काठमाडौं । प्रदेश नम्बर २ का १३६ स्थानीय तहको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।
देशभरका ७५३ स्थानीय तहमध्ये बाँकी तहमा निर्वाचन सम्पन्न भैसकेको छ । असोज २ गते हुने निर्वाचनका लागि १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा असोज २ गते निर्वाचन हुँदैछ । ती सबै तहबाट ६ हजार ६ सय २७ जना प्रतिनिधि चयन हुनेछन् ।
निर्वाचनका लागि २ हजार १६६ मतदानस्थल , ३ हजार ५७८ मतदान केन्द्र रहनेछन् भने निर्वाचनमा ३१ हजार ५ सय कर्मचारी खटिएका छन् ।
यसैबीच तेस्रो चरणको यस निर्वाचनमा पनि कांग्रेस र माओवादीबीच तालमेल हुने भएको छ ।
आज मनोनयन गर्नुअघि नै केही तहमा तालमेलको निर्णय हुनेछ । राति अबेरसम्म पनि बैठक जारी रहेको र अहिले बिहान अन्तिम कसरत गरेर टुंगो लगाइने भएको छ ।
माओवादी र कांग्रेसबीच धनुषाको मिथिला र बाराको निजगढ नगरपालिकामा कांग्रेसको प्रमुख र माओवादी केन्द्रको उपप्रमुख, त्यसैगरी सर्लाहीको लालबन्दीमा माओवादी प्रमुख र कांग्रेसको उपप्रमुख हुनेछन् । त्यसबाहेक गोलबजार, हरिऔन, मिर्चैया, कर्जन्नाहलगायतका नगरपालिकामा पनि तालमेलको प्रयास भैरहेको छ ।
कांग्रेसले रौतहटका केही तहमा राजपा, नेपाल लोकतान्त्रिक पार्टी र संघीय समाजवादीसँग पनि तालमेलको प्रयास गरेको छ ।
यसैबीच नेकपा एमाले भने एक्लै चुनाव लड्ने भएको छ । केही तहको आन्तरिक कारणले टुंगो लाग्न नसकेको जानकारी दिँदै एमालेले अहिलेसम्म कसैसँग पनि तालमेल नभएको बताए ।
मंगलबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराईले कसैसँग तालमेल नगर्ने बताए ।




