काठमाडौं, १७ असोज– एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा देशभक्त र कम्युनिस्टहरुको दुईतिहाई बहुमतको सरकार बन्ने र उक्त सरकारले राष्ट्रिय आत्मनिर्भरता र समृद्धिको उद्धेश्य पूरा गर्ने वताउनु भएको छ । एमाले, माओवादी र नयाँ शक्ति पार्टीबीच चुनावी तालमेल तथा पार्टी एकता सम्बन्धी सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मंसिरपछि बन्ने सरकारले कानुनी राज, भ्रष्टाचारको अन्त्य, राष्ट्रिय आत्मनिर्भरता र आर्थिक समृद्धिलाई प्रमुख लक्ष्य बनाउने वताउनु भएको हो ।
संघीय र प्रादेशिक संसदको चुनावका लागि तीन पार्टीबीचको सहकार्य कसैप्रति लक्षित नभई देश बनाउनका लागि गरिएको ओलीको कथन थियो । ‘नेपालको जन्मकुण्डलीमा ०७४ सालको मंसिरपछि देशभक्त र बामपन्थीको सरकार बन्ने लेखिएको छ’ ओलीले भन्नुभयो, ‘यो कसैका विरुद्ध लक्षित सहकार्य होइन देश बनाउने सहकार्य हो ।’ सहमतिका विविध पक्षबारे चर्चा गर्दै ओलीले आगामी चुनाव एउटै चिन्हमा लड्ने सम्भावना नसकिएको पनि वताउनुभयो । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी सूर्य चिन्हबाटै चुनाव लड्ने ओलीले उद्घोष गर्दा राष्ट्रियसभागृहमा खचाखच भरिएका दर्शकले लामो समयसम्म ताली बजाएर स्वागत गरेका थिए ।
माओवादी केन्द्रलाई पनि सूर्य चिन्ह लिएरै चुनाव लड्न ओलीले सुझाव दिनुभयो । यद्यपि प्राविधिक कारणले केही कठीनाई भएको उहाँले खुलाउनु भएको थियो । भविश्यमा पार्टी एउटै हुने भएपछि अलग चिन्हमा चुनाव लड्नु भन्दा एउटै चिन्ह लिंदा सकारात्मक सन्देश प्रवाह हुने ओलीको आशय थियो ।
सहकार्यका दौरानमा कुनै पनि पार्टीले केही नछोडेको ओलीको स्पष्टोक्ति थियो । ‘माओवादीका साथीहरुलाई लाग्ला पार्टीले क्रान्तिकारी र जुझारुपन छोड्यो, तर, त्यसो होइन । एमालेका साथीहरुलाई लाग्ला पार्टीले लोकतन्त्र र जिम्मेवारीपन छोड्यो, त्यो पनि होइन’ ओलीले भन्नुभयो, ‘देशलाई कता लैजाने भन्ने विषयमा हामीले नयाँ बाटो तय गरेका छौं, हामी देशलाई स्वाधीन बनाउँछौं, आत्मनिर्भर र समृद्ध बनाउँछौं, त्यो बाटो लिएको हो ।’
ओलीले चुनावपछि बन्ने सरकारले सन्तुलित, सम्मानपूर्ण छिमेक नीति लिने घोषणा गर्नुभयो । ‘यो सहमतिबाट कोही डराउनु पर्दैन किनभने नयाँ सरकारले पञ्चशीलका सिद्धान्त, असंल्ग्नता र संयुक्त राष्ट्रसंघको बडापत्रका एक एक शब्द तलमाथि नगर्ने विदेश नीति अवलम्बन गर्नेछ’ ओलीले भन्नुभयो, ‘अर्घेल्याईं कसैले गर्योभने त्यो भन्न सक्ने सरकार बन्नेछ ।’ चक्रपथ बाट



