कसैको निम्तोमा नेपाली फिल्म हेर्न गइयो भने दुई कुराको डर हुन्छ। पहिलो डर, फिल्मको नाममा दुई–अढाई घन्टा यातना झेल्नुपर्ने र अर्को डर, हलबाट बाहिरिएपछि सम्बन्धित निर्माता निर्देशकलाई ‘फिल्म राम्रै छ’ भनेर ढाँट्नुपर्ने। त्यसैले त्यस्तो निम्तो स्विकार्ने कि नस्विकार्ने? धेरै सोचविचार गर्नुपर्ने हुन्छ।

तर, काठमाडौं र प्रमुख सहरहरुमा शुक्रबार रिलिज हुने फिल्म ‘जात्रा’ हेर्नलाई भने यस्तो सोचविचारको खाँचो पर्दैन। मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका टेलिसिरियलहरुमा सहायक निर्देशन गर्दै आएका प्रदीप भट्टराईको पहिलो निर्देशकीय प्रस्तुति ‘जात्रा’ एक कमेडी फिल्म हो। निकै गम्भीर विषयलाई हास्यात्मक शैलीमा पस्किएकोले यसलाई ‘ब्ल्याक कमेडी’ मान्न सकिन्छ।

फिल्मः जात्रा

रेटिङः पाँचमा साढे तीन तारा

निर्देशक/लेखकः प्रदीप भट्टराई

निर्माताः रवीन्द्रसिंह बानियाँ, सिंगे लामा र यादव पौडेल

कलाकारः विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरे, कमलमणि नेपाल, प्रवीण खतिवडा, भोलाराज सापकोटा, प्रेक्षा बज्राचार्य, सजन थापा, प्रियंका झा, निलकाजी शाक्य आदि।

पछिल्लो समय कमेडी फिल्महरुले बक्स अफिसमा तहल्का मच्चाउँदै आएका छन्। राम्रो कमेडी बनाउन सकियो भने दर्शकको साथ पाइन्छ भन्ने प्रमाण हो यो। तर दर्शकलाई हँसाउन दोहोरो अर्थलाग्ने संवाद र ‘एडल्ट जोक’को सहारा लिने प्रवृत्ति नेपाली फिल्ममा मौलाएको छ। ‘जात्रा’ यो निन्दनीय प्रवृत्तिबाट मुक्त मात्र छैन, त्यस्तो प्रवृत्तिलाई हुर्काएर ‘ठूला कुरा’ गर्ने फिल्मकर्मीलाई गतिलो झापड दिनसमेत सफल भएको छ।

कमेडीको खुराक आफैंमा मज्जा त हुन्छ नै। अझ त्यसमा व्यंग्य मिसियो भने त्यो ‘डबल मज्जा’ हुन जान्छ। ‘जात्रा’ यस्तै डबल मज्जाले भरिभराउ छ। यसले गाला दुख्ने गरी हँसाउने मात्र होइन बेलाबेला दिमागमा समेत झट्का दिइरहन्छ। मान्छेको खोक्रो आदर्शप्रति फिल्ममा पटकपटक व्यंग्य गरिएको छ।

धन देखेपछि महादेवकै तीन नेत्र हुन्छ भने बिचरा एउटा गरिब मान्छेको हालत के होला? फणिन्द्र (विपिन कार्की) त्यस्तै एक गरिब पात्र हो। ऊ बिहान पत्रिका बाँड्छ र दिउँसो स्टेसनरी दोकानमा कापीकिताब बेच्छ। ‘काठमाडौंमा घर र १०–२० लाख रुपैयाँ नहुने त मलाई मान्छे नै लाग्दैन’ भनेर पैसा कमाउन दबाब दिइरहने ससुरा (प्रकाश घिमिरे)देखि आतंकित उसले एक बिहान बेवारिसे अवस्थामा तीन करोड रुपैयाँ फेला पार्छ।

त्यो पैसा देख्नेबित्तिकै सुरुमा त ऊ बेहोस भएर ढल्छ। ब्युँतिएपछि ठूलो धर्मसंकटमा पर्छ। इमानदारी र स्वाभिमानका कारण नै ऊ सुन्दर पत्नी (वर्षा राउत)को प्यारो बनेको हुन्छ। त्यो अकुत धनराशिलाई कसरी व्यवस्थित गर्ने भन्ने सोच्दासोच्दै ऊ अव्यवस्थित हुनपुग्छ। र, स्थितिलाई सम्हाल्न मद्दत गर्छु भन्दै फेन्सी पसले जयस (रवीन्द्रसिंह बानियाँ) र सैलुनवाला मुन्ना (रवीन्द्र झा)ले फणिन्द्रसँग हातेमालो गर्छन्। तर न त स्थिति सम्हालिन्छ न त उनीहरु स्वयं नै। उनीहरुको जिन्दगी एउटा जात्रा भइदिन्छ।

स्कुल–कलेजको परीक्षा वर्षको एकपटक दिए पुग्छ तर नैतिकताको परीक्षा मान्छेले पाइला–पाइलामा दिनुपर्छ। ‘जात्रा’का तीन प्रमुख पात्र पनि नैतिकताको ठूलो परीक्षामा पर्छन्। त्यो परीक्षामा उनीहरु पास हुन्छन् कि फेल? फिल्ममा सस्पेन्स नै राखिएको छ।

