कवि कृष्णभूषण बलको जन्म २००४ सालमा इलाममा भएको हो । पछि उनी विराटनगर बसाइँ सरे । राष्ट्र बैंकका जागिरेसमेत भएका उनले ०३० को दशकमा कवितालाई नयाँ शैली प्रदान गरे । क्लिष्ट र नबुझिने कविता लेखिइरहेको समयमा उनले सरल, तर विद्रोहका कविता लेखेर नेपाली साहित्यलाई नयाँ उचाइमा पु¥याएका थिए । कवि बलको ‘भोलि बास्ने बिहान’ चर्चित कविता कृति हो । उनको एक मात्र सालिक यतिवेला दमकको बेलडाँगी शरणार्थी शिविरमा अलपत्र छ । शिविरको भ्रमणपछि  प्रकाश गुरागाईंले सालिकको नालीबेली खोतलेका छन् ।

झापाको प्रवेशद्वार हो, दमक । दमक चौकैमा ‘राष्ट्रियता’ झल्काउने स्तम्भ छ । स्तम्भको सबैभन्दा माथि छ, नौरंगी डाँफे । प्रवेशद्वारमै बनाइएको डाँफेको मूर्तिले सिंगो झापालाई गिज्याइरहेको छ । यो चरो दमकजस्तो तराईको धूपमा बस्दैन । न त यसले झापाको सांस्कृतिक पहिचान नै झल्काउँछ ।

त्यहाँबाट झन्डै एक किलोमिटर उत्तर लागेपछि पुगिन्छ, मामाचोक । यो पुरानो नाम हो । अहिले सो ठाउँको नाम फेरिएर ‘भानुचोक’ भइसकेको छ । मामाचोकमा भानुभक्तको सालिक ठडिएपछि जुरेको हो, नयाँ नाम । डाँफेजस्तै भानुभक्तको पनि दमकसँग उल्लेखनीय सम्बन्ध छैन ।

भानुचोकबाट झन्डै दुई किलोमिटरमाथि बेलडाँगी छ । त्यहीँ छ, भुटानी शरणार्थी शिविर । पहिला बाक्लै छाप्रा थिए । सबै बाँसका भाटाबाट बनेका । अहिले फाट्टफुट्ट मात्र बाँकी छन् । बरु झाडीले बस्ती निलेको छ । धेरै शरणार्थी अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत तेस्रो मुलुक गइसकेका छन् । अब शिविरमा कि नेपालमै मर्न चाहने र शरणार्थीको मान्यता नभएका शरणार्थी बाँकी छन्, कि सत्ताले किनारामा पारेको कविको सालिक छ । हो, कवि कृष्णभूषण बल शरणार्थी बनेका छन् ।

शिविरबीच भएर गएको छ दमक– रवि सडक । सडकैसडक हिँड्दै जाँदा शिविरको पल्लाछेउमा भेटिन्छ, किराँत मन्दिर । मन्दिर छेउमै छ, भुटानीहरूले स्थापना गरेको संग्रहालय । संग्रहालयजस्तै छ बस्ती, सुनसान । संग्रहालय कुरेर बसेका डिबी राई भित्र–बाहिर गरिरहेका भेटिन्छन् । संग्रहालयमा भुटानीले बनाएका चित्रकला, भुटानी प्रतिविम्ब झल्काउने ढिकी, जाँतो र केही पुस्तक छन् ।

यही शरणार्थी शिविरमा छ, कवि कृष्णभूषण बलको सालिक । सलिकले दमकका कुनै चोक वा सार्वजनिक स्थान पाउन सकेको छैन । कृष्णभूषण बल दमकका लागि डाँफे र भानुभक्तभन्दा पृथक हुन् । दमकसँग उनको खास सम्बन्ध छ ।

उनी इलामबाट तराई झरेपछि दमकमै अडिएका थिए । दमकमा बसेर खेती गरे । दमक–१५ पाणिनी चोकमा उनको घर थियो । पछि त्यहाँबाट विराटनगर बसाइँ सरे ।
०००

दमकका कवि प्रकाश आङदेम्बेको पुस्ता कवि कृष्णभूषण बलकै कविता पढेर र सुनेर हुर्किएको हो । तर, विद्यालयमा होइन । दमकका चौतारी र चियापसलमा । उनकै कविता पढेर साहित्यमा हामफाल्नेहरू अहिले पनि दमकतिर भेटिन्छन् ।

प्रकाश आङ्देम्बेले ०५६ सालमा बिर्तामोडमा भएको साहित्य चौतारीको वार्षिकोत्सवमा पहिलोपटक कवि बललाई भेटेका थिए । प्रकाश यसै पनि कवि बलका फ्यान थिए । त्यो भेटपछि बलसँग उनको निरन्तर सम्पर्क भइरह्यो ।

