विजय ढकाल
नेपाली कम्युनिस्ट आन्दोलनमा फूटको इतिहास लामो छ । ००६ सालमा नेकपाको स्थापना भएपछि नै पार्टी भित्र वैचारिक बहस चर्किंदा पार्टी पनि चर्किन पुग्यो र विभिन्न टुक्रामा विभाजित भयो । मूल रुपले कम्युनिस्ट आन्दोलनको विभाजनमा सशस्त्र संघर्ष कि लोकतान्त्रिक संघर्ष भन्ने विवाद नै प्रमुख रह्यो ।
लोकतान्त्रिक संघर्षको पक्षमा पुष्पलाल, मनमोहन अधिकारी हुँदै मदन भण्डारी र केपी ओली सम्मका नेताहरु उभिन पुग्नुभयो । उहाँहरुको प्रमुख विचार के थियो भने नेपालको बाम आन्दोलन लोकतन्त्रबाट पृथक रहनु हुँदैन र सक्दैन । त्यसैले पुष्पलालले लोकतान्त्रिक संघर्षको बाटो अवलम्बन गर्नुभयो । ०२८ सालमा झापा विद्रोह सुरु हुँदा तत्कालीन झापा जिल्ला कमिटी भित्र सशस्त्र संघर्षको पक्षमा बहुमत पुग्यो । त्यसबेला वर्तमान एमाले अध्यक्ष केपी ओली र मोहनचन्द्र अधिकारी सशस्त्र संघर्षको विपक्षमा उभिनुभयो । उहाँहरुको तर्क पुष्पलालको विचारबाट प्रेरित थियो, जुन लोकतान्त्रिक संघर्षको पक्षमा थियो । यद्यपि पार्टीको बहुमतले निर्णय गरेपछि विद्रोह नै पार्टीको लाइन भयो । छोटो समय सशस्त्र विद्रोह गरेपछि बहुमत पक्षधर नेताहरुलाई पनि त्यसको सीमा थाहा भयो । तत्कालै पार्टीले सशस्त्र विद्रोहको लाइन छोडेर बृहत्तर कम्युनिस्ट एकता गर्ने र लोकतान्त्रिक संघर्षको बाटोमा अघि बढ्ने लाइन लियो । त्यसले अहिलेको एमाले बनायो ।
अर्काेतर्फ दोस्रो विश्वयुद्धपछिका विभिन्न कम्युनिस्ट आन्दोलनबाट प्रेरित भएर सशस्त्र क्रान्तिबाटै नयाँ जनवादी ब्यवस्था स्थापना गर्नुपर्छ भन्ने विचार बोक्ने कम्युनिस्ट पार्टीहरु जन्मिए । नेकपाको चौथो महाधिवेशनसँगै सशस्त्र युद्धको बाटो उपयुक्त भन्ठान्ने विभिन्न साना कम्युनिस्ट समुहहरु अस्तित्वमा आए । नेकपा मसालका दुवै समुह र रुपलाल विश्वकर्मा नेतृत्वको सर्वहारावादी श्रमिक संगठन बीच एकता भएर नेकपा एकताकेन्द्र बन्यो । यसले सशस्त्र संघर्षलाई आन्दोलनको प्रमुख बाटो रोज्यो । अन्य साना कम्युनिस्ट बीचमा पनि एकता भएर नेकपा माओवादी जन्मिएपछि ०५२ सालमा उसले सशस्त्र संघर्षको बाटो रोजेको हो । अहिलेको माओवादी केन्द्र त्यसैको विकासक्रम मार्फत बनेको हो ।
नेपाली कम्युनिस्ट आन्दोलनमा एकता प्रक्रियाको प्रमुख अभ्यास पनि यी दुई विचार बोक्ने पार्टीहरुबीच भएको छ । ०४७ सालमा नेकपा माले र नेकपा माक्र्सवादी बीचको एकता लोकतान्त्रिक संघर्षको विचार बोक्ने कम्युनिस्ट पार्टी बीचको ठूलो एकता हो । मदन भण्डारी जस्तो युवा, वैचारिक र तेजतरार नेताले मनमोहन अधिकारीजस्तो परिपक्व र समझदार हस्तीलाई एकता मार्फत नै नयाँ पार्टीको अध्यक्ष बनाउन सक्नु ठूलै क्रान्ति थियो ।
आजको नेपालमा लोकतान्त्रिक र सशस्त्र संघर्ष बीचको द्वन्द्व ब्यवहारिक रुपले नै निरुपण भइसकेको छ । ०४६ सालमा कांग्रेससँग सहकार्य गर्दै तत्कालीन मालेले लोकतान्त्रिक आन्दोलनको अगुवाई गर्यो । त्यसैको प्रतिफल नेपालमा प्रतिस्पर्धात्मक राजनीति, खुला वैचारिक अभ्यास र नागरिक स्वतन्त्रता लगायतका अधिकार स्थापित भए ।
