बरिष्ठता र कार्यकुशलताका आधारमा अब्बल हुँदाहुँदै पनि सरकारको कोपभाजनमा परी प्रहरी महानिरीक्षक बढुवा हुन नसकेका नवराज सिलवालले डीआइजी पदबाट दिएको राजीनामा ११ दिन बितिसक्दा पनि स्वीकृत भएको छैन ।
गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीले उनको राजीनामा स्वीकृत नगरी घर्रामा थन्क्याएर राखेका छन् । सिलवालले गृहमन्त्री जनार्दन शर्मासमक्ष राजीनामा स्वीकृति नभएकोबारेमा ध्यानाकर्षण गराइसकेका छन् । तर मन्त्री शर्माले सचिव रेग्मीले किन नगरेका हुन् भन्दै आएका छन् ।
सिलवालले ११ दिनअघि २०७४ भदौ २७ गते राजीनामा दिएका थिए । उनलाई आइजीपी बढुवा गर्न सर्वोच्च अदालतले विगतमा आदेश दिएको थियो । तर भदौ २७ गते सर्वोच्च अदालतले विगतको फैसलाको ठीक विपरीत उनको रिट नै खारेज गरेपछि उनले राजीनामा दिएका थिए ।
सिलवालले राजीनामामा अन्यायमा पर्दा कस्तो पीडा हुँदोरहेछ भन्ने आफूले अनुभूति गरेको भन्दै उनले अन्यायमा परेकाहरुको सशक्त आवाज बन्ने कोसिस गर्ने उल्लेख गरेका थिए ।
सिलवालको राजीनामा स्वीकृत गरी उनलाई नागरिक जीवनमा फर्किन समेत सरकारले रोकेको छ । राजीनामा स्वीकृत भएपछि सरकारको अन्यायका विरुद्ध सिलवालले सार्वजनिक अभिब्यक्ति दिने भयका कारण गृहसचिव रेग्मीले उनको राजीनामा स्वीकृत नगरेको अर्थ पनि कतिपयले लगाउन थालेका छन् ।