त्यतिवेला प्रकाश कविता, गजल र रुवाइत लेख्थे । साहित्यमा स्थापित हुन संघर्ष गरिरहेका थिए । कृष्णभूषण बल साहित्यमा पसेका युवा पिँढीलाई खुबै माया गर्ने । यसरी नै उनीहरू बाँधिएका थिए ।

भेटघाट बाक्लिँदै जाँदा प्रकाश आङ्देम्बे र कृष्णभूषण बलबीच पारिवारिकजस्तै सम्बन्ध भयो । कुनै पुरस्कार पाए कवि बल पहिला प्रकाशलाई फोन गरेर खुसी साट्थे । साह्रो–गाह्रो प¥यो भने रात–बिरात पनि रुँदै फोन गर्थे । दमक पुगे भने प्रकाशसँगै रात बिताउँथे । विराटनगरस्थित बलको घर पनि भेटघाटको केन्द्र थियो ।

झन्डै सात वर्षअघि प्रकाशले फिल्म बनाउन चाहे । उनीसँग भुटानी शरणार्थीको पीडाको कथा थियो । तर, पैसा थिएन । कवि कृष्णभूषण बलसँग छलफल चलाए । बलले आफ्नै घर राखेर पनि पैसा दिन चाहेका थिए ।

जब कवि बलको मृत्यु भयो, प्रकाशसँगै दमकका युवा कवि–कलाकारले अभिभावक गुमाए । त्यो पीडा भुल्न उनीहरूले कवि बलको सालिक बनाउने सल्लाह गरे । पहिला त सालिक बनाउन खर्च चाहिन्थ्यो, झन्डै दुई लाख । तर, पैसा थिएन । दोस्रो कुरा, सालिक राख्ने सार्वजनिक स्थान चाहिन्थ्यो । ‘काठमाडौं एक्लैले अब काठमाडौं बोक्न सक्दैन’जस्ता बागी विचारका कविता लेखेर उवेलै सत्तालाई हुँकार गर्ने कविको सालिक राख्ने ठाउँ पाउन मुस्किल नै थियो ।

प्रकाश आङ्देम्बेले दमकका कवि प्रकाश बुढाथोकीसँग सल्लाह गरे । दमक–१५, पाणिनी चोकआसपासमा सालिक राख्ने सल्लाह भयो । इलामबाट तराई झरेर कवि बल त्यहीँ खेती गरेर बसेका थिए । तर, त्यहाँका स्थानीयले त्यति रुचि गरेनन् । न त सरकारले नै स्वीकृति दियो । पाणिनी चोक दमकको कुनामा पर्ने हुनाले कविद्वयलाई पनि उति चित्त बुझेको थिएन ।
ठाउँ खोज्नुभन्दा पहिला मूर्ति नै बनाउनतिर लागे । तर, बनाउन जान्ने र कम ज्यालामा नै काम गर्ने कलाकार भेट्न गाह्रो थियो । यस्तैमा उनीहरूले भेटे, भक्त राई । भुटानी शरणार्थी । जो कृष्णभूषण बलको मूर्ति निःशुल्क बनाउन तयार भए ।

०००

भक्त राई कविता पढ्दैनन् । उनलाई कृष्णभूषण बलको कुनै पनि कविता ख्याल छैन । त्यसो त उनले नेपाली साहित्य नै पढेका छैनन् । शरणार्थी बनेर नेपाल आउँदा ६/७ वर्षका थिए । शिविरको छाप्रोमा पढे, जति पढ्न पाइन्थ्यो ।

तर, कवि प्रकाश आङ्देम्बेको संगतले बलको नाम भनेका सुनेका थिए । कवि बललाई झन्डै एक दशकअघि पहिलोपटक धरानमा देखेका थिए । सँगै भाग लिएको त्यो नै अन्तिम कार्यक्रम पनि थियो । तर, कवि बलसँग भने भेटघाट भएन ।

कलरब धरानले गरेको कार्यक्रममा भाग लिन भक्त पनि दमकबाट धरान पुगेका थिए । कवि बल मञ्चमा थिए । भक्तहरू दर्शकदीर्घामा । मञ्चमा भएका अतिथि कविलाई उनले बोलाउने हिम्मत नै गरेनन् । भेटघाट नै नगरी उनी दमक फर्किए ।

