काठमाडौं, १ कात्तिक– एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव टार्ने षडयन्त्र अनरुप मतपत्रको प्राविधिक विषयलाई लिएर सर्वाेच्च अदालतमा मुद्दा दायर गरिएको टिप्पणी गर्नुभएको छ । सरकारको नेतृत्व गरी चुनाव टार्न दुलो खोज्दै हिंड्ने र मुलुकमा अस्थिरता कायमै राख्न खोज्ने पक्षले चुनाव टार्ने प्रयास गरेको ओलीको टिप्पणी थियो ।
बुधवार बिहान पार्टी केन्द्रीय कार्यालयमा प्रवासी नेपाली मञ्चका प्रतिनिधिहरुलाई सम्बोधन गर्दै ओलीले चुनाव टार्न जतिसुकै प्रयास गरे पनि नेपालको अस्थिरताका मतियारहरुसँग कुनै न कुनै दिन चुनावमा जम्काभेट हुने ठोकुवा गर्नुभयो । सरकारको नेतृत्व गरिरहेको कांग्रेससँग चुनावी गठबन्धन गरेको राजपाका नेताले चुनावको मिति र मतपत्रको डिजाइन फेर्न सर्वाेच्च अदालतमा मुद्दा दायर गरिरहेका बेला ओलीको यस्तो भनाई आएको हो ।
‘चुनाव टार्ने षडयन्त्र स्वरुप मतपत्रको मोडेल भएन भन्दै अदालतमा मुद्दा चलिरहेको छ । ०५२ सालमा एमालेलाई सरकारबाट हटाउन यसैगरी अदालत प्रयोग गर्दा मुलुक त्यसपछि कुन ठाउँमा पुग्यो ?’ ओलीको भनाई थियो, ‘त्यसैगरी अहिले पनि नेपालको विकास र समृद्धि रोकेर अस्थिरतामा लौजाने प्रयास भएको छ, हामी त्यसलाई तोड्छौं ।’ ओलीले चुनावबाट भाग्न खोज्ने शक्तिसँग चुनावमा मुकाविला हुने वताउनुभयो ।
‘के के गर्यो भने चुनाव सार्न सकिन्छ त्यहि गरिरहेका छन्, यत्रो ६४ जना मन्त्रीको जुलुश किन चाहिन्थ्यो ?’ ओलीको कथन थियो, ‘जति षडयन्त्र गरे पनि, चुनावबाट जति भाग्न खोजे पनि एकदिन त चुनावी मौदानमा भेट हुन्छ, त्यसबेला थाहा पाउलान् ।’ नेपालबाट ‘कोलोनी’ (औपनिवेशिक) र हालहुकुमको चिन्तन पराजित नगरेसम्म देश उँभो लाग्न नसक्ने ओलीको भनाई थियो । ‘यहाँबाट कोलोनी चिन्तन र हालहुकुमको चिन्तनलाई पराजित नगरेसम्म हामी देशलाई समृद्धिमा लैजान सक्दैनौं’ ओलीको भनाई थियो, ‘मुलुक प्रगतिमा जान खोज्यो कि कोलोनी र हालहुकुम चलाउन खोज्नेहरु भाँजो हाल्न तम्सिइहाल्छन् ।’
ओलीले विदेशमा बसेर श्रम गर्ने नेपालीलाई देशमा फर्केर उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । ‘विदेशमा बसेर कमाएको रकम घरजग्गा जोड्न होइन, उत्पादनशील काममा लगानी गर्नुस्’ ओलीले भन्नुभयो, ‘आगामी चुनावमा तपाईंहरु मतदाता हुनुहुन्छ भने मतदान गरेर मतदाता हुनुहुन्न भने आफन्तलाई भनेर कोलोनी चिन्तनलाई पराजित गर्न सघाउनुस् ।’ चक्रपथ बाट सभार



