बिष्णुप्रसाद पोखरेल
दमक । झापाको दमकमा प्रस्तावित भएको प्रदेश नं. १ को ‘क्लिन इण्डष्ट्रिल पार्क’को प्रारम्भिक चरणको काम तिब्र रुपमा अघि बढेको बताईएको छ ।
जग्गा ब्यवस्थापनको काम भइरहेको बताउदै मुआब्जा प्रदान गर्नका लागि समेत आवश्यक तयारी पुरा भएर काम थालनी भएको दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताउनु भयो ।
झापाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा सिफारीस समितिको निर्देशन अनुसार मालपोत र नापी कार्यालयले मुआब्जाको लगत समेत तयार पारिसकेकाले अब मुआब्जा बितरण गरेर पार्कको नाममा जग्गा ब्यवस्थापनसंगै डिपिआरको काम हुने दाहालले जनाउनु भयो । स्थानीय रमा सामुदायिक बनको जमिनमा पार्क निर्माण गरिने बताइदै आएको छ ।
दमकको वडा नं. १० मा रतुवा खोलाको किनारको सरकारी तथा सार्वजनिक जमिन बाहेक स्थानीयको नम्बरी जमिनको मुआब्जा बितरण हुने बताईएको छ ।
जग्गा अधिग्रहण गरेर मुआब्जा बितरणका लागि गत बर्ष नै सरकारले बजेट बिनियोजन गरेको भएपनि अधिग्रहणको काम शुरु भएको थिएन । कार्यकारी अधिकृत दाहालले अब भने काम शुरु भइसकेको जानकारी दिनु भयो ।
दमक र गौरादह नगरपालिका, कमलगाँउपालिका पर्ने जग्गाहरु अधिग्रहण हुनेछ । यस औधोगिक पार्कले २ नगरपालिकाले एक गाँउपालिकालाइ छुनेछ ।
प्रारम्भिक चरणमा यस औधोगिक पार्क ३ अरव लगानी हुने र यहाँ १ लाखभन्दा बढिलाइ रोजगार मिल्ने अनुमान गरिएको कार्यकारी अधिकृत दाहालले बताउनु भयो ।
औधोगिक पार्क निर्माण समितिका अध्यक्ष गोबिन्द थापाका अनुसार बिभिन्न चीनिया लगायतका बिदेशी लगानीकर्ताहरु आएर औधोगिक पार्क निर्माणस्थलको अवलोकन गर्ने क्रम बढिरहेको छ ।
उनिहरु तत्काल उद्योग स्थापनामा आतुर देखिएको पनि थापाले बताउनु भएको छ । औधोगिक पार्क निर्माणका लागि प्रारम्भिक चरणका सबै कामहरु पुरा भएको र अब तत्कालै उद्योगहरु स्थपना हुने उहाँले जनाउनु भयो ।
यहाँ औधोगिक पार्क निर्माणका लागि प्रारम्भिक चरणको सम्झौता चीन सरकारसंग भइसकेको पनि थापाले बताउनु भयो ।



