नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी नेकपा एमालेमा विलय भएको छ । ७५ जिल्लामा नै संगठन रहेको यो पार्टीका केन्द्रीय तहदेखि स्थानीय तहसम्मका सबै नेता कार्यकर्ता एमालेमा विलय भएका हुन् ।
सोमबार पार्टी मुख्यालय धुम्वाराहीमा आयोजित विशेष समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्षद्वय वामदेव गौतम, भीम रावलले लोकतान्त्रिक पार्टीका अध्यक्षसहित सम्पूर्ण पदाधिकारीलाई टीका लगाएर औपचारिक रुपमा स्वागत गरे । कार्यक्रममा लोकतान्त्रिक पार्टीका तर्फबाट वरिष्ठ नेता एवं पूर्वसचिव धर्मेन्द्र खतिवडाले मन्तव्य राखेका थिए ।
पूर्व राष्ट्रसेवक पार्टीमा १३ जना संस्थापक सदस्य, ८ जना संरक्षक, बरिष्ठ नेता, बरिष्ठ सल्लाहकार र प्रवक्ता रहेका थिए । यो पार्टीको ७५ जिल्लामा नै संगठन रहेको र स्थानिय तहको चुनावमा भाग लिएको पार्टी समेत हो ।
पार्टी प्रवेश गर्नेहरुमा पूर्व एसएसपी बसन्तराज कुँवर, पार्टीका अध्यक्ष चुडादेव सिंह लामा, पूर्व डीएसपी, प्रवक्ता विनोद सिंह, पूर्व डिआईजी, सल्लाहकार पूर्व मन्त्रालय सचिव धरणीधर खतिवडा, शसस्त्र प्रहरीका पूर्व एआईजी जीवन थापा, अनुसन्धान विभागका डिआईजी नबराज थापा, नेपाल आर्मीका पूर्व जर्नेल जीवन कार्की, महासेनानी बिनोद अधिकारी, क्याप्टेन विश्व विक्रम कुँबर समेत रहेका छन् ।
देशविरोधी शक्तिको प्रतिवाद गर्न ओलीको निर्देशन
कार्यक्रममा अध्यक्ष ओलीले देशमाथि संगठित रुपमा आक्रमण भइरहेको कारण सवै मिलेर संगठित रुपमै सामना गर्न निर्देशन दिए । नेपालको राष्ट्रियतामाथि संगठित रुपमा नै आक्रमण भइरहेको बताउँदै उनले जुनसुकै पार्टी वा दलमा भएपनि संगठित रुपमा आक्रमणको खुलेर प्रतिवाद गर्न अपिल गरे ।
‘विभिन्न प्रक्रियाबाट आएपनि राष्ट्रिय हित, एकता, राष्ट्रिय गरिमा, पारदर्शी स्वच्छ पद्धती, समृद्ध नेपाल कसरी बनाउन सकिन्छ, त्यसमा सबै संगठित हौऔं,’ ओलीले भने, ‘देशमाथि संगठित रुपमा आक्रमण भइरहेको छ, जुनसुकै दलका वा जुनसुकै दलमा भएपनि त्यो कामको संगठित रुपमै प्रतिवाद गरौं, सामना गरौं ।’



