नवराज मैनाली –
गत २ कात्तिकमा विराटनगरका मुरारी चापागार्इंको धानबारीमा एक युवकको शव भेटियो । शव गन्हाइसकेको थियो । हातमा ट्याटु थियो, जसमा लेखिएको थियो– अंकित ।
त्यो शव तिनै अंकित दाहालको थियो, जो हराएको भन्दै चार दिनअघि उनका बुबाआमाले प्रहरीमा निवेदन दिएका थिए । मोर्डन कलेजमा १२ कक्षामा पढ्ने उनको शव घाँटी रेटिएको र हातखुट्टा बाँधिएको अवस्थामा फेला परेको थियो । शवको प्रकृति हेर्दा उनको हत्या भएको स्पष्ट थियो ।
दसैँ भर्खरै सकिएको थियो । ठूलोबुबाको घरमा टीका लगाएर उनी निस्किएका थिए । खाना पनि नखाई उनी हतार–हतार साथी भेट्न निस्किए । आफ्ना प्रिय साथीहरू भेट्न निस्किएका उनी तिनै साथीबाट मारिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्दीप भण्डारीका अनुसार लागुऔषधका कारण उनको ज्यान गएको थियो । अंकित लागुऔषध सेवन गर्थे । उनी आफैैँ लागुऔषध किन्न जोगबनी जाने गर्दथे । साथीहरूसँग समेत पैसा लिएर उनी लागुऔषध खरिद गरेर ल्याउँथे । धेरै पैसा लिएर थोरै मात्र लागुऔषध दिने गरेकाले टाइली भन्ने फूलकुमारी उरावसँग उनको झगडा हुँदै आएको थियो । अंकित पनि झगडालु थिए ।
त्यो दिन अंकितको हत्या गर्ने योजनासहित टाइलीले पाँचजना साथीलाई बोलाएकी थिइन् । उनले अंकितलाई भेट्नेबित्तिकै लागुऔषध खान भनेर एकान्तमा लगिन् । त्यहीँ दुईजनाबीच कुटाकुट भयो । अन्य चारजना आएर उनलाई थप कुटपिट गरे । हातखुट्टा बाँधेर मुख छोपिदिए । त्यसपछि एकान्तमा लगेर टाइलीले नै उनलाई चक्कुले घाँटीमा रेटेकी थिइन् ।
अर्का युवराज भन्नेले पेटमा खुकरीले हानेका थिए । हत्यापछि धानखेतमा लगेर शव फालेका थिए । शव फेला परेको भोलिपल्ट उनीहरू सबैलाई पक्राउ गर्न सफल भएको एसपी भण्डारीले बताए । प्रहरीले हत्यामा संलग्न टाइलीसहित टिम्बा भन्ने सुकेदव उराव, डाइलर भन्ने युवराज परियार, हन्टर भन्ने सार्जन खरेल र सुरज उरावलाई पक्राउ गरेको हो । उनीहरूलाई २९ कात्तिकमा अदालतले जेल चलान गरेको अनुसन्धान अधिकृत इन्स्पेक्टर गणेश सापकोटाले बताए ।
पक्राउ परेका सबैजना लागुऔषध दुव्र्यसनी हुन् । टाइली र टिम्बा तीन महिनाअघि मात्र चोरी मुद्दामा पक्राउ परेर धरौटीमा छुटेको एसपी भण्डारीले बताए । ‘लागुऔषधकै कारण यो हत्या भएको हो,’ एसपी भण्डारी भन्छन्, ‘युवावर्गमा लागुऔषधको ठूलो समस्या छ ।’ लागुऔषधको समस्या बढेपछि प्रहरीले केही महिनायता लागुऔषध नियन्त्रण टोली नै गठन गरेको छ ।
पाँच अभियुक्तको बयान
फूलकुमारी उराव ‘टाइली’
रेट्न थालेपछि ऊ करायो
म लगायत डाइलर भन्ने युवराज परियार, टिम्बा भन्ने सुकदेव उराव, सुरज उराव, हन्टर भन्ने सार्जन खरेल र अंकित दाहालसमेत एक–आपसमा मिल्ने सँगै हिँड्ने साथी हौँ । कहिलेकाहीँ हामी सबैजना लागुऔषधसमेत सेवन गर्ने गथ्र्याैं ।