माओवादीले १० वर्ष सशस्त्र क्रान्ति गरे पनि अन्त्यमा उसलाई लोकतन्त्रको बाटो नसमाती सुख्खै भएन । पुष्पलाल, मदन भण्डारी र मनमोहनले नेतृत्व गरेकै बाटोमा आज नेपालका साना ठूला सबै कम्युनिस्ट पार्टी हिंडिरहेका छन् । त्यसैले अव पनि सशस्त्र क्रान्ति गर्दै सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्छु भन्न कुनै कम्युनिस्ट पार्टी आउँछ भने त्यसको नागरिक स्वीकार्यता रहंदैन । त्यसमाथि नेकपा एमालेले नेतृत्व गरेको नेपाली कम्युनिस्ट आन्दोलनको प्रमुख आधारशीला नै लोकतन्त्र, नागरिक अधिकार, मानवअधिकारका विश्वब्यापी घोषणापत्रमा आधारित सिद्धान्तहरु हुन् । प्रतिस्पर्धा मार्फत आफूलाई राजनीतिमा श्रेष्ठ सावित गर्ने र त्यसैबाट शासन सञ्चालन गर्न वैधानिकता हासिल गर्ने बाटो मदन भण्डारीले कोर्नुभएको हो । त्यसैले नेपाली कम्युनिस्ट पार्टीहरुबीच वैचारिक अन्तरविरोधहरु इतिहासले निरुपण गरिसकेको चरणमा आइपुगेको छ ।
नेपालका कम्युनिस्टहरुको स्कूलिङ आधारभूत रुपमा देशभक्तिपूर्ण आन्दोलनबाट उठेको हो । राष्ट्रिय स्वाधीनता, नेपाली सार्वभौमिकताको रक्षा, नेपाली आत्मनिर्भरताको खोजी मार्फत नेपालको विकास सञ्चालन गर्नुपर्छ भन्नु बामपन्थ हो । यसको ठीक विपरित भारतसँग निर्भर रहनुपर्छ, उसको आदेश अनुरुप काम गर्नुपर्छ, नेपालले आफ्नो ब्यापार विविधिकरण गर्न अन्य देशसँग सम्बन्ध राख्नु हुँदैन भन्ने सोच बाम–कम्युनिस्ट इतरको हो । नेपालका साना ठूला सबै कम्युनिस्टहरु अघिल्लो विचारबाट दिक्षीत भए पनि कुनै न कुनै बेला पछिल्लो विचारसँग सम्झौता गर्न पुगेका छन् । कांग्रेसले नेतृत्व गर्ने नेपाली स्वाधीनता विरोधी विचारको लाइनमा कम्युनिस्टहरु उभिनु लज्जाको विषय पनि हो ।
नेपाली राजनीतिमा कम्युनिस्ट पार्टीहरु बीचको ध्रुवीकरणको खवरले तमाम देशभक्त बामपन्थी नागरिकलाई उत्साहको सन्देश दिएको छ । एकताको प्रक्रिया आ–आफ्नो शक्ति पहिचान गर्ने, सीमा बुझ्ने र त्यसैका आधारमा वैचारिक बाटो कोर्ने प्रक्रिया हो । नेकपा एमाले र माओवादी केन्द्रबीच तत्काल राजनीतिक सहकार्यको बाटोबाट पार्टी एकतासम्म जाने समझदारी साँच्चै भएको हो भने यो सुखद मात्र छैन, तमाम देशप्रेमी नागरिकका लागि अत्यावश्यक पनि छ ।
लोकतान्त्रिक आन्दोलनमा ५० वर्ष विताएका र लोकतन्त्रकै निम्ति १४ वर्ष जेलमा विताएर खारिएका केपी शर्मा ओलीको नेतृत्वमा आजको एमाले छ । इतिहासको उतारचढावलाई उहाँले जतिको नजिकबाट हेर्न सक्ने नेता नेकपा एमालेमा मात्र होइन, आजको नेपालमा छैन । अर्काेतर्फ १० वर्षे सशस्त्र आन्दोलन बिसाएर लोकतन्त्रकै बाटोमा लाग्नुपर्छ भन्ने मुल उद्धेश्यका साथ आएका पुष्पकमल दाहालको नेतृत्वमा नेकपा माओवादी केन्द्र छ । गएको १० वर्षे शान्ति प्रक्रियामा दाहालले आफ्नो पार्टी देशकै ठूलो भएको मात्र देख्नु भएन, आफ्नै नेतृत्वमा अनेक टुटफूट पनि ब्यहोर्नु भयो । पछिल्लो समयमा सत्तासँग निकट हुने उहाँको चाहनाले माओवादीको देशभक्तिपूर्ण स्कूलिङमा विचलन आएको पनि देखिएको छ । एमाले र माओवादी बीचको सहकार्य केपी ओलीको अनुभव र पुष्पकमल दाहालको राजनीतिलाई एक ठाउँमा ल्याउने अर्काे मौका हो ।
