नेपालको राजनीतिक इतिहासमा आजको दिन एउटा असाधरण र ऐतिहासिक दिन हो । जनताबाट निर्वाचित संविधानसभाले जारी गरेको संविधानले आज दुई बर्ष पुरा गरेको छ । यसलाई हामीले राष्ट्रिय दिवसका रुपमा मनाएका छौं । यस अवसरमा म सबैमा हार्दिक बधाई ज्ञापन गर्न चाहान्छु । संविधान जारी गर्न नदिन थुप्रै प्रयास र षड्यन्त्र भए, त्यसका विपरित हामीले ऐतिहासिक संविधान जारी गर्यौं । यो राष्ट्रिय दिवस, संविधान दिवसका अवसरमा म सबैलाई फेरि पनि बधाई भन्न चाहन्छु । हामी यो संविधान कार्यान्वयन गरिरहेका छौं र गर्छौं ।
अर्को, यो कार्यक्रम दशै लगायतका सामुन्नेमा आएका सबै पर्बको शुभकामना आदान प्रदान कार्यक्रमसमेत भएको हुँदा सबैलाई शुभकामना भन्न चाहान्छु । सबैलाइ सुख मिलोस्, सबैको भलो होस् । सबै सुखी हौं । नेपाल सुशासनतर्फ जाओस् । नेपाल सुशासन भएको, कानुनी शासन भएको लोकतन्त्र भएको देश होस् भन्ने शुभकामना दिन चाहन्छु । नेपालको लोकतन्त्र सुदृढ होस् र जनमैत्री होस् । ‘सर्वे भवन्तु सुखीन, सर्वे सन्तु निरामया’ को कामना गर्दछु । नेपालमा सामाजिक न्याय, समानता र सद्भाव रहोस् । घृणा नहोस् । राष्ट्रिय एकता कायम रहोस् भन्न चाहान्छु । शान्तिका नाममा उपद्रव, हत्या हिंसा नहोस् । नेपाली जनतालाई कसैले हेप्न नसकोस् । नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा कसैले आँखा लगाउन नपाओस् ।
पहिला पहिला आशिर्वाद दिंदा माटो छोए अन्न होस्, ढुंगा छोए हिरा होस् भन्ने आशिर्वाद दिएको मैले सुनेको थिएँ । त्यो मलाई ठीक लाग्थ्यो । मलाई लागेको थियो– पानी छुँदा बिजुली होस् किन नभनेको होला ? मैले पुराना ग्रन्थ हेरेँ, तर त्यो पनि रहेछ । ऋग्बेदको ऋचामा पानी छुँदा आगो र करेन्ट उत्पन्न हुन्छ भन्ने लेखेको रहेछ । ५÷६ हजार बर्ष अघि नै हाम्रा पिता पुर्खाले, हाम्रा ग्रन्थहरुमा यो सबै लेखेको रहेछ । स्रोतमा मात्र होइन, ग्रन्थहरुमा पनि हामी सम्पन्न छौं ।
अव हामीले यो देशलाई सुन्दर बनाउनु छ । सुन्दर देश बनाउने अभियानमा हामी सधैं सफल हुन सकौं । यो संविधान कितावमात्र होइन, हाम्रो बलिदान र त्यागको गाथा हो । त्यसलाई कसैले होच्यायो भने हामी सहन सक्दैनौं । मैले यस्तो जनताको बलिदान र त्यागबाट आएको संविधानका सन्दर्भमा नै संविधान संशोधनको सन्दर्भमा संसदको भूमिकालाई धन्यबाद दिएको हुँ । देश हित विपरितको संविधान संशोधनको प्रस्तावलाई संसदले अस्वीकृत गर्यो । आधारभूत रुपमा यो संसद ठीकै छ तर उपयुक्त सरकारलाई अड्याउन सक्दैन र अनुपयुक्त सरकार बनाउँछ । बनावटका कारण संसद यसमा अभिसप्त छ । हामीले भनेका छौं समयक्रममा कमी कमजोरी भए संविधान संशोधन गर्न सकिन्छ । समयक्रममा तर्कपूर्ण र तथ्यपूर्ण परिमार्जन गर्न सकिन्छ ।
