दमक/दूइसाताभन्दा लामो समयसम्म आर्थिक अभावले उपचार नपाएकी उर्लाबारी नगरपालिका वडा नंं १ झारसादीकी २ बर्षिया बालिका आश्मा महतको दमकस्थित लाइफलाइन अस्पतालमा ल्याएर उपचार शुरु गरेपछि स्वास्थ्यमा क्रमिक सुधार आउन थालेको पाईएको छ ।
आर्थिक अभावले उपचार नपाएकी बालिकाको स्थानीय सामाजिक अगुवा र सञ्चारकर्मीहरुको पहलमा अस्पतालले बालिकाको उपचार, औषधि र आवश्यक खानपानको समेत ब्यवस्था मिलाएर उपचार गरिरहेको छ ।
अस्पतालका प्रशासक सिम्रिक गिरी र नबिन यादबका अनुसार आफूहरुले उपचारमा कुनै पनि कमी आउन नदिनका लागि हरदम कसरत भइरहेको छ ।
बिरामी र कुरुवाका लागि अस्पतालको क्यान्टिनमा आवश्यक खानपानको ब्यवस्था मिलाएपछि बिरामीका आफन्तले पनि खुसि प्रकट गरेको प्रशासक गिरीले बताए ।
नोवेल अस्पताल र बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले बालिकाको उपचार गर्न नमानेपछि परिवारले घरमै ल्याएको थियो ।
नोवेलले बेड छैन भनेर र घोपाले २० हजार धरौट राख्न भनेको बालिकाकी आमा कुमारी महतले बताइन् । उनले अस्पतालको उपचारबाट आफू सन्तुष्ट भएको बताउदै सहयोग गर्ने सबैप्रति आभार समेत प्रकट गरेकीछन् ।
बालरोग बिशेषज्ञ डा.अनिल थापाका अनुसार बालिकाको घाउहरुको अवस्था र स्वास्थ्य अवस्था क्रमिक सुधार भइरहेको छ ।
ढिला गरी उपचारमा ल्याइएकाले घाउ फैलने क्रम रहेकोमा अहिले त्यो रोकिएर घाउ सुक्दै गएको र बालिकाले पनि सहज ब्यवहार देखाउन थालेको डा. थापाले बताएकाछन् ।
बालिकाको उपचारमा सहयोग गरिरहेका पत्रकार मञ्च दमकका अध्यक्ष बिष्णुप्रसाद पोखरेलले बालिकाको उपचारमा कुनै कमी नरहेको पाएको र कहिकतैबाट सहयोग उठाउन जरुरी नरहेको बताएकाछन् ।
बालिकाको उपचारका लागि भन्दै बिभिन्न बिद्यालय तथा ब्याक्तिगत रुपमा सहयोग उठाउन थालेको पाएको बताउदै यस्तो कार्य नगर्न समेत उनले आग्रह गरेकाछन् । अस्पतालले सबै उपचार निशुल्क गरेकाले उपचारका लागि सहयोग नचाहिने उनको भनाइ रहेको छ ।
अस्पतालका पूर्व अध्यक्ष बालचन्द्र सुब्बाले बालिकाको उपचारमा अस्पतालका सबै बिशेषज्ञहरुसंग परामर्श गरेर भइरहेको बताए । औषधि उपचारमा कुनै पनि कमी हुन नदिने र सबै अस्पतालले गर्ने उनले जानकारी दिए ।
उपचारमा संलग्न डाक्टर समिर भट्टराइका अनुसार बालिकाको घाउ ८० प्रतिशतभन्दा बढि सुकिसेकेको छ । स्वास्थ्यमा क्रमिक सुधार भएको छ अब केहि दिन राख्नु पर्छ । अहिले कुनै पनि समस्या नरहेको उनले बताए ।
बालिकाको अवस्था पहिला भन्दा धेरै नै राम्रो भएर गएको जनाउदै ३ दिनपछि डिस्चार्ज गर्ने नगर्ने बिषयमा निष्कर्षमा पुग्न सकिने उनले बताए ।
https://youtu.be/kDq6OkzCUTE



