मधुसूदन दवाडी,
वाम गठबन्धनको चर्चा चलेर तातेको नेपालको राजनीति अझै सेलाएको छैन । अहिले साना दलहरु कि त कांग्रेसतिर वा कि त एमालेतिर एकता गर्ने क्रम बढ्दै गएको छ । कोतिर को जाने भनेर चरम ध्रुवीकरणको राजनीति पनि अहिले सुरू भएको छ ।
अहिलेसम्मको प्रारम्भिक नतिजामा वाम गठबन्धन देश बनाउनभन्दा पनि पद र शक्तिकै लागि हो जस्तो मात्र देखिएको छ । खुला हृदय राखिएर गरिएको एकता उम्मेदवार छनोटका सामान्य काममा नै टुट्लाजस्तो देखिएको छ । गठबन्धन त भयो तर कुन दलको कुन नेतालाई कुन क्षेत्रमा के आधारमा उम्मेदवार बनाउने भन्ने स्पष्ट मापदण्डको भने अभाव नै रहेको देखिन्छ ।
वाम गठबन्धनको मसी सुक्न नपाउँदै नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई अलग भएपछि वाम गठबन्धन रहने वा नरहने भन्नेमा पनि प्रश्न उब्जिएको छ । भट्टराईसँगको विवाद सामान्य नै भए पनि त्यसलाई मिलाउन नसक्नु शीर्ष नेताहरुको अर्काे ठूलो कमजोरी हो ।
आफ्नो जन्मभूमि तथा चुनावी क्षेत्रका रुपमा रहेको गोरखा क्षेत्र नम्बर २ मा उठ्न भट्टराईले मागेपछि उनीजस्तो सम्मानित नेतालाई सो क्षेत्र दिन माओवादी केन्द्र तयार नहुनु निकै दुःखद कुरा हो ।
आखिर वाम गठबन्धन नै भएर भोलि एउटै पार्टी बनाउनेसम्मको चर्चा चलेपछि उनलाई त्यहाँदेखि उठ्नबाट रोकिनु पक्कै राम्रो संकेत होइन । यस विषयले भविष्यमा बाबुरामको राजनीतिलाई झनै बढी अनिश्चयतर्फ धकेलेको छ । अब कांग्रेसको सहयोगमा भट्टराई सो क्षेत्रबाट उठे भने उनको विजय सुनिश्चित देखिन्छ ।
स्थानीय तहको निर्वाचनलाई नै आधार मान्ने हो भने त्यस क्षेत्रका अधिकांश तहमा कांग्रेस विजयी भएको छ । वाम गठबन्धनबाट उनी अलग हुनासाथ अब सो क्षेत्रबाट बाबुरामले त जित्लान् तर वामपन्थीहरुको शक्ति पराजित हुनेछ । हिङ नभए पनि हिङ बाँधेको टालो भनेझैँ दल परिवर्तनले बाबुरामको राजनीति ओरालो लागे पनि गोरखामा उनको लोकप्रियता र कदर अहिले पनि त्यत्तिकै छ ।
अहिले नेपालको राजनीति बाबुरामजस्ता नेताले चुनाव जित्नलाई सहारा खोज्नुपर्ने र सुन तस्कर, भ्रष्ट, डन र आपराधिक छविका मानिसहरुलाई खोजी खोजी पार्टीले टिकट दिने अवस्थामा आइपुगेको छ । बाबुरामजस्तो विद्वान् नेता राजनीतिक सहाराको खोजीमा भौँतारिनु भनेको पक्कै पनि राम्रो संकेत होइन । बाबुराम अहिले आफ्नो अस्तित्व स्थापित गर्नलाई कांग्रेसको सहारा मागिरहेका छन् ।
बाबुराम आजको अवस्थामा आइपुग्नुमा पक्कै पनि उनको विगतको राजनीतिक पृष्ठभूमिलाई पनि हेर्नुपर्ने हुन्छ । असोज ३ मा संविधान जारी भएर देशभर दीपावली गरी खुसीयाली मनाइरहँदा विगत १५ वर्षदेखि राजनीतिको अग्रपंक्तिमा रहेका एमाओवादीका नेता डा. बाबुराम भट्टराई भने खुसी हुन सकेनन् । संविधानसभामा मतदानबाट संविधान पारित भएदेखि घोषणा गर्दासम्म कयौँ नेताहरु मोबाइलको सेल्फीमा खुसीयालीको क्षण कैद गर्न लागिपर्दा बाबुरामको मुहारमा भने कुनै उज्यालो देख्न पाइएन ।
