आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार उमेदवारबाट मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । र, दलहरू उमेदवारी दर्ताको प्रक्रियामा जुटेका छन् ।
पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि कात्तिक ५ गते को मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् ।
पहिलो चरणको निर्वाचनमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुङगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा हुनेछ । र, ती जिल्लामा ठूला दलहरूले उमेदवारी टुंग्याएका छन् ।
प्रमुख तीन दल गठबन्धन बनाएर चुनावी स्पर्धामा होमिएपछि अन्य साना दलले अन्यौलमा रहेका छन् । कतिपयले उमेदवारी नदिने सोच बनाएका छन् ।
मनोनयन दर्ता कार्यक्रम बिहान १० देखि अपराह्न ५ बजेम्म चल्नेछ । उम्मेदवार हुन चाहनेले जिल्ला सदरमुकाममा खोलिएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउनु पर्नेछ ।
यी हुन् ‘हेवीवेट’
पहिलो चरणको निर्वाचनमा एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराई मैदानमा खडा छन् । उनी ताप्लेजुङबाट निर्वाचनमा होमिन लागेका हुन् । यसअघि काठमाडौँ–६ बाट दुई पटक पराजित भट्टराईको अग्नि परीक्षासमेत हो यो ।
त्यस्तै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराका लागि पनि यो निर्वाचन गर या मरको अवस्था छ । ०४८ सालमासमेत सिन्धुपाल्चोक क्षेत्र नम्बर–३ बाट निर्वाचन जितेका राणा ०६४ र ०७० को निर्वाचनमा भने पराजय बेहोरे । दुईवटा क्षेत्रमा खुम्चिएको सिन्धुपाल्चोकमा उनी २ नम्बर क्षेत्रबाट चुनाव लड्दैछन् । र, उनलाई टक्कर दिँदैछन् एमाले–माओवादी केन्द्रका साझा उमेदवार शेरबहादुर तामाङले । तामाङ ०७०मा सोही क्षेत्रबाट विजयी उमेदवार हुन् ।
निर्वाचन ‘फलामको च्युरा’सहर भएको छ नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई । यसअघि मकवानपुर–१ बाट पराजित नारायणकाजी श्रेष्ठ एमाले–माओवादीको साझा उमेदवारका रूपमा गोरखा–२बाट उठिदिँदा भट्टराईको पसिना छुटेको हो । केही समय वामगठबन्धनमा रही टिकट नपाउने भएपछि चुनाव जित्नकै लागि कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनतिर लागेका भट्टराईको आगामी राजनीतिक यात्रा यही चुनावले निर्धारण गर्नेछ ।
त्यस्तै सिन्धुपाल्चोक–१मा पनि चुनावी स्पर्धा यसपटक निकै रोचक हुनेछ । एमाले–माओवादीका तर्फबाट उमेदवार बनेका अग्नि सापकोटा र बहालवाला सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतबीच त्यहाँ रोचक भिडन्त हुँदैछ ।
माओवादी केन्द्रका नेता वर्षमान पुन र जनार्दन शर्मा रोल्पा र रुकुमबाट चुनाव उठ्दैछन् । तर त्यो सुरक्षित ठाउँ हो । त्यहाँको चुनावमा खासै रोचक नहुने विश्लेषण गर्न सकिन्छ ।