नेपाली जनताको चाहना बमोजिम संविधान संशोधन हुनसक्छ । तर अरुको निर्णयका आधारमा, अरुले भनेका आधारमा संविधान संशोधन हुँदैन, गरिदैन । अहिले हामी संक्रमणकालमा छौं, सक्रमणकालीन व्यवस्थाको कार्यान्वयन गर्ने हो । हिजोसम्म हामीले सबै ठाउँमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेका छौं । अव हामी प्रदेश र संघीय संसदको निर्वाचनमा जाँदैछौं । म गम्भीरतका साथ भन्न चाहन्छु सरकार अहिले पनि प्रदेश र संघीय संसदको निर्वाचन गर्न चाहँदैन भन्ने देखिदैछ, नगर्न षड्यन्त्र गरिरहेको छ । प्रदेश र संघको निर्वाचन नगराउने षड्यन्त्र हुँदैछ । हिजो प्रधानमन्त्रीले बोलाएको बैठकमा जाँदा म छक्क परेँ । यतिबेला आएर एउटै मतपत्र कसरी भयो ? समानुपातिक, संघीय र प्रदेशको एउटै मतपत्र कसरी हुनसक्छ भन्ने उठाइयो । हिजो सहमति गरेको होइन ? अनि आज फेरि मतपत्र एउटै भन्ने ? निर्वाचन गर्न नचाहने मनसायसहित यो मतपत्रको कुरा झिकियो । किनकी अव अरु मतपत्र छाप्न त समय छैन । मैले यो मतपत्रको कुरा नझिक्नुहोस्, कि सिधै निर्वाचन गर्न चाहन्नँ भन्नुहोस् भनेँ । म चेतवानी दिन चाहान्छु निर्वाचन नगराउने षड्यन्त्र सफल हुनेछैन ।
लोकतन्त्रलाई सहज ढंगले अघि बढ्न नदिने प्रयास हो यो । म लोकतन्त्रलाई अवरोध नगर्न चेतावनी दिन चाहान्छु । यदि संविधान कार्यान्वयनमा, लोकतन्त्रलाई सुदृढ बनाउने कुरामा व्यवहारमा गडबड भयो भने, तलमाथि भयो भन, एमालेले के गरेर देखाउँछ भन्ने चेतावनी पनि दिन चाहन्छु ।
यो खान जन्मेको सरकार हो, काम गर्न जन्मेको होइन । दुई मन्त्री फेरि थप्यो । किन थप्नुपर्यो ? अझै अरु मन्त्री खान तयार छन् । के करणले मन्त्री थप्नुपर्यो ? ५४ लाई के भएर ५६ पार्नुपर्यो ? केही नबोल्ने हो, नभन्ने हो भने त अपराधिक संगठनका सबैलाई यो गठबन्धनले मन्त्री बनाउँछ । तर चुनावको मुखमा एमालेले यस्ता गतिबिधिलाई सहन गरेको छ । हामी हेर्नेलाई लाज भएको छ । तर गर्नेलाई लाज छैन । अस्ती एकजनाले मलाई भन्दैथिए– हामी गर्नेलाई लाज छैन, तपाईंहरु देख्ने किन लाज मान्नुहुन्छ भनेर ।
हिजो मैले ४० जनाको मन्त्रिपरिषद् बनाउँदा एकथरी मिडिया र बुद्धिजीविले टोपी फुकालेर आँशु झारे, कोकोहोलो मच्चाए । अहिले ५६ को पुर्याउँदा के के भन्छन् भनेको त, तिनीहरु कुनातिर पसे, चुप लागेर अर्कातिर फर्किए । एमालेबिरुद्ध आरोप लगाउने, आलोचना गर्ने केही नभएपछि एमालेले भ्रष्टाचारका बारेमा बोलेन भन्दै फेरि तिनै हिंडे । केपी ओलीले आपूर्ति मन्त्रीलाई फोन गरेको जस्ता गलत समाचार लेखाउँदै हिंडे । ती सबै गलत भएपछि एमालेको आलोचना गर्ने केही बिषय पाएनन् । केही बुद्धिजीवि र मिडिया एमालेबिरुद्ध, राष्ट्रिय एकता र समृद्धिका बिरुद्धमा निरन्तर लागेका छन् । ती सबै मिसनमा सञ्चालित छन् ।
एमालेले आयल निगमको जग्गा खरिदबारे बोलेन भन्छन् । जग्गा खरिदमा भ्रष्टाचार भयो कि भएन ? एमाले किन बोलेन ? एमाले प्रष्टसँग बोलेको छ र बोल्छ । एमाले भ्रष्टाचारीलाई कारवाही गर्नुपर्छ भन्ने पार्टी हो । जग्गा खरिदमा एकजना मन्त्री मुख छोपी गएका हुन् कि होइनन् ? सरकारलाई यो थाहा छ कि छैन ? सरकारलाई जानकारी छ कि छैन ? कारवाही भरियालाई गर्यो, भारी बोकाउनेलाई कारवाही किन नगरेको ? भरियालाई पनि कारवाही गरेको होइन, पदबाट हटाएको मात्रै हो । भारी बोकाउनेलाई कारवाही गर्नुपर्छ कि पदैन ? मुख छोपी को गएको छ ? संलग्नता कस कसको छ ? तिनलाई कारवाही हुनुपर्दैन ?