दसैँको वेला मैले अंकित दाहाललाई तीन–चारपटक लागुऔषध ल्याउन भनी पैसा दिई भारतको जोगबनी पठाएकी थिएँ । उसले लागुऔषध ल्याई हामीलाई नदिई एक्लै प्रयोग गरेका हुँदा मलाई रिस उठेको थियो ।
मैले उसलाई मार्ने कुरा गरी घटना हुनुभन्दा दुई–तीन दिनअगाडि नै गरेको थिएँ । मदरल्यान्ड स्कुलमा हामी पाँचैजना भेला भई उपयुक्त मौका पर्नासाथ अंकित दाहाललाई मार्ने सरसल्लाह भयो ।
यसैक्रममा २८ असोजको गते साँझ डाइलर भन्ने युवराज परियार, टिम्बा भन्ने सुकदेव उराव, हन्टर भन्ने सार्जन खरेल, सुरज उराव र म विराटनगर–६ स्थित चाँदनी चोकमा भेला भई चुरोट खाँदै थियौँ । बेलुका साढे सात बजेतिर अंकित आइपुग्यो । ऊ आएपछि पाँचैजना भई दिल्ली पब्लिक स्कुलको पूर्वपट्टि बाटोमा पुर्याई मैले सुरजलाई गाँजा बनाउँदै गर भनेँ । तिमीसँग केही गफ गर्नु छ भनी अंकितलाई लिएर एकान्तमा गएँ ।
त्यसक्रममा ऊसँग मेरो वादविवाद भयो । मैले सुरजलाई बोलाएँ । सबैजना आए । पाँचैजनाले अंकितलाई लात्ती र मुक्काले कुटपिट गर्यौँ । अंकित कराउँदै फुत्किन खोज्दा उसले लगाएको भेस्ट र ट्राउजर फुक्लियो । सुरजले ट्राउजरको तुना तानी उसको साथमा भएको खुकुरीले काटी दुई टुक्रा बनायो । एक टुक्रा टिम्बा भन्ने सुकदेव उरावलाई दियो । युवराज परियार, हन्टर भन्ने सार्जन खरेल र म भएर अंकितलाई लडायौ । सुरजले अंकितको दुवै हात पछाडि लगी बाँध्यो र टिम्बा भन्ने सुकदेव उरावले दुवै खुट्टा बाँधेपछि सुरजले भेस्टले टाउको छोपी दियो ।
त्यसपछि मैले आफूले बोकेको चुप्पी निकाली अंकितको घाँटीमा रेट्दा ऊ कराउन थाल्यो । सुरज उरावले उसको मुख थुनी आफ्नो साथमा रहेको खुकुरी निकाली डाइलर भन्ने युवराज परियारलाई दियो । युवराजले खुकुरी लिई अंकित दाहालको पेटमा प्रहार गर्यो । अंकित छटपटाउन थाल्यो । जुनेली रात भएको हुँदा कसैले टाढैबाट देखी थाहा पाउन सक्ने भएकाले हामी पाँचैजनाले उसलाई घिसार्दै, बोक्दै धानबारीभित्र पुर्यायौँ । मैले पुनः आफूसँग भएको चुप्पीले अंकितको घाँटी रेटिदिएँ । त्यसपछि ऊ चल्न छाड्यो र हामी भाग्यौँ ।
युवराज परियार
खुकुरीले मैले नै हानेको हुँ
अंकित दाहाल हाम्रा चिनजानकै साथी हो । अंकित दाहाल र टाइली भन्ने फूलकुमारी उरावबीच विवाद भई रिसइबी बढेको थियो । घटना हुनुभन्दा दुई–तीन दिनअघि हन्टर भन्ने सार्जन खरेल, टिम्बा भन्ने सुकदेव उराव, सुरज उराव र मसमेत मदरल्यान्ड स्कुलमा भेला भएका थियौँ ।
गफगाफ गर्दा टाइलीले पुनः अंकितलाई मार्ने कुरा गरी । उसको कुरामा सबै सहमत भई उपयुक्त मौका पर्नासाथ अंकित दाहाललाई मार्ने सरसल्लाह भयो । यसैक्रममा २८ गते साँझतिर हामी पाँचैजना चाँदनी चोकमा बसी गफगाफ गरिरहँदा अंकित आइपुग्यो । टाइलीले उनलाई हामीसँगै बोलाई ।
