पुगेको छ।



