काठमााडौं, २ मंसिर । संसदमा विचाराधीन संघीय संसद्का पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयकको प्रस्तावित सुविधामा आलोचना भइरहेका बेला साना दलका सांसदले पेन्सनको माग गरेका छन् ।
आजको गोरखापत्र दैनिकमा खबर छ –विचाराधीन विधेयकमा संशोधन दर्ता गर्दै संविधान जारी गर्ने कार्यकालका सांसदलाई पेन्सन सुविधा दिइनुपर्ने माग गरी संशोधन दर्ता भएको हो ।
विधेयकमा संशोधन दर्ता गर्ने क्रम बिहीबार सकिँदैछ तर ठूला दल आबद्ध सांसदहरूले भने पदाधिकारी वा सदस्यको मृत्युपछि पाउने सुविधा आर्थिक रूपमा कमजोर परिवारलाई मात्र दिनुपर्ने माग गर्दै संशोधन दर्ता गरेका छन् । संशोधन दर्ताको प्रक्रिया सकिएपछि विधेयक पुनः संसदमा पेस हुने छ ।
विचाराधीन विधेयकको सुविधासम्बन्धी अनुसूचीमा सुविधा थप गरी पेन्सन सुविधा थप गर्न माग गरिएको छ । पेन्सनको सुविधा माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिककी सीमाकुमारी विकले संशोधन दर्ता गरेकी छन्। उनले अनुसूचीमा रहेको सुविधामा संविधान जारी गर्ने सदस्यहरूलाई पेन्सनको सुविधा माग गरेकी हुन्।