दिल्ली पब्लिक स्कुलको पूर्वपट्टि बाटोमा पुर्याई टाइलीले मेरो अंकितसँग केही कुरा छ भनी अलिक पर लगेपछि दुईजना सँगै बसे । केही बेरपछि टाइली र अंकितबीच विवाद भई टाइलीले आफ्नै झागड भाषामा सुरज उरावलाई बोलाइन् । हामी पनि उनीहरू भएको ठाउँमा गई अंकितलाई लात्ती तथा मुक्काले कुटपिट गर्यौँ ।
अंकित कराउँदै फुत्किन खोज्दा निज अंकित दाहालले लगाएको भेस्ट र ट्राउजर फुक्लियो । सुरजले ट्राउजरको तुना तानी आफ्नो साथमा भएको खुकुरीले काटी दुई टुक्रा पारी एक टुक्रा टिम्बा भन्ने सुकदेव उरावलाई दियो । सार्जन, सुकदेव र सुरज भएर अंकितलाई भुइँमा लडाई समातेपछि सुरजले दुवै हात पछाडि लगेर बाँधिदियो । टिम्बा भन्ने सुकदेव उरावले दुवै खुट्टा बाँधिदियो ।
सुरजले टाउको छोपिदियो । टाइलीले उसको साथमा रहेको चुप्पी निकाली घाँटी रेट्दा अंकित कराउन थाल्यो । सुरजले मुख थुनी आफ्नो साथमा भएको खुकुरी निकाली मलाई दियो । मैले उक्त खुकुुरीले अंकित दाहाललाई पेट तथा कोखामा प्रहार गरेँ । ऊ छटपटाउन थाल्यो । जुनेली रात थियो । टाढैबाट बाटो हिँड्ने मानिसले देखेर थाहा पाउन सक्ने डर भयो । हामी पाँचैजना भई उसलाई घिसार्दै बोक्दै धानबारीभित्र पुर्याएपछि टाइलीले पुनः निजको साथमा रहेको चुप्पीले अंकितको घाँटी रेट्दा उसको मृत्यु भएको हो ।
सुकदेव उराव
लागुऔषधकै कारण हत्या गरेका हौँ
हामी सबै एक–आपसमा मिल्ने, सँगै हिँड्ने साथी हाैँ । हामी कहिलेकाहीँ जोगबनीबाट लागुऔषध ल्याई सेवन गर्ने गथ्र्याैँ । दसैँको वेला टाइलीले अंकित दाहाललाई लागुऔषध ल्याउन भनी पैसा दिई पठाएकी थिई ।
तर, अंकित दाहालले लागुऔषध ल्याई एक्लै प्रयोग गरेको हुँदा सो विषयमा उनीहरूबीच विवाद बढेको थियो ।
‘यो अंकितले हामीले भनेको मान्दैन । सामान लिन पठायो भने ल्याएर एक्लै प्रयोग गर्छ । पैसा पनि दिँदैन, यसलाई कुटेर मार्नुपर्छ,’ टाइलीले भनेकी थिइन् । सोहीअनुसार हामीले उसको हत्या गरेका हौँ ।
सुरज उराव
धानखेतमा लगेर फालिदियौँ
अंकित दाहाल र टाइली भन्ने फूलकुमारी उरावबीच विवाद हुँद आएको थियो । दुई–तीन दिनअघि डाइलर भन्ने युवराज परियार, टिम्बा भन्ने सुकदेव उराव, टाइली भन्ने फूलकुमारी उराव र हन्टर भन्ने सार्जन खरेल र मसमेत मदरल्यान्ड स्कुलमा भेला भई गफगाफ गर्दा टाइलीले अंकितलाई मार्ने कुरा गरेकी थिई ।
सबैजना सहमत भई उपयुक्त मौेका पर्नासाथ अंकित दाहाललाई मार्ने सरसल्लाह भयो । २८ गते साँझतिर डाइलर, टिम्बा, टाइली, हन्टर र म चाँदनी चोकमा भेला भई चुरोट खाँदै थियौँ । बेलुका साढे सात बजेतिर अंकित दाहाल आइपुग्यो । त्यसपछि हामी उसलाई लिएर दिल्ली पब्लिक स्कुलको पूर्वपट्टि बाटोमा पुग्यौँ ।
