नेपाली काँग्रेसले आइतबार मध्यरातसम्म पनि समानुपातिकतर्फ उम्मेदवारको नाम बन्दसूचीमा अन्तिम रुप दिन सकेनन् । काँग्रेससहित एमाले, माओवादी केन्द्रले ‘उधारो बन्दसूची’ बुझाएका छन् । तीनै वटै दलले तिहार पछि संशोधित बन्दसूची बुझाउने आयोगमा बुझाएको सूचीमा उल्लेख छ ।
यता कांग्रेसले समानुपातिकतर्फको बन्द सूचीमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, कुलबहादुर गुरुङ, सुजाता कोइराला, बालकृष्ण खाँण, दिलेन्द्रप्रसाद बडू, सुरेन्द्रराज पाण्डे, पुष्पा भुसाल, सुजाता परियार, लक्ष्मी परियारसहित नेताहरुको नाम राखेको छ । अन्य केन्द्रीय सदस्यलाई प्रदेश र केन्द्रमा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने नेताले बताएका छन्।
पूर्वमहामन्त्री सिटौलाले भने समानुपातिकतर्फको सूचीमा आफूलाई राखिएकोमा सभापति शेरबहादुर देउवासँग असन्तुष्टि जनाउँदै प्रत्यक्षतर्फ उम्मेदवार बनाउन आग्रह गरेको सहयोगी श्रीप्रसाद सिटौलाले जानकारी दिए । ‘समानुपातिकमा होइन उहाँ (सिटौला) ले प्रत्यक्षमै प्रतिस्पर्धा गर्ने सभापतिलाई भनिरहनुभएको छ,’ श्रीप्रसादले आइतबार राती भने ।
कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले नेता सिटौलासहित आधा दर्जन केन्द्रीय सदस्यको नाम समानुपातिक सूचीमा राखिएको जानकारी दिए । ‘समानुपातिक सूचीलाई नेताहरूले अन्तिम रुप दिने काम गरिइहनु भएको छ,’ उनले भने, ‘उहाँहरूको नामचाहिँ टुंगो लागिसक्यो ।’
झापा क्षेत्र नम्बर ३ बाट सिटौला प्रत्यक्षमा उठ्न खोजिरहेका छन् । झापा ३ नम्बर क्षेत्र सिटौलाको क्षेत्र हो । तर, सिटौलाको नाम सभापति देउवाले समानुपातिकमा राखेपछि काँग्रेसमा आन्तरिक वहस सुरु भएको छ । देउवाले सिटौलाको नाम समानुपातिकमा राखेको उदेश्य राप्रपासंगको चुनावी तालमेल मुख्य कारण हुन सक्ने काँग्रेस नेताहरुको बुझाई छ ।
राप्रपाले झापाका ५ निर्वाचन क्षेत्र मध्ये ३ नम्बर क्षेत्र माग गरेपछि यस्तो समस्या उत्पन्न भएको हो । राप्रपाले यस क्षेत्रबाट पार्टीका महामन्त्री राजेन्द्र लिङदेनलाई प्रत्यक्षतर्फबाट उम्मेदवार बनाउने कसरतमा लागिपरेका छन् । स्रोत आजको पत्रपत्रिकाबाट