एमाले भ्रष्टाचारको बिरुद्धमा छ, सुशासनको पक्षमा छ । एमालेलाई आरोप लगाउन नपाएपछि नक्कली फेसबुक आइडी बनाएर एमालेमाथि हमला भएको छ । यहाँ प्रश्न एमालेमाथिको आक्रमणको मात्र छैन, लोकतन्त्रको छ । सामाजिक सद्भाव विगार्न, राष्ट्रिय एकता खण्डित गर्ने तत्व क्रियाशील छन् । यसमा हामी होसियार हुनुपर्छ ।
हामीले हाम्रो राष्ट्रिय स्वभिमानमा गर्ब गर्नुपर्छ । नेपाल कहिले पनि उपनिवेश नभएको, पराधीन नभएको र गौरवपूर्ण इतिहास भएको देश हो । त्यसलाई बिगार्न दिनुहुँदैन, हामी दिंदैनौं । एमाले स्वार्थी उद्धेश्यका साथ अघि बढेको छैन, एमालेका स्वार्थी उद्धेश्य छैनन्, एमालेका राष्ट्रिय उदेश्य छन् । तिनलाई पूरा गर्न अघि बढेको छ । यो सरकारले डेढ बर्षअघि नियुक्त भएका ११ जना न्यायाधीशबिरुद्ध मुद्धा हाल्यो । न्यायलयमाथिको सत्ताधारीको हमलालाई एमालेले सहंदैन । एमालेले त्यसको जबाफ दिनु पर्यो भने चर्कोगरी दिनेछ । न्यायलय बिरोधी तत्वले एमाले अण्डरमाइन गर्ने, उपेक्षा गर्ने शक्ति होइन भन्ने थाहा पाइराखे हुन्छ ।
यो सरकारले नागरिक उडड्यन प्राधिकरणका प्रमुख सञ्जीव गौतमलाई स्पष्टीकरण सोधेको सुनेँ । स्पष्टिकरणको व्योहोरामा पोखरामा एयरपोर्ट बनाउने बुँदा रहेछ । किन पोखरामा एयरपोर्ट बनाउनु पर्यो ? त्यहाँ एयरपोर्ट बनाउनु हुँदैन, किन बनाउन पर्यो ? भन्दै स्पष्टिकरण सोधिएको रहेछ । म यो अपराधी र भ्रष्ट गठबन्धनलाई भन्न चाहान्छु– सावधानीपूर्वक अघि बढ्ने अवस्थामा फर्क, नत्र एमालेले जबाफ दिनेछ । राणा, राजशाही, कांग्रेसका तानाशाही र ज्यादतीबिरुद्ध लडेको एमाले यस्ता अपराधिक गठबन्धन बिरुद्ध लड्न सक्छ ।
म नेपाली कांग्रेसलाई भन्न चाहन्छु कांग्रेसले मुखमा राम राम बगलीमा छुरा बन्द गरोस् । नत्र त्यसको मुल्य कांग्रेसलाई चर्को पर्छ । त्यो कांग्रेसले फिल्डमा देख्नेछ । निर्वाचनको तीन दिनअघि ६० जना सिडिओ फेरियो । अहिले किन फेरियो ? प्रधानन्यायाधीशबिरुद्ध महाअभियोग किन ल्याइयो ? राज्यका सबै अंगलाई कार्यकारीको मातहत ल्याउने, राज्यका अंगलाई कार्यकारीको बशिभुतमा राख्ने काम कुनै हालतमा एमालेलाई मान्य छैन । ११ जना न्यायाधीशमाथि मुद्दा दर्ता भयो । कसरी गरियो ? भोलि अरु न्यायाधीशमाथि यस्तै मुद्दा कसैले हाल्यो भने दर्ता हुन्छ कि हुन्न ? त्यस्ता सबैखाले षड्यन्त्रलाई एमालेले पराजित गर्छ भन्न म चाहान्छु ।
यो सरकारले भ्रष्टाचारको सिमा पार गर्यो । भ्रष्टाचार खुलेआम भयो । भ्रष्टाचार नियन्त्रण गरोस् भन्न चाहन्छु । संविधान जारी भएको ठीक दुई बर्ष पुरा भयो । यसको कार्यान्वयन गरिन्छ । कार्यान्वयन नगर्नेलाई दशा लाग्छ ।
अव ७ वटै प्रदेशमा एमालेको बहुमतको सरकार बन्छ । केन्द्रमा पनि एमालेको बहुमतको सरकार बन्छ । त्यसपछि मुलुक बिकास र समृद्धिको बाटोमा अघि बढ्छ । एमाले देशको समृद्धि र विकास, एकता, स्वतन्त्र र राष्ट्रिय सार्बभौमिकताको रक्षा गर्ने पार्टी हो । अपराधिक र मुलुक खान पल्केकाहरु अव समाप्त हुन्छन् । त्यसमा लाग्न म तपाईहरुलाई आग्रह गर्न चाहान्छु ।
(इन्द्र भण्डारीको अध्यक्षतामा एमाले सम्पर्क मञ्च प्रदेश न. १ संविधान दिवस र दशैं शुभकामना कार्यक्रममा ओलीले गरेको सम्बोधनको अंश)