उनले संविधान जारी भएकोमा दीपावली गरेर मनाउन आवश्यक छैन भनेर कडा मन्तव्य दिए । झन्डै ९० प्रतिशत जनप्रतिनिधिको हस्ताक्षर भएको संविधानलाई नस्वीकारेर उनले मधेसी र थारुको पक्षमा सहानुभूति दर्शाउन पुगे । समयअनुसार संविधानलाई संशोधन गरेर अगाडि बढ्न सक्ने प्रशस्त आधार हुँदाहुँदै पनि उनीजस्तो विद्वान्ले पनि सो विषयलाई मनन गर्न सकेनन् । उनले उल्टै मधेसमा अशान्ति सिर्जना गर्ने र देशमा कलह फैलाउने शक्तिहरुको विरोध पदर्शनमा आगोमा घिउ थप्ने काम गरिरहे । त्यही गलत निर्णयको पीडामा अहिले बाबुराम रूमल्लिरहेका छन् ।
अन्तरपार्टी संघर्षलाई नै निरन्तरता नदिई पार्टी फोड्नु नै उनलाई अहिले ठूलो घाँडो भइरहेको छ । संविधान जारी हुनेबित्तिकै भारतको आशय र उनको नयाँ शक्तिको स्थापना सँगैसँगै हुनुले पनि नेपालको राजनीतिमा उनी भारतपरस्त नेताका रुपमा चित्रित हुन पुगे ।
भट्टराई दोस्रो संविधानसभामा संविधान निर्माण प्रक्रिया लम्ब्याउने र जातीय राज्यको मागलाई वैधानिकता दिने पक्षमा थिए । उनको मागमा उनकै पार्टीभित्र र बाहिर कसैले वास्ता नगरेपछि उनी निकै आक्रोशित हुँदै संविधान घोषणाको उत्सवको विरोध गरेका थिए, जुन काम उनको सबैभन्दा ठूलो भूल थियो ।
उनीजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उचाइ बनाएको व्यक्तिले राष्ट्रिय हित र स्वार्थलाई त्यागेर सीमित व्यक्ति वा समूहको फाइदामा लाग्नु आफैँमा संकीर्ण सोचको उपज थियो । पढेर प्रमाणपत्रमा उनी विद्वान् देखिए पनि उनको सोच र व्यवहारमा भने परिपक्वता देखिएन । उनको व्यवहार र विचारले सीमित समूह र फाइदामा रमाउने नेताहरुका रुपमा पहिचान गराएको थियो ।
माओवादी विद्रोह र दोस्रो जनआन्दोलनसम्म नेपाली जनताले बाबुराम भट्टराईबाट जेजसरी हेरेका थिए, पछि उनीप्रतिको जनआस्था र विश्वासमा बिस्तारै स्खलन हुँदै गयो । उनले देशको प्रधानमन्त्रीदेखि संविधान निर्माण प्रक्रियामा समेत मह¤वपूर्ण काम गरेर देखाउन सक्ने अवसर पाए ।
तर, उनीप्रतिका सारा आशाहरु निराशामा बदलिए । कतिपय विश्लेषकहरुले पार्टीभित्र कमजोर रहेर काम गर्न नसकेका होलान् भन्ने अनुमान पनि गरे, तर अन्ततः उनको वैचारिक सोच नै साँघुरो रहेको सबैलाई स्पष्ट भयो । अहिले इतिहासकै सबैभन्दा अँध्यारो मोडमा बाबुराम आइपुगेका छन् । आज नयाँ शक्ति पार्टीको भविष्यमाथि नै प्रश्नचिन्ह लागेको छ । न त भट्टराईले नयाँ शक्तिलाई मजबुत बनाउन सके, न त भट्टराईकै विश्वासपात्रहरुले नै उनलाई साथ दिन सके ।
बिस्तारै भट्टराई नयाँ शक्तिमा पनि एक्लिँदै गए । हिजो देशको राष्ट्रनिर्माताका रुपमा सारा जनताले विश्वास गरेका बाबुराम अहिले देश टुक्र्याउने धम्की दिने राजेन्द्र महतोको भन्दा पनि कमजोर अवस्थामा पुगेका छन् । हिजो उनलाई भोट दिएर नयाँ नेपाल निर्माणको सपना देख्ने गोरखावासीले उनका पछिल्ला कदमलाई पक्कै बिचरा बाबुराम नै भनिरहेका छन् !
