पार्टीले समानुपातिकमा नाम राखेर निर्वाचन आयोगमा बुझाएपछि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला तनावमा परेका छन् । उनले समानुपातिकको बन्द सूचीबाट नाम फिर्ता गराउन पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाउँदै लगेका छन् ।
सिटौला आफ्नो पुरानो क्षेत्र झापा क्षेत्र नं। ३ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन् । तर, आइतबार कांग्रेसले सिटौलाको नाम एक नम्बरमा राखेर पार्टीको तर्फबाट समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगलाई बुझाएको थियो । आफूहरुसंग सल्लाहनै नगरि समानुपातिकमा नाम राखेको भन्दै सिटौला पक्षीय नेताहरुले सभापतिमाथि दबाब बढाएका हुन् ।
स्रोतका अनुसार सिटौलाले आफू समानुपातिकमा नबस्ने जानकारी सभापति देउवालाई गराइसकेका छन् ।उनले कुनै हालतमा प्रत्यक्षबाटै चुनाव लड्ने कुरा सभापतिलाई अवगत गराएको सिटौला निकट स्रोतको भनाई छ । यस विषयमा सिटौलाले सोमबार बिहान आफू पक्षीय नेताहरु रक्षामन्त्री भीमसेनदास प्रधान, गगन थापा, प्रदीप पौडेललगायतसंग छलफल गरेका छन् ।
स्रोतका अनुसार सिटौला पक्षले अन्तिम समयसम्म नाम फिर्ता लिन सभापतिमाथि दबाब बढाउने छ । सभापतिले समानुपातिकबाट नाम फिर्ता गर्न नलगाए सिटौलाले आफै निर्वाचन आयोगमा निवेदन दिएर नाम फिर्ता लिने छन् । ‘त्यस्तो अवस्था आए सभापति देउवालाई अफ्ठ्यारो हुन सक्छ’ एक नेताले भने,‘बन्द सूचीबाट नाम फिर्ता नभए सभापतिविरुद्ध वक्तव्यबाजी गरेर उहाँ ९सिटौला० अघि बढ्नुपर्ने अवस्था सिर्जना हुन्छ ।’
उनले नाम फिर्ता गराउनेबारे पार्टीभित्रबाट सभापतिमाथि तीव्र दबाब रहेको बताए । ‘उहाँको नाम समानुपातिकमा राख्नेबारे सभापतिले वरिष्ठ नेता रामचन्द्र पौडेलसंग छलफल गर्दा, पौडेलले एक पटक सिटौलालाईनै सोध्नुपर्छ भन्नु भएको थियो’ उनले भने,‘तर, सभापतिज्यूले उहाँ ९सिटौला० संग सल्लाहनै नगरि नाम बन्द सूचीमा राख्न लगाउनु भएछ ।’ उनका अनुसार सिटौलाले चुनावको तयारी स्वरुप १५ दिनदेखिनै आफू निकटकालाई झापा क्षेत्र नं।
३ मा खटाएका छन् । कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनेपछि सभापति देउवाले सिटौलालाई समानुपातिकमा राख्न चाहेका हुन् । गठबन्धनअन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले पहिलो नम्बरमा सिटौलाको निर्वाचन क्षेत्र झापा क्षेत्र नं। ३ आफूले पाउनुपर्ने प्रस्ताव राखेको थियो । राप्रपाले उक्त क्षेत्रबाट प्रतिनिधिसभाका लागि पार्टी महामन्त्री राजेन्द्र लिङदेनलाई उठाउने तयारी गरेको छ ।
राप्रपाले उक्त क्षेत्रमा आफूले चुनाव जित्ने दाबी गर्दै आएको छ । उनले भने, ‘राप्रपालाई जसरी पनि गठबन्धनमा ल्याउनुपर्ने थियो । त्यसैले सभापतिज्यूले राप्रपा अध्यक्षलाई सल्लाह गरौला भन्नु भएको थियो । तर, उक्त क्षेत्र राप्रपालाई छाड्न सकिन्छ कि सकिदैन भन्ने विषयमा सिटौलासंग कुनै छलफल भएको छैन ।’ स्रोतका अनुसार राप्रपाले क्षेत्र नं। ३ का लागि अन्तिमसम्म अडान राख्ने छ ।
राप्रपा स्रोतका अनुसार ३ नम्बर नपाए झापा क्षेत्र नं। २ दिनुपर्ने प्रस्ताव आउन सक्छ । सिटौलाको नाम समानुपातिकको बन्दसूचीमा राखेको खबर पाएका गृहजिल्लाका कांग्रेस कार्यकर्ता निराश देखिन्छन् । कांग्रेस क्षेत्रीय सभापति गणेश पोखरेलले स्थानीय तहको मतपरिणाम अनुसार क्षेत्र नं। ३ मा राप्रपाभन्दा कांग्रेस ८ हजार मतले अगाडी रहेको बताए । उनले चार स्थानीय तह रहेको उक्त क्षेत्रमा कांग्रेसको २१ हजार तथा राप्रपाको १३ हजार भोट रहेको बताए ।
जिल्ला सभापति उद्धव थापाले सिटौलालाई समानुपातिकमा राखे कांग्रेस झापालाई दूरगामी असर पर्ने बताए । सिटौलाले उक्त क्षेत्रमा ०४८ सालदेखि नै चुनाव लड्दै आएका छन् । उक्त बर्ष सिटौला एमालेका द्रोणचार्य क्षेत्रीसंग पराजित भएका थिए । कार्यकाल नसकिदै उनको निधन भएपछि ०५० मा भएको उपनिर्वाचनमा सिटौला निर्वाचित भएका थिए । ६ महिनापछि भएको मध्यावधिक निर्वाचनमा सिटौला एमालेका पुष्पराज पोखरेलसंग पराजित भएका थिए । त्यसपछि ०५६ र ०७० मा सिटौला निर्वाचित भएका थिए ।
०६४ मा माओवादीका पूर्णसिंह राजवंशीसंग पराजित भएका थिए । कांग्रेस–एमालेबीच प्रतिस्पर्धा हुँदै आएको उक्त क्षेत्रमा दोस्रो संविधानसभा चुनावमा राप्रपा उदय भयो । उसका लिङदेन एमालेलाई पछि पार्दै सिटौलाका निकटतम् प्रतिस्पर्धी बने । ०७० को चुनावमा पराजित भएपनि लिङदेन उक्त क्षेत्रका बासिन्दासंगै रहे ।
फलस्वरुप स्थानीय तह चुनावमा राप्रपाले उक्त क्षेत्रभित्र पर्ने कचनकवल र हल्दिबारी गाउँपालिकाको नेतृत्व जित्न सफल भयो । यस कारण पनि राप्रपाले आगामी चुनावमा पनि उक्त क्षेत्र आफूले जित्ने दाबी गर्दै आएको छ । तर, झापावासीले एमाले अध्यक्ष केपी ओलीपछि जिल्लाकोतर्फबाट सिटौलालाई राष्ट्रिय राजनीतिमा विकल्पका रुपमा हेरेका छन् । क्षेत्रीय सभापति पोखरेलले भने,‘राष्ट्रिय राजनीतिमा उहाँको आवश्यकता अझै प्रमुख छ । जिल्लाको विकासका निम्ति पनि उहाले यस पटक चुनाव लड्नैपर्छ र लड्नु हुन्छ पनि ।’ आजको कान्तिपुरमा समाचार छ ।



