शुक्रबार कास्की प्रहरीले ठूलाे परिमाणमा सुन पक्राउ गरेकाे हल्ला चल्दै गएपछि स्थानीय पत्रकारले खाेजिनिती गरे तर गुह्य पत्ता लगाउन सकेनन् ।
प्रहरीका उच्चपदस्थहरुले समेत घटनाबारे जानकारी नभएकाे भन्दै पन्छिन थालेपछि शनिबार दिनभर पनि सूचना पहिल्याउने काम भइरह्याे । जसकारण कास्की प्रहरीमाथि एकसाथ विश्वास र शंका उत्पन्न भयाे ।
बारम्बारकाे साेधपुछपछि पत्रकारसँग अवाक् भएकाे कास्की प्रहरीले अाइतबार पत्रकार सम्मेलननै गरेर भन्याे ‘नक्कली सुन देखाइ ठगी गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।’
तनहुँ म्याग्दे गाउँपालिका–२ का ३९ वर्षीय रविराज खनाल र बागलुङ बुर्तिबाङ–२ घर भइ ढोरपाटन–२ सलाङकोट बस्ने ५० वर्षीय छमबहादुर खत्री केसीलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता खड्कबहादुर खत्रीले बताए ।
उनीहरुको साथबाट सुन जस्तो देखिने पहेलो धातु १ किलो ५ सय ग्राम बरामद गरेको उनले बताए । उनीहरुले विभिन्न ठाउँमा नक्कली सुन देखाइ झुक्याएर ठगी गरेको भन्ने सूचनाको आराधमा कास्की प्रहरी र ४ नम्बर प्रदेश प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको टोलीले पोखरा महानगरपालिका–३२ राधाकृष्ण टोलबाट पक्राउ गरेको उनले बताए ।
‘रविराजले नक्कली सुन पोखरा ल्याएर बेच्न खोजेको बेला उनीहरु पक्राउ परेका हुन्,’ उनले भने, ‘त्यो धातु सुन भनेर १६ लाख मूल्यमा बेच्न खोजेको अनुसन्धानमा खुलेको छ ।’ उनीहरुलाई ठगी मुद्दामा जिल्ला अदालबाट म्याद थप गरी अनुसन्धान गरी रहेको डिएसपी खत्रीले बताए । समाधान दैनिकबाट ।



