सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा ढुंगे पहिरो जाँदा ट्रक र कार पुरिएको छ।
माथिबाट खसेको पहिरोले पाल्पाबाट बुटवल जाँदै गरेको ना ३ ख ६१९२ नम्बरको ट्रक र लु १च ७९९४ नम्बरको मारूती अल्टो कार पहिरोमा पुरिएको हो। सिद्धबाबा मन्दिरबाट ५०० मिटर नजिक दोभानमा माथिबाट खसेको ढुंगे पहिरोमा परी ३ जनाको मृत्यु भएको छ।
कारमा सवार दुई जनाको मृत्यु भएको हो भने मृत्यु हुनेमा अर्का ट्रकका चालक छन्।
मृत्यु हुनेमा ट्रक चालक तिनाउ गाउँपालिका ४ का माधव राना, गुल्मी रूरू गाउँपालिका काउलेका तीलक राम भण्डारी र बलेटक्सार ४ गुल्मिकायमलाल ज्ञवाली छन्। ज्ञवालीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने बाँकी दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
कारमा सवार भण्डारीकी श्रीमती राधिका सामान्य घाइते भएकी छन्। कारमा ३ जना र ट्रकमा १ जना सवार थिए ।
बिहानदेखि सडक अबरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, स्याङजा हुँदै पोखरा जाने र बुटवल फर्कने सवारी रोकिएका छन्।
पहिरो अहिले हटाउने काम जारी रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
हरेक वर्ष सिद्धबाबामा पहिरो जाँदा सो सडक हुँदै आवज जावत गर्ने यात्रुहरुले सास्ती बेर्होनु परेको छ।