धेरैजसो नेपाली फिल्ममा एउटा रोगको प्रकोप पाइन्छ, त्यो हो कथा सुरु नहुने। कलाकारको चहलपहल सुरु हुन्छ, तर फिल्मको कथा फिटिक्कै अघि बढ्दैन। ‘जात्रा’ चाहिँ त्यो प्रकोपबाट उम्किएको छ। यसमा कलाकारको चहलपहल सुरु भएसँगै कथा पनि अघि बढ्छ।

अरु फिल्ममा कथा अघि नबढ्नु र ‘जात्रा’मा चाहिँ बढ्नुको कारण के त? जवाफ सजिलो छ। गाडी इन्जिनले अघि बढेजस्तै फिल्मको कथा ‘कन्फ्िलक्ट’ वा द्वन्द्वले अघि बढ्छ। ‘जात्रा’मा बेजोडको ‘द्वन्द्व’ छ।

यसको प्रमुख पात्र फणिन्द्र तीन तहको द्वन्द्वमा फसेको छ, आन्तरिक द्वन्द्व, बाह्य द्वन्द्व र संस्थागत द्वन्द्व। इमानदार फणिन्द्रलाई तीन करोड पचाउने लोभले आन्तरिक द्वन्द्वमा फसाउँछ, पैसालाई लिएर उसको कहिले पत्नी त कहिले साथीहरुसँग मत बाझिन्छ र बाह्य द्वन्द्व उत्पन्न भएको छ। त्यस्तै समाजसँगको उसको संस्थागत द्वन्द्व चाहिँ धन लुकाएको कुरा पर्दाफास भएर कानुनी कारवाहीमा पर्ला कि भन्ने डरले पैदा गरिरहन्छ।

फिल्मको पटकथा खँदिलो र रचनात्मक छ। कथासँग अनावश्यक दृश्य अर्थात् ‘जलकुम्भी झार’हरुबाट फिल्म ग्रसित छैन। र, ताजाताजा ‘टि्रटमेन्ट’हरुले पटकथाको रचनात्मकता चुलिएको छ। पटकथा स्वयं निर्देशकले नै लेखेका हुन्। त्यसैले निर्देशकलाई दोहोरो श्रेय जान्छ।

संवादहरु चोटिला र वजनदार छन्। एक करोड हात पारेपछि मुन्नाले भन्छ, ‘हामीजस्तो करोडपतिलाई गरिब बनेर हिँड्न गाहै्र होला।’ यो संवाद वास्तवमा ‘करोड’कै छ। यसले दर्शकलाई हँसाउने र ‘हल्लाउने’ दुवै काम गर्छ।

सबै कलाकारको अभिनय तारिफयोग्य छ। आफूले पाएको चरित्रलाई जिउँदोजाग्दो बनाउन उनीहरु सफल छन्। विपिन कार्कीले आफूलाई फेरि एकपटक ‘भर्सटाइल एक्टर’का रुपमा प्रमाणित गरेका छन्। ‘पशुपति प्रसाद’ र ‘कालो पोथी’पछि विपिनले ‘जात्रा’मार्फत आफ्नो करियरमा नयाँ आयाम थपेका छन्।

हँसाउने मामिलामा निर्देशक निपुण देखिए पनि रुवाउने मामिलामा भने अलि कमजोर देखिएका छन्। हँसाउँदा हँसाउँदै दर्शकलाई रुवाउनुपर्छ भन्ने सोच लिएर निर्देशकले जबरजस्ती घरपरिवारको रोनाधोनालाई प्राथमिकता दिएको महसुस हुन्छ। त्यस्तै जयस र किड्नी रोगीवाली युवतीको किस्सा पनि ‘तरकारीवाली’जस्तो नेचुरल लाग्दैन।

फिल्म हेरुन्जेल, यसको कथाले नेपाली राजनीतिमा विद्यमान तीन दलको खिचातानीप्रति व्यंग्य गर्न खोजेको त होइन भन्ने पनि लागिरहन्छ। यसमा अन्तिमसम्म तीन पात्र धनप्राप्तिका लागि एकअर्कासँग हानथाप गरिरहन्छन्। कहिले फणिन्द्र र मुन्ना नजिक हुन्छन्, कहिले मुन्ना र जयस त कहिले फणिन्द्र र जयस। उनीहरुको समीकरण नेपालको राजनीतिको समीकरणजस्तै बदलिरहन्छ।

धनको अभावले दुःख पाएको हो कि भन्दै मान्छेले धनप्राप्तिका लागि संघर्ष गर्छ। तर धन पाएपछि ऊ झन् झन् दुःखको दलदलमा फस्दै जान्छ। फिल्म ‘जात्रा’ले यही दर्शन बोकेको छ।

नेपाली फिल्म आयो भन्दैमा माया गर्नुपर्छ भन्ने जरुरी छैन। नराम्रो फिल्म नहेर्दा पनि हुन्छ। तर, ‘जात्रा’ चाहिँ हेर्नै पर्ने फिल्म हो। यसले नेपाली फिल्ममा इँटा थप्ने काम गरेको छ। यस्तै फिल्म बन्दै गरे नेपाली फिल्मकर्मी वास्तवमै करोडपति हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah