सीताराम कट्टेल
हास्य कलाकार
मेरो स्वभाव यहाँहरूलाई थाहै छ– कसैको अगाडि बोल्नु पर्यो भने असिनपसिन हुन्छु । हातगोडा लगलगी काँप्छन् । ओठमुख सुकेर बगरतुल्य हुन्छ । सानैमा पनि यस्तै थिएँ म ।
तर, दसैमा पिङ खेल्ने भने पछि भुतुक्कै हुने । गौरादहको घरमा पनि नाम्लो, दाम्लोको डोरी बनाएर बुबाले पिङ हालिदिएको र त्यसैमा मच्चिएको सम्झना छ ।
ठूलो भएपछि चोक चौतारोमा पिङको लट्ठा खोज्दै हिँड्ने र त्यसैमा घन्टौँ झुन्डिन थाले । बुबा खाना खाने बेला भएपछि बोलाउनुहुन्थ्यो– “पिङ भनेपछि भात खानुसमेत पर्दैन है तँलाई । पिङले नै खान दिन्छ कि के हो ?”
ad
एउटा घटनापश्चात पिङ भनेपछि मलाई ज्वरो छुट्न थाल्यो ।
साल सम्झना छैन । म काठमाडौँ आउँनु भन्दा निकै अगाडिको कुरा हो । गौरादहस्थित घर नजिकै पिङ हालिएको थिएँ । मच्चाउन डर लाग्ने मलाई, त्यसदिन के भएर हो बढी नै मच्चाएछु । माथि नै पुगेँ । फर्केर तल आउँला भनेको जमिनमा बजारिन पो पुगेँ ।
बलौटे, ढुंगायुक्त जमिनमा ढाड बजारिएकाले अतिशय पीडा भयो । उठ्न खोज्छु, हात खुट्टा लाग्दैनन् । रुन खोज्छु, रुन पनि सक्दिनँ । यसो मास्थिर हेर्छु त, तन्नेरी युवतीहरू मुख छोपेर हाँस्दै पो रहेछन् ।
“अहिले उठेर त्यहाँ त आऊँ, तिमीहरूको जगल्टा केलाउँछु,” आमाचकारेर गाली गर्छु, हास्न छाड्दैनन् त १ तिनीहरूको खित्का नरोकिएकाले होला मेरो पिठ्युँ पनि दुख्न कम्ता भएन । हर बंग्याउँदै जसोतसो घर गएँ ।
त्यही बेलादेखि पिङमा मच्चन भनेपछि सातो जान्छ मेरो ।
० ० ०
दसैँ को नाम बदलेर दक्षिणा थाप्ने पर्व लागौँजस्तो मलाई, सानामा । त्यसैले होला म दक्षिण नदिने कहाँ हत्तपत्त टीका थाप्नै जाँदिनथेँ । टीका थापेपछि अरु यसो मुख विटुल्याउन लाग्थे । मलाई चाहिँ पिसाबले च्यापी हाल्थ्यो नि ।
शौचालय पसेपछि काम अर्कै हुन्थ्यो– दक्षिणा कति दिएछन्, हेर्ने ।
भनेजस्तो दक्षिणा दिएका रहेछन् भने दही, दूध, केरा के अगाडि राखिदिएको छ, रुच्थ्यो । पैसामा मन खुम्च्याएका रहेछन् भने मलाई पनि खाने जाँगर चल्दैनथ्यो ।
“धेरैकहाँ खाँदाखाँदा अघाएको छु, पछि आउँदा खाउँला है,” बाटो लागि हाल्थेँ म ।
“सबैकहाँ यसै भन्छन्, तँलाई भोकचाहिँ कसकहाँ गएपछि लाग्छ रु”
“बुबाले दक्षिणा हेरेको चाल पाउनु भए छ कि के हो रु,” झस्याङ् हुन्थेँ म ।
० ० ०
खसी भनेपछि भुतुक्कै हुने । मासु खान सक्नेचाहिँ हो र १ दुई चोक्टा मुखमा परेपछि दसैँभरी मासु खान नपरेझैँ लाग्थ्यो ।
“हामीकहाँ यति किलोको खसी ढाल्यौँ, बजारबाट यति किलो मासु ल्यायौँ,” गाउँका अरु केटाहरूले खसीको झैँ घोक्रो फुलाएको र धक्कु लगाएको सुनेकाले होला सानो खसी भनेपछि मन नै गएन ।
घरमा आएका पाहुना, नरनातालाई देखाउन, सुनाउन, खुवाउनकै लागि भए पनि ठूलै खसी ढाल्नुपर्छ भन्ने लाग्थ्यो मलाई । र त, बुबालाई भन्थेँ, “दसैँमा अरू खानेकुरा होस् या नहोस्, अँगालोभरिको खसीचाहिँ हुनैपर्छ ।”
एउटा दसैँ–
त्यतिबेला म काठमाडौँ आइसकेको थिएँ । दसैँको बेला दसैँ मनाउन घर गएको त बुबाले १४–१५ किलोमात्रै को खसी पो पगाहा लगाउनु भएको छ । मेरो त आँखै गएन ।
“यसपाली यस्तै भो, पुगेन भने बजारबाट ताजा मासु ल्याउँला । ठूलो खसी काट्यो । तिमीहरू मासु खाँदैनौँ ।”
बाबाको अनुहार होइन, मेरो मन खुम्चियो ।
“बजारमा बाट खसी ल्याउने होइन, अब म चारपाँच दिनमा यसलाई २१ किलोको बनाउँछु, हेर्नुहोला ।”
नाक खुम्च्याउनुभयो । पत्याउनु भएन बुबाले ।
त्यहीदिनबाट मैले खसीलाई खोले, पानी, घाँसआदि प्रशस्त खुवाउन थालेँ । काँचो अन्डा र पीठो उत्तिकै दिन्थेँ ।
विडम्बना खसीलाई त भोलिपल्टैबाट छेरपटि पो चल्यो ।
२१ किलो बनाउँछु भनेको अष्टमिको दिन काटकुट पार्दा जम्म १२ किलोको भएछ १
मच्चिएरै हास्नुभयो बुबा
० ० ०
भूकम्पयता परिवारसँग बसेर दसैँ मनाउन पाएको छैन । अघिल्लो सालको दसैँ गिरानचौरमै बित्यो । त्यहीँका पीडित, कामदारसँग टीकाटालो, हाँसखेल गरेर दसैँ मनाएँ । परिवार यता, म उता, एककिसिमको पीडावोध पनि भयो ।
यसपटक भने काठमाडौँमै दसैँ मनाउने निधो गरेको छु । हुन यसपटक पनि हामीले रौतहट, सन्तपुरका बाढीपीडितका लागि एकीकृत नमुना बस्ती बनाउने घोषणासँगै शिलान्यास पनि गरिसकेका छौँ । बस्तीको भग्नावशेष पन्छाउने, टहरा बनाएर पीडितलाई सार्ने काम पनि भइरहेको छ । धुर्मुस सुन्तली फाउन्डेशनका साथीहरू उतै गइसक्नु पनि भएको छ । बस्तीको नक्साङ्कन, लागत इस्टिमेट, स्रोतको जोहो पनि यसबीचमै गर्नुपर्नेछ ।
म लगायत केही साथीहरू पूर्णिमाको भोलिपल्ट जाने तयारी गरेकाले दसैँमा म काठमाडौँमै रहने भएको हुँ ।
दसैँ पारिवारिक जमघटको चाड पनि हो । बाबा, आमा, पत्नी, दुई भाइ, बहिनी, छोरी, सबै एकै ठाउँ भएर दसैँ मनाउँछौँ । खानपिन गर्छौं । खानपिनको ज्यादा शौखिन होइन म । परिवारका सबै सदस्य एकैठाउँमा भेला हुँदा नै पुलकित हुन्छ । हर्षित हुन्छ मन । नखाए पनि मन टन्न हुन्छ ।
दसैँकै बीचमा पनि सन्तपुर एकीकृत बस्तीलाई कसरी सफल बनाउने, पीडितहरूको मुहारमा कसरी खुसी जगाउने भन्ने नै ध्याउन्न हुन्छ । दसैँमा भौतिक शरीरमात्रै यता होला, मन त सन्तपुर नै पुग्छ मेरो ।
जेजस्तो अवस्थामा भए पनि दसैँ आएको छ । हाँसीखुसी मनाउनुपर्छ । दसैँले सबैमा भ्रातृत्व, सहअस्तित्वको भावना जागृत गराओस् । राष्ट्र निर्माणमा सरिक हुन मद्दत पुर्याओस् । राष्ट्र निर्माण, तपाईं–हाम्रो अभियान ।



