चाडपर्व र बिशेषगरि दशै नजिक आएसंगै झापामा खसिबाख्राको भाउ बढेको छ । बर्षादले पुर्याएको क्षतिका कारण गाँउघरबाट खसिबाख्रा कम आएपछि खसिबाख्राको मूल्य आकाशिएको बताईएको छ ।
दमकको पशुबजारमा खसिबाख्राको किनबेचमा संलग्नहरुको अनुसार एकमहिना अगाडि भन्दा अहिले २५ देखि ३० प्रतिशत महगोमा खसिबोकाको कारोबार भएको छ ।
खसिबोकाको ब्यापार गर्दै आउनु भएका सुकबिर लिम्बुका अनुसार गाँउघरबाट र पहाडबाट समेत बिगत बर्षहरुमाभन्दा कम खसिबाख्रा आएकाछन् ।
दशैका लागि खसिबाख्राको किनबेच शुरु भएकाले मूल्य बढेको उहाँले बताउनु भयो । दशैको मुखमा झन महगो हुने भएकाले उपभोक्ताहरुले अहिले देखि नै आफूलाइ आवश्यक पनि खसिको जोह गर्ने गरेको बताइन्छ ।
दमकको पशुबजारमा झापा जिल्लाको अलवा पहाडि जिल्लाहरुबाट समेत दशैमा ठूलो परिमाणमा खसिबाख्रा बिक्रिका लागि ल्याइने गरेको पाइन्छ ।
इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा देखि लिएर तेह्थुमबाट समेत यहाँ खसिबाख्रा बिक्रिका लागि आउने गरेको ब्यवसायिहरु बताउछन् । प्रत्येक बुधबार लाग्ने दमकको पशुहाटमा बिक्रि नभएका खसिबाख्राहरु झापाका अन्य पशुहाटमा लैजाने गरिन्छ ।
झापामा दमक बाहेक पनि दामुना, धुलावारी, सुरुगा लगायतका क्षेत्रहरुमा पशुबजार लाग्ने गरेको छ । सबै बजारहरुमा अहिले सबैभन्दा बढि खसिबाख्राको बिक्रि बितरण हुन थालेको छ ।
नेपालबाट खसिबाख्रा किनेर ब्यापारीहरुले भारतसमेत लैजाने गरेको बताइएको छ । एक ब्यापारीका अनुसार गाइगोरु किन्न आएका भारतीय ब्यापारीहरुले खसिबाख्रा पनि किनेर लैजाने गरेकाछन् ।
खसिबाख्रा खोज्दै घरघरमा
यसैगरि बजारमा पर्याप्तमात्रामा खसिबाख्रा नपाएपछि र बजारमा बिक्रिका लागि ल्याइएका खसिबाख्रा केहि महगो हुने भएपछि ब्यापारीहरु खसिबाख्रा किन्नका लागि घरघरमा पुग्ने गरेकाछन् । यस्ता घरघरमा पुग्नेहरु बिचौलिया रहने गरेकाछन् । उनिहरुले गाँउघरबाट खसिबाख्रा खोजेर ल्याएर ब्यापारीहरुलाइ उपलब्ध गराउने गर्छन् ।
खसिबाख्राको कारोबार गर्दै आउनु भएका प्रशान्त कट्वालका अनुसार ब्यवसायिक रुपमा बाख्रा पालन खासै नभएकाले घरघरमा गएर १÷२ वटा गर्दै खसिबाख्रा बटुलेर ल्याउने गरिएको छ ।
बिरामी खसिबाख्रा पनि बिक्रि हुदै
लगातरको बर्षा र बिभिन्न खोलाहरुमा आएका बाढीका कारण पशु चौपायाहरु पनि बिरामी भएकाछन् । सर्वसाधरणले आफूले दशैका लागि भनेर पालेको र दशैमा दाम आउछ र बिक्रि गर्ने भनेर राखिएका खसिबाख्राहरु बिराम भएपछि केहि कम मूल्य लिएर भएपनि उनिहरुले बिक्रि गर्न थालेकाछन् ।
खसिबाख्रा किनबेच गर्दा स्वास्थ्य परिक्षण गर्ने ब्यवस्था झापामा कहि पनि रहेको छैन । बिरामी खसिबाख्राको मासु प्रयोग सकेसम्म गर्नु हुदैन । यसले रोग निम्तने खतरा हुन्छ । अहिले पशुचौपाया तथा खसिबाख्राहरुमा पनि बिभिन्न रोगहरु देखिएको पशु चिकित्सकहरु बताउछन् ।