सहकार्यको प्रक्रियामा जाँदा सानातिना असन्तुष्टिहरु दुवै पार्टी भित्र देखिन्छन्, जुन स्वाभाविक हो । एमाले भित्र माओवादीसँग संघर्षकै बाटो लिएर जानु पर्ने सोच राख्ने पंक्ति उपस्थित छ । माओवादी भित्र पनि एमालेको नामै सुन्न नचाहने केही नेता कार्यकर्ता छन् । सहकार्यमा जाँदा यो पंक्तिलाई सकेसम्म मिलाएर लैजाने र केही लागेन भने बेवास्तासम्म गर्नुपर्ने हुन सक्छ । फूट होइन, एकता मुख्य हो र यो जुनसुकै मुल्यमा प्राप्त गर्नु वाञ्छनीय हुन्छ ।
एमाले र माओवादी बीच संगठन र पार्टीको आकारमा ठूलो भिन्नता छ । आजको एमाले जल्दोबल्दो र उदाउँदो शक्ति हो । मेचीदेखि महाकालीसम्म एमाले कार्यकर्ता भित्र असाधारण उत्साह छ । यस्तो उत्साह कुनै बेला मदन भण्डारीले मात्र पार्टीमा भर्न सक्नुहुन्थ्यो । अर्काेतिर माओवादी केन्द्र आफ्नो अस्तित्व रक्षाका निम्ति संघर्षरत छ । भर्खरै सम्पन्न भएको स्थानीय निर्वाचनले पनि दुई पार्टी बीचको भिन्नता देखाइदिएको छ । देशभरी मत संख्याको हिसावले एमाले ३७ प्रतिशत हो भने माओवादी १४ प्रतिशत हो । निर्वाचित प्रतिनिधिको संख्याले हेर्दा एमाले ४५ प्रतिशत हो भने माओवादी करिव १० प्रतिशत हो ।
सहकार्य र एकता गर्दा यो संख्यात्मक बल दुवै पार्टीका सबै नेताको दिमागमा घुमिरहेको छ । एमालेलाई ३७ र ४५ प्रतिशतको उत्साहले ‘घमण्डी’ बनाउन सक्छ भने माओवादीलाई कांग्रेससँगको गठबन्धन तथा १४ र १० प्रतिशतको लघुताभाषले ‘बार्गेनिङ’ गर्ने ठाउँमा पुर्याउन सक्छ । यस्तो अवस्थामा दुवै दलका नेताले तत्कालको लाभ हानीलाई किनारामा राख्न सक्नुपर्छ । एमालेका निम्ति यो अवसर लोकतान्त्रिक संघर्षको आफ्नो बाटो नै सर्वश्रेष्ठ हो भनी सावित गर्ने ऐतिहासिक मौका हो भने माओवादीका निम्ति पुराना गल्ती सच्याउने अवसर हो । त्यसैले केपी ओली र पुष्पकमल दाहालले आत्मविश्वासका साथ पारस्परिक सहकार्यको बाटोलाई सकारात्मक टुंगोमा पुर्याउनु पर्छ ।
कम्युनिस्ट पार्टी बीच सहकार्य र एकताले सकारात्मक सन्देश त दिन्छ नै, यसले सत्ता सञ्चालनमा उनीहरुको अग्राधिकारलाई पनि स्थापित गर्छ । किनभने दुईतिहाई जनसमर्थन हुँदा हुँदै पनि कांग्रेसको चक्रब्यूहमा परेर नेपालका बामपन्थीले सत्ता गुमाउँदै आएका हुन् । यसपल्टको ऐतिहासिक अवसरले उपेन्द्र यादव र बाबुराम भट्टराई लगायतलाई पनि आफैंसँग राख्दै नयाँ बाटोमा जाने मौका ओली र दाहाललाई मिलेको छ । यसो गर्न सके इतिहासका सवै गल्तीको ब्याज सहित असुल्दै नयाँ र सकारात्मक नेपालको सुरुवात हुनेछ । चक्रपथ बाट सभार



