काठमाडौं : स्थानीय तहको तेस्रो चरण अन्तर्गत प्रदेश नम्बर २ मा मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान साँझ ५ बजेसम्म हुनेछ । प्रदेश २ का आठ जिल्लाको १३६ वटै स्थानीय तहमा उल्लासमय उपस्थिति देखिएको छ । मतदाताहरु बिहानैदेखि मतदानका लागि लाममा लागेको छन् ।
प्रदेश न. २ राजनीतिक विवाद साम्य नभएका कारण तेस्राे चरणामा गरिएको हो । यसअघि वैशाख ३१ र असार १४ दुई चरणमा गरी ६ वटा प्रदेशमा चुनाव भइसकेको छ । आयोगले मतदाता परिचयपत्र प्राप्त गर्न नसकेकाहरूले पनि नागरिकतालगायत परिचयपत्रका आधारमा मतदान गर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ । ‘नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउनेछ । ।
प्रदेश २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् । सोमबारको निर्वाचनबाट यी तहमा ६ हजार ६ सय २७ जना प्रतिनिधि निर्वा्चित हुनेछन् । यो चुनावमा ३७ हजार २ सय ३६ उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये महिला १४ हजार ३ सय ३७ (३९ प्रतिशत) र पुरुष २२ हजार ८६१ (६१ प्रतिशत) छन् । ८ जना उम्मेदवार निर्विरोध निर्वा्चित भइसकेका छन् ।
नगरप्रमुख तथा गाउँपालिका अध्यक्षमा पुरुष १ हजार ७ सय ९ र महिला ६१ जनाको मात्रै उम्मेदवारी छ । नगर उपप्रमुख वा उपाध्यक्षमा भने पुरुषभन्दा महिला उम्मेदवारको संख्या बढी छ । नगर उपप्रमुख र उपाध्यक्षमा १ सय ९७ जना पुरुष र ९ सय १९ जना महिला उम्मेदवार छन् । वडाध्यक्षमा पुरुष ८ हजार ५२ र महिला २ सय २३ जना उम्मेदवार छन् । निर्वाचन गराउन २ हजार १ सय ६६ मतदानस्थल र ३ हजार ५ सय ७८ मतदान केन्द्र तोकिएका छन् । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५ सय कर्मचारी परिचालित छन् ।



