डिआइजी नवराज सिलवालले आफुमाथि अन्याय भएको भन्दै दायर गरेको रिट निवेदनलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नेतृत्वको बृहत पूर्ण इजलासले सिलवालको माग दाबी पूरा नहुने भन्दै रिट खारेज गरेको हो ।

केही महिनाअघि डिआइजी सिलवालले बरियतामा आफु नै पहिलो स्थानमा रहेको र कार्यसम्पादन मूल्यांकनमा पनि आफुनै अघि रहेको भन्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । उनले सो रिटमा आफुभन्दा जुनियर लेबलका प्रकाश अर्याललाई आइजीपी बनाइएको आरोप लगाएका थिए ।
अदालतले अर्यालको कार्य सम्पादन मूल्यांकन अंक १५४ दशमलव ४ र सिलवालको १५२ दशमलव २ देखिएको भन्दै सिलवालको मागदावी पूरा नहुने ठहर गरेको हो । यो फैसलासँगै करीब ६ महिनादेखि आइजीपी नियुक्ति प्रकरणमा चलेको मुद्दा टुंगिएको छ ।
यसैबीच अति गोप्य रहने डीआईजीको कार्यसम्पादन मुल्यांकन कीर्ते गरेर सर्वोच्च अदालतमा बुझाएको आरोप लागेका डीआईजी नवराज सिलवालमाथि प्रहरीले आन्तरिक रुपमा छानविन गर्ने भएको छ ।
उनले आफू आईजीपी हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा दर्ता गरेको रिट मंगलबार मात्रै खारेज भएको छ । तर उनीविरुद्द कीर्तेको आरोप सम्बन्धी विषय टुंगो नलागेको भन्दै छानविन समितिले प्रक्रिया अघि बढाउने तयारी गरेको हो ।
अति गोप्य कागजात कीर्ते गरेर सर्वोच्चमा बुझाएको आरोप लागेपछि सरकारले एआईजी विजय कुमार भट्टको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।
सर्वोच्चले रिट खारेज गरिदिएपछि समितिलाई कारवाही अघि बढाउन बाटो खुला भएको छानविन समिति स्रोतले जानकारी दियो । तर सर्वोच्च अदालतले सोही बेला मुद्दाको किनारा नलागेसम्म अनुसन्धान नगर्नू भन्ने आदेश दिएपछि समितिले काम रोकेको थियो ।
ad
समितिले प्रहरी प्रधान कार्यालयमा बयानका लागि बोलाएपछि डीआईजी सिलवाल बयान दिन नगई सर्वोच्च पुगेका थिए । प्रहरी प्रधान कार्यालय उच्च स्रोतकाअनुसार समितिले तयार पारेको प्रतिवेदनसहित कारवाही अघि बढाउन सिफारिस गर्ने तयारी भएको छ ।
सरकारले डीआईजी जय बहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाएपछि सिलवाल वरियताक्रममा आफू नै अघि भएको दाबी गर्दै सर्वोच्च पुगेका थिए ।
सर्वोच्चको आदेशपछि सरकारले अर्का डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाएपछि पनि सिलवालले सोही दाबी गर्दै अदालतमा बुझाएको कार्यसम्पादन मुल्यांकन कीर्ते गरेको आरोप छ ।
तीन आर्थिक वर्षको कार्यसम्पादन मुल्यांकन हेरेर बढी नम्बर ल्याएका अर्याललाई आईजीपी बनाएपछि सिलवाल दोस्रो पटक अदालत पुगेका थिए । उनीमाथि कीर्ते गरेको आरोप लागेपछि समितिले छानविनका लागि बोलाएको थियो ।
उनले अदालतमा त्यही विषयमा नै मुद्दा विचाराधीन रहेको भन्दै बयान दिन अस्वीकार गरेका थिए । तर पछि समितिले उनीसँग बयान लिइसकेको छ । विधि विज्ञान प्रयोगशालाबाट आएको रिपोर्टका आधारमा छानविन समितिले प्रतिवेदन तयार पारेको स्रोतको दाबी छ ।