भारतले नेपालको सार्वभौम संविधानसभामा हस्तक्षेप गर्दै गर्दा देशको स्वाधीनताका लागि लड्नुपर्ने भट्टराई पार्टी नै त्यागेर भाषण गर्न जनकपुर पुगेका थिए । प्रचण्डले भट्टराईलाई भन्दै आएको पहिले उनलाई ३० वर्षझैँ झेल्दै आइरहेको हो भनेझैँ कुनै बेला संविधानसभा र बृहत् शान्ति सम्झौता र संविधानसभाको सूत्रधार मानिएका उनी आज सबैका अगाडि घामट बनेका छन् ।
स्याल करायो कुखुरा हरायो भनेझैँ अघोषित नाकाबन्दीले भारतले संविधान संशोधनको दबाब दिइरहँदा भट्टराईले राजनीतिबाट हात धुनु आफैँमा आश्चर्यमात्र नभएर ग्रान्ड डिजाइनजस्तै थियो । आफ्नो स्वार्थअनुसार पार्टी फुटाएर राज गर भन्ने भारतीय नीतिको पक्षमा उनी लागे । देशको संकटको घडीमा मिलेर सामना गर्नुपर्ने बेलामा राजनीतिबाट भाग्नु त्योभन्दा ठूलो धोका अरु थिएन ।
कुनै व्यक्ति, नेता वा पार्टीको भविष्य कहिलेकाहीँ देशमा आउने ठूला–ठूला उथलपुथलहरुले निर्धारण गर्दछ । देशमा आउने राजनीतिक परिवर्तनबाटै कतिपय नेता गद्दारमा परिणत भएका छन् भने कतिपय नेताहरु राष्ट्रनायकमा रुपान्तरित भएका पनि कयौँ उदाहरणहरु छन् । देशमा आउने संकटलाई बुझेर जनभावनाअनुसार काम गर्न सकेमा नै कुनै पनि नेताले सही अर्थमा लोकप्रियता हासिल गर्दछ । परम्परागत हिंसात्मक माओवादी राजनीतिलाई लोकतान्त्रिक बाटोमा मोड्नमा डा. बाबुराम भट्टराईको ठूलो योगदान छ । तर, आज उनको त्यो योगदान सबै खेर गएको छ ।
चुनौती र अप्ठ्यारोसँग डराउने नेतालाई मौसमी नेताको उपाधि दिन सकिन्छ, अब उनी छेपारोजस्तै रङ फेर्ने नेता बनेका छन् । उनलाई सबैले बिचरा भन्नुपर्ने अवस्था कसरी आयो ? पक्कै पनि गम्भीर समीक्षाको विषय बनेको छ । उनको आफ्नै बुद्धिले होस् वा गल्ती–कमजोरीले होस् वा देशको गलत राजनीतिक संस्कारले नै किन नहोस्, बाबुराम भट्टराईजस्तो नेताले अन्य नेतासँग आफ्नो निर्वाचन क्षेत्रमा उठ्नका लागि सहयोग खोज्दै हिँड्नुपर्ने अवस्था सिर्जना हुनुलाई पक्कै पनि राम्रो संस्कार भन्न सकिँदैन ।
राम्रा नेताको यसरी नै जोगीको हालत हुने र डन, भ्रष्ट मोटाउँदै जाने हो भने नेता त फेरिएलान्, तर देश पक्कै बदलिन सक्दैन । नेताले देखेको आर्थिक समृद्धि भ्रष्ट र डनलाई काँध हालेर सम्भव पनि छैन ।
जनताको विश्वास र भरोसाबाट नै कुनै पनि नेता राजनेता कहलाउँछ । देशको संकटमा डराउने, खुट्टा कमाउने नेता समयको परिवर्तनसँगै बिस्तारै राष्ट्रिय राजनीतिबाट किनारा लाग्दै जान्छ । चाहे व्यक्तिलाई होस् वा राजनीतिक दललाई होस्, एकपटक आएको मौकालाई सही ढंगबाट उपयोग गर्न नसकेमा ऊ सधैँ पछाडि पर्दछ ।
चाहे नेता होस् वा सर्वसाधारण होस्, मानिस बन्न त्यत्ति नै गाह्रो छ तर बिग्रन केही मिनेट पनि लाग्दैन । अहिले डा. बाबुरामले गरेको लामो राजनीतिक संघर्ष, योगदान, मेहनत र वीरगाथा उनले रोजेको उल्टो यात्राले ध्वस्त बनाएको छ । उनको जीवनमा निकै ठूलो राजनीतिक विचलन आएको छ, जसले न त उनलाई फाइदा गर्छ न त देशलाई नै फाइदा गर्छ ।
बाबुराम आफैँमा विद्वान् नेता त थिए, तर हाम्रो गलत राजनीतिक संस्कार र पद्धतिले अहिले उनको विद्वतालाई ओझेलमा पारिदिएको छ । एक सफल अर्थमन्त्रीका रुपमा कुनै बेला प्रतिष्ठा कमाएका भट्टराई अहिले कहिले ओली, कहिले प्रचण्ड र कहिले शेरबहादुरको दैलो चहार्दै हिँडेको देख्नु पक्कै पनि सुखद पक्ष हुन सक्दैन ।
आशा छ, उनले हिजो धेरै नै गल्ती गरे पनि उनको विद्वताको कदर गर्दै उनको आगामी राजनीतिक यात्रा सबैले सहज बनाउन पहल गरौँ । किनकि, अझै पनि देशलाई बाबुरामको बौद्धिकताको खाँचो छ ।चितवन पोष्टबाट ।



