काठमाडौँ, १७ असोज । नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल र पार्टी एकीकरण टुंगो लाग्दै गर्दा संघीय समाजवादी फोरम, नयाँ शक्ति नेपाल र नेपाल परिवार दल पनि एमालेसँग मिल्न इच्छुक देखिएका छन् ।
नेपाल परिवार दलका अध्यक्ष एवं सांसद एकनाथ ढकालले एमालेसँग वार्ता चलिरहेको बताए । वार्ता सकारात्मक रहेको भन्दै ढकालले छिट्टै टुंगोमा पुग्ने बताए । ढकाल एमालेसँग तालमेल मात्र भन्दा पनि पार्टी एकीकरण गरेर जाने पक्षमा देखिएका छन् ।

यसैगरी, संघीय समाजवादी फोरम पार्टीसँग पनि छलफलले तीव्रता पाइरहेको छ । संघीय फोरमसँग एमाले र माओवादीका नेताहरुले छलफल गरिरहेका छन् । एमाले र माओवादीबीच तालमेल हुने भएपछि संघीय समाजवादी फोरमलाई पनि सँगै लैजाने तयारी भएको हो ।
यसैगरी, वैकल्पिक शक्तिका रुपमा उदाएको नयाँ शक्ति नेपाल पनि एमालेसँग मिल्न तत्पर देखिएको छ । त्यसका लागि नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले सक्रियता बढाएका छन् । उनी र एमाले नेताहरुबीच छलफल भइरहेको बताइएको छ । उनीहरुसँग तालमेल गर्दै पार्टी एकतासम्म जाने विषयमा छलफल केन्द्रीत छ । जसका लागि सर्वपक्षीय प्रतिनिधित्व हुने गरी १० सदस्यीय एकता संयोजन समिति बनाउने तयारी भएको छ । संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालसहितको उच्च स्तरीय समिति बनाउने विषय एमाले र माओवादीको सहमति पत्रको मस्यौदाको चौंथो नम्बरमा उल्लेख गरिएको छ ।

समितिमा एमालेका तर्फबाट पूर्वप्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनालसहित नेता वामदेव गौतम, माओवादी केन्द्रका तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ प्रकाश र रामबहादुर थापा बादल, नयाँ शक्तिबाट डा बाबुराम भट्टराई तथा संघीय समाजवादी फोरमबाट उपेन्द्र यादव र अशोक राईले प्रतिनिधित्व गर्ने भएका छन् ।
–दैनिक नेपाल



