गत साता काठमाडौंमा बरामद भएको भन्सार छलीको ८८ किलो सुनबारे अनुसन्धान गर्न सरकारले छानबिन समिति गठन गरेको छ । भन्सार विभागका उपमहानिर्देशक कुलराज ज्ञवालीको संयोजकत्वमा छानबिन टोली गठन गरिएको हो ।
रसुवा भन्सार हुँदै प्रहरीका डेढ दर्जन चेकपोष्टमा सजिलै पार भएर काठमाडौं सुन आउँदा पनि सरोकारवाला निकाय मौन थिए । अर्थले घटनाको एक सातापछि छानविन टोली बनाएको हो । अहिलेसम्म ६० किलो सुन खासमा कसको थियो ? खुल्न सकेको छैन् ।
८८ किलो सुन तस्करीबारे छानविन समिति गठन भइसकेको राजस्व सचिव शिशिर ढुंगानाले बताए । ढुंगानाका अनुसार छानविन टोली गठन भइसकेको र समितिको प्रतिवेदन अनुसार कारबाही प्रक्रिया अघि बढ्ने बताए । छानविन टोलीले रसुवा भन्सार लगायतका क्षेत्रमा स्थलगत अनुगमन गरेर छानविन प्रतिवेदन बनाउनेछ ।
रसुवा भन्सारले त्यति ठूलो परिमाणको सुन आउँदा पनि राम्रोसँग जाँच किन गरेन र सुन लिएर आएको गाडी सजिलै कसरी ल्याउन दिइयो यसबारे छानविन गर्न तत्कालै समिति गठन नभएको भन्दै सरकारको आलोचना भएको थियो ।
विगतमा त्रिभुवन विमानस्थल परिसरमा ३३ किलो बरामद हुँदा भोलिपल्टै पाँच सदस्यीय छानविन समिति गठन भएको थियो ।
३३ केजी सुन प्रकरणमा छानविन समितिको अनुसन्धानमा विमानस्थलमा कार्यरत एसएसपी श्याम खत्रीदेखि श्रीनारायण यादव र राज भन्ने राजकुमार ढकाललाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो ।
खत्री उच्च अदालत पाटनको आदेशमा सामान्य तारेखमा रिहा भई प्रहरीलेसमेत निलम्वन फुकुवा गरिसकेको छ । सरकारले यसअघि समिति गठन गरेपनि प्रभावकारी ढंगले काम हुन नसकेको भनि आलोचना गरिन्थ्यो । घटना र विचार अन्लाइन बाट