तिनै बलको मूर्ति बनाउन प्रकाश बुढाथोकी र प्रकाश आङ्देम्बेले भक्तलाई प्रस्ताव गरे । पारिश्रमिक दिन नसके पनि थोरै आर्थिक सहयोग व्यवस्था गर्ने आङ्देम्बेले आश्वासन दिए । भक्तले पनि त्यतिवेलासम्म ख्यातिप्राप्त मान्छेको मूर्ति बनाएका थिएनन् । उनलाई त्यो अवसर नै थियो । स्वीकार गरे । तत्कालै प्रकाश बुढाथोकीले पाँच हजार रुपैयाँ झिकेर दिए ।

त्यसको भोलिपल्टदेखि नै भक्त मूर्ति बनाउने ढुंगा खोज्न निस्किए । शरणार्थी शिविरलाई तर्साइरहने छेउको रतुवा खोलामा उनले ढुंगा फेला पारे । करिब १५ वर्ष पानीमुनि बसेर बलियो भएको ढुंगा त्यहाँबाट निकाल्नु सजिलो काम थिएन ।

उनले शरणार्थी साथीहरूकै सहयोग मागे । आठ–नौजनाले गलले पल्टाएर ढुंगालाई खोला बाहिर निकाले । भक्तले फेरि जाँचे । निख्खर कालो ढुंगा, बडेमानको । सजिलै फुट्ने त कुरै भएन । उनलाई यस्तै चाहिएको थियो । खोला किनारमै रिक्सा बोलाए । साथीहरूको सहयोगमा ढुंगालाई रिक्सामा हाले र शिविरसम्म ल्याए ।

अब ढुंगामाथि छिनो चलाउन थाले । बिस्तारै ढुंगामा कृष्णभूषण बलको अनुहारको आकृति बन्न थाल्यो । तीन महिनामा कवि बलको सालिक तयार भयो । गालाको चाउरी, आँखा, ओठ, कपाल कोर्ने स्टाइल, टिपिकल मुस्कानले कवि बल बोल्छन् किझैँ लाग्ने बनाए, उनले ।

शिविरमा बिजुली प्रतिबन्धित छ । त्यसैले ढुंगालाई आकार दिन उनले छिनोको मात्र सहारा लिनुप¥यो । त्यसो त निरन्तर काम गर्न पनि पाएनन् । हातमुख जोर्नका लागि अन्य काम जो गर्नु नै थियो । नभए त एक महिनामै मूर्ति तयार हुन्थ्यो ।

मूर्ति बनेपछि उनले त्यसलाई चार वर्षभन्दा बढी आफ्नै छाप्रोमा राखे । शरणार्थी शिविर खाली हुँदै गयो । उनलाई पनि असुरक्षा महसुस भयो । दुई वर्षअघि मूर्तिलाई शिविरकै संग्रहालयमा पु¥याए, जुन भर्खर बनेको थियो । विदेश गएका भुटानी शरणार्थीले नै बनाएका ।

०००

कुनै दिन शरणार्थीसँगै लाइन लागेर भक्त राईले पनि अमेरिका पुनर्वासमा जान फारम भरेका थिए । अहिले भने उनी कि भुटान फर्कने, कि नेपालमा नै बस्ने सोचमा पुगिसके । आफ्नो पहिचान नै गुम्ने गरी पुनर्वासमा जान मन छैन, उनलाई ।

भुटानी शिविरस्थित संग्रहालयमा उनले बनाएका धेरै मूर्ति छन् । बलसँगै लोककवि अलिमियाँ, महाकवि लक्ष्मीप्रसाद देवकोटा, माओत्सेतुङका मूर्तिसमेत छन् । उनले आफ्नै मूर्ति पनि बनाएका छन् ।

भक्तले बलको मूर्ति बनाएको पारिश्रमिक अहिलेसम्ममा १७ हजार रुपैयाँ पाएका छन् । उनलाई पैसा ठूलो कुरा लागेको छैन । मूर्तिलाई कतै सार्वजनिक स्थानमा राखिदिए आफ्नो पनि कदर हुने र स्रष्टाको पनि सम्मान हुने उनको भनाइ छ । ‘तर, शरणार्थीले सोर्स लगाउन सक्दैनन्, त्यसैले यतै अलपत्र छ,’ उनी निराशा व्यक्त गर्छन् ।

प्रकाश आङ्देम्बे भने निराश छैनन् । दमक नगरपालिकासँग मिलेर सालिक कतै स्थापना गर्ने उनको सोचाइ छ । हुन त यसअघि पनि दमक नगरपालिकामा प्रस्ताव पु¥याइएकै हो । ‘संक्रमणकाल भएर होला, चासो दिनसक्नुभएको छैन, हामीले पनि सशक्त रूपमा घच्घच्याउन नसकेको हो कि भन्ने लागेको छ,’ आङ्देम्बे भन्छन् । दमकले कवि कृष्णभूषण बललाई सम्मान गर्नेमा उनी ढुक्क छन् ।नयाँ पत्रिका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah