युवराज वीरेन्द्र भर्खर मात्र बेलायतको इटन कलेजबाट पढाइ सकेर फर्किएका थिए । उनी आफ्ना कुरा अंग्रेजी भाषामा बडो सहज ढंगले राख्थे । नेपाली भाषामा कुराकानी गर्नु पर्‍यो भने उनलाई ज्यादै अप्ठ्यारो हुन्थ्यो । यही बुझेर हुुनुपर्छ, राजा महेन्द्रले विशेष जाहेरी विभागमा परेका बिन्तीपत्र सुन्ने क्रममा युवराज वीरेन्द्रलाई पनि सँगै लिएर जान्थे र आडैमा राखेर बिन्तीपत्रको बेहोरा सुन्न लगाउँथे । जाहेरी विभागमा रहेर बिन्तीपत्र राजालाई सुनाउने सिलसिलामा मैले पनि थुप्रैपटक त्यस्ता दृश्य देखेको थिएँ ।

दार्जीलिङको सेन्ट जोसेफ स्कुलमा पढेर बेलायत पुगेका युवराज वीरेन्द्रको अंग्रेजी भाषाप्रतिको पकड बेजोड थियो । तर, नेपाली भाषामा भने उनी सामान्य कुराकानीबाहेक तर्क–वितर्क र बहस गर्न सक्दैनथे । उनी अंग्रेजीमा सोच्थे र अंग्रेजीमै जवाफ दिन्थे । अलिक क्लिष्ट शब्द त उच्चारण गर्न नै समस्या हुन्थ्यो । ‘पूर्ण’ शब्द उच्चारण गर्नुपर्‍यो भने उनी ‘पुर्न’ भन्थे । यस्तो उच्चारणगत समस्या उनमा प्रशस्तै थियो ।

भविष्यका राजाको नेपाली भाषाप्रतिको कमजोर पकड देखेर राजा महेन्द्र धेरै चिन्तित थिए । नेपाली भाषा, साहित्य, रीतितिथि र संस्कृतिसँग युवराज वीरेन्द्रलाई एकाकार र घुलमिल गराउने भनेरै उनले चार विकास क्षेत्रमा यस्ता कार्यक्रमहरू आयोजना गर्न लगाउँथे र युवराजलाई अवलोकनार्थ पठाउँथे । नेपाली कला–संस्कृतिको विकास गर्नुका साथै मठ–मन्दिरको जीर्णोद्धारजस्ता कार्यक्रममा युवराज वीरेन्द्र विशेष ढंगले सरिक हुन्थे र नेपाली कला–संस्कृतिलाई नजिकबाट अवलोकन गर्ने प्रयास गर्थे ।

यहीबीच तत्कालीन परराष्ट्र सचिव प्राध्यापक यदुनाथ खनाल, जसको विद्वताबाट राजा महेन्द्र पूर्णत: जानकार थिए, लाई दरबारमा बोलाएर युवराजलाई नेपाली भाषा सिकाउने काइदाबारे रायसुझाव मागे । खनालले ‘नेपाली र अंग्रेजी भाषाको एउटा पत्रिका निकाल्ने र त्यसको सम्पादनको जिम्मेवारी युवराज वीरेन्द्रलाई सुम्पिने’ सल्लाह दिए । यो प्रस्ताव राजा महेन्द्रलाई जच्यो ।

राजाले पत्रिका निकाल्न आदेश दिए । पत्रिकाको नाम जुर्‍यो, रमझम । युवराज वीरेन्द्र सम्पादक भए । रेणुलाल सिंह र निरविक्रम प्यासी सम्पादक मण्डलका सदस्यमा नियुक्त गरिए । अंग्रेजी र नेपाली भाषामा साहित्यिक समालोचना, लेख, निबन्ध, पुस्तक समीक्षा र कविताहरू समेटेर रमझम प्रकाशित हुन सुरु भयो ।

नेपाली भाषामा लेखिएका प्राय: रचना युवराज वीरेन्द्रलाई एकसरो पढ्न दिइन्थ्यो । उनले पढेपछि सम्पादक मण्डलका सदस्यले थप सम्पादनको जिम्मेवारी पूरा गर्थे । गोरखापत्रमा समसामयिक विषयमा आफ्नै नाममा र राजनीतिक, विदेश सम्बन्ध र दरबारको विषयमा लेख्नुपर्‍यो भने आकाशप्रसादका नाममा लेख/टिप्पणी प्रकाशित गरिरहेको मैले रमझममा भने आफ्नै नाममा साहित्यिक लेख/रचना र समालोचना प्रकाशित गर्न थालेँ ।

राजदरबार संवाद सचिवालयबाट प्रकाशित रमझमको कार्यालय युवराजाधिराजको कार्यकक्षमै स्थापना गरिएको थियो । नेपालका प्रसिद्ध साहित्यकारका रचना यसमा प्रकाशित हुन्थे । प्रा यदुनाथ खनाल, तारानाथ शर्माजस्ता थुप्रैका लेख/रचना त्यसमा प्रकाशित भएका छन् ।

‘कालीदासको दृष्टिमा युवराजको विवाह’ शीर्षकमा युवराज वीरेन्द्रको विवाह प्रसंगमा केन्द्रित रहेर मैले लेखेको सामग्री पनि यो पत्रिकामा प्रकाशित भएको थियो । ज्यादै धेरै चर्चा र प्रशस्त मात्रामा प्रतिक्रिया प्राप्त गरेको मेरो लेख थियो, यो ।

तारानाथ शर्माले राजा महेन्द्रको फेरि उसैका लागि कवितासंग्रहबारे गरेको समीक्षा पनि यस पत्रिकामा प्रकाशित भएको थियो । त्यो समीक्षा ज्यादै चर्चित र विवादास्पद रह्यो । किनभने, त्यसपूर्व उनले राजा महेन्द्रको उसैका लागि पुस्तकका बारेमा विभिन्न पत्रपत्रिकामा समीक्षा प्रकाशित गर्ने क्रममा राजाको कटु आलोचना गर्दै ‘साहित्यिक क्षेत्रमा देखिएको एक कमसल पुस्तक’ भनेर समीक्षा गरेका थिए । तर, रमझमका लागि समीक्षा लेख्दा भने उनले ‘आजसम्मको नेपाली साहित्यिक जगत्मा रचना भएका कविताकृतिमध्ये सशक्त र अब्बल कविताकृति’ भनेर ठोकुवा नै गरेका थिए । दरबारभित्रै पनि यस समीक्षालाई लिएर गरमा–गरम बहस र चर्चा–परिचर्चा भएको थियो ।

युवराज वीरेन्द्रको नेपाली भाषा सुधार गर्ने अभिप्रायले सुरु गरिएको रमझम राजा महेन्द्रको निधन र वीरेन्द्रको गद्दी आरोहणसँगै बन्द हुन पुगेको थियो ।

– ईश्वरी ज्ञवालीद्वारा लिखित रेवतीरमण खनालको स्मरण, नेपाल साप्ताहिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah