बिष्णुप्रसाद पोखरेल
दमक/दमक नगरपालिकाले सरकारको नीति अनुसार एक शहर एक चिनारी कार्यक्रमका लागि दमकलाइ हरित नगर बनाउने योजना छनौट गरेको छ ।
नगरको बिशेष चिनारीको रुपमा हरित नगरलाइ अगाडि बढाउने केहि दिन अघि बसेको बोर्ड बैठकले गरेको हो । सर्वसम्मत रुपमा बोर्ड बैठकबाट यो निर्णय भएको बताईएको छ ।

नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार अब दमक नगरपालिकालाइ हरित नगरको रुपमा बिकास गर्न बिशेष योजना नै ल्याइने छ । यस अन्र्तगत तीनवटा कुरालाइ मुख्य रुपमा जोड दिइने समेत ओलीले बताएकाछन् ।
हरित नगरको प्रमुख अङ्गको रुपमा सिमसार, गृनबेल्ट र वन रहनेछन् । भएका सिमसारहरुलाइ ब्यवस्थित गर्ने, गृन बेल्ट निर्माण गर्ने र वन बिकास गर्ने कार्यक्रमहरु यस अन्र्तगत रहनेछन ।
नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका अनुसार सरकारले नै एक शहर एक चिनारी भन्ने कार्यक्रम ल्याएको र यसको छनौट अधिकारी स्थानीय तहलाइ दिएकाले आफूहरुले यो योजना छनौट गरेको हो ।
अब नगरबासीको साथ र सहयोगबाट यो योजना अघि बढ्ने र सफल हुने बिश्वास लिइएको अधिकारीको भनाइ रहेको छ । यसले वातवरण र स्वास्थ्यमा सुधार आउने पनि बताइन्छ ।