हामी वरै बसिरहेका वेला अंकित र टाइलीबीच विवाद भयो । टाइलीले मलाई बोलाएपछि हामी सबै उनीहरू भएको ठाउँमा गयौँ । टाइलीले यसलाई मारौँ भनेपछि पाँचैजना भई अंकितलाई लात्ती तथा मुक्काले कुटपिट गर्यौँ । अंकित कराउँदै फुत्किन खोज्दा उसले लगाएको भेस्ट र ट्राउजर फुक्लियो । मैले ट्राउजरको तुना आफूसँग भएको खुकुरीले काटी दुई टुक्रा बनाएँ ।
एक टुक्रा टिम्बा भन्ने सुकदेव उरावलाई दिएँ । युवराज, सार्जन र टाइलीले अंकितलाई भुइँमा लडाई समाते । मैले अंकितका दुवै हात पछाडि फर्काई बाँधिदिएँ । सुकदेव उरावले दुवै खुट्टा बाँधेपछि मैले भेस्टले टाउको छोपिदिएँ । टाइलीको साथमा चुप्पी थियो । उसले त्यो निकाली घाँटी रेट्न थाली । त्यसपटि अंकित कराउन थालेको हुँदा मैले अंकितको मुख थुनिदिएँ ।
साथमा रहेको खुकुरी निकाली डाइलरलाई दिएँ । उसले त्यो खुकुरी अंकितको पेटमा प्रहार गर्दा ऊ छटपटाउन थाल्यो । जुनेली रात भएको हुँदा कोहीकसैले टाढैबाट पनि देख्न सक्ने भएकाले उसलाई त्यहाँबाट घिसार्दै धानबारीमा पुर्यायौँ । टाइलीले पुनः उसको साथमा रहेको चुप्पीले अंकितको घाँटी रेटेपछि निजको मृत्यु भयो । हामी त्यहाँबाट भागेर आ–आफ्नो घर गयौँ ।
सार्जन खरेल ‘हन्टर’
हत्यापछि मोबाइल मैले लिएँ
२८ गते हामी बसिरहेका थियौँ । अंकितलाई देखेपछि हामीले बोलायाैँ । गाँजा खाने भए दिल्ली पब्लिक स्कुलतिर जाऔँ भन्यौँ । अंकितलाई दिल्ली पब्लिक स्कुलतर्फ लगी स्कुलको पूर्वपट्टि बाटोमा पुर्याई टाइलीले अंकितसँग गफ गर्नु छ भनी अलिक पर लगी । दुईजना सँगै बसे ।
केही बेरमा टाइली र अंकितबीच वादविवाद हुन थाल्यो । टाइलीले आफ्नै भाषामा सुरज उरावलाई बोलाई । उसले बोलाएपछि सुरज उराव, डाइलर भन्ने युवराज परियार, टिम्बा भन्ने सुकदेव उराव र मसमेत निजहरू भएको ठाउँमा गयौँ । हामी गएपछि पाँचैजनाले अंकितलाई लात्ती तथा मुक्काले कुटपिट गर्याैँ ।
उसको हातखुट्टा बाँधेर भुइँमा लडायौँ । सुरजले अंकितको दुवै हात पछाडि फर्काई बाँधिदियो । टिम्बा भन्ने सुकदेव उरावले दुवै खुट्टा बाँधेपछि सुरजले भेस्टले टाउको छोपी समात्यो । अनि टाइलीले घाँटी रेट्न थालिन् । युवराजले अंकितको पेटमा खुकुरीले प्रहार गर्दा ऊ छटपटाउन थाल्यो । घिसार्दै, बोक्दै धानबारीभित्र उसलाई पुर्यायौँ । टाइलीले पुनः सोही चुप्पीले अंकितको घाँटी रेटेपछि निजको मृत्यु भयो।
टाइलीले मलाई अंकितको सामसुङ मोबाइल दिई यो तिमी राख्नु र घटनाबारे कसैलाई नभन्नु भनी । उसले यस्तो भनेपछि मैले उक्त मोबाइल लिएँ । त्यसपछि लास सोही धानबारीमा छाडी उसको ट्राउजर र जुत्ता सोही धानबारीमा फालिदियौँ । हत्यामा प्रयोग भएको चुप्पी र खुकुरी नजिकैको बाँस झ्याङमा लुकाई आ–आफने घरतर्फ गयौँ । भोलिपल्ट टाइलीले बाँस झ्याङमा लुकाएका खुकुरी तथा चुप्पी ल्याई राख्नुपर्छ भनेकी हुँदा टिम्बा र म गएर खुकुरी र चुप्पी ल्यायौँ । खुकुरी टिम्बाले सुरजलाई दिन्छु भनी लग्यो, धोई पखाली मैले आफ्नो घरमा लगिराखेँ ।



