काठमाडौं, २३ भदौ— चर्चित रियालिटी शो नेपाल आइडलबाट सागर आले बाहिरिएका छन् । चार प्रतियोगी मध्ये सबैभन्दा कम भोट पाएको आधारमा आले बाहिरिएका हुन् ।
अनलाइन खबरका अनुसार आलेले ८ लाख ९ हजार ९ सय १५ भोट पाए । उनले अनलाइनबाट ३ लाख ९० हजार ४० मत पाए भने एसएमएसबाट ४ लाख १९ हजार ८ सय ७५ मत पाएका हुन् ।
यसैगरी बुद्ध लामाले सार्वाधिक मत पाएका छन् । उनले ११ लाख ४५ हजार ५३८ मत पाए । बुद्धले एसएमएस बाट ६ लाख ९१ हजार ५७ मत र अनलाइनबाट ४ लाख ५४ हजार ४ सय ८१ मत पाएका हुन् ।
यस्तै प्रताप दासले ८ लाख ९३ हजार ३ सय ४७ मत पाए । उनले एसएमएसबाट ७ लाख १४ हजार ९ सय ९९ मत र अनलाइनबाट १ लाख ७८ हजार ३ सय ४८ मत पाएका छन् ।
अर्का प्रतिस्पर्धी निशान भटराईले ८ लाख ७१ हजार ४ सय ८० मत पाउँदा अनलाइनबाट ३ लाख ७१ हजार १४९ मत र एसएमएसबाट ५ लाख ३ सय ३१ मत पाए ।
शुक्रबार आयोजकले अदालतमा यो विवरण बुझाएको थियो । भदौ १६ गते रातीदेखि १७ गते अपरान्ह १२ बजेसम्म आइडलका यी चार प्रतियोगिलाई नेपालभित्रबाट एसएमएस र नेपालबाहिरबाट अनलाइनबाट भोट आएको थियो । उक्त भोट गत शुक्रबार सार्वजनिक नगरी पुनः अर्को साताको लागि पनि आह्वान भएपछि अदालतमा मुद्दा परेको थियो र सोहि कारण हिजो कुनै भोट आह्वान नगरी गत साताकै मत परिणामअनुसार थप थ्रीको छनोट गरिएको हो ।
मतपरिणामअनुसार बुद्ध लामा प्रथम, प्रताप दास दोस्रो र निशान भट्टराई तेस्रो हुँदै आइडलको टप थ्रीमा पुगेका हुन् ।



