काठमाण्डौ । संयुक्त वाम गठबन्धनको नेतृत्व गरिरहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कुनै पनि बहानामा मंसिरको निर्वाचन सार्न नहुनेमा जोड दिएका छन् । बिहीबार राजधानीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ती पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सो खबरदारी गरेका हुन् ।
बुधबार सर्वोच्च अदालतले दिएको आदेश सम्बन्धमा केन्द्रीत रहेको गरिएको सो पत्रकार सम्मेलनमा नेताहरुले कुनै पनि बहानामा निर्वाचन सारिए त्यसले मुलुकलाई राम्रो नगर्ने बताए । उनीहरुले सर्वोच्चको पछिल्लो आदेशले चिसो पसेको समेत बताए ।
पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओलीले मंसिरमा हुने निर्वाचनलाई कुनै पनि बहानमा सार्ने वा टार्ने काम गरे लोकतान्त्रिक अभ्यासविरुद्ध र नेपाली जनताको हित विपरित हुने बताए । अध्यक्ष ओलीले अब सानातिना कुरामा अल्झेर बस्ने समय नभएको स्पष्ट पारे ।
अध्यक्ष ओलीले नेपाल र नेपालीहरुले पाएको लोकतन्त्र कसैले आफुहरुलाई किस्तीमा राखेर दिएको उपहार नभएको बताउँदै चुनाव विथोल्न खोजे आफुहरुलाई स्वीकार्य नहुने बताए । यदि सरकारले निर्वाचन सार्यो भने तपाईहरुले कस्तो खालको आन्दोलन सुरु गर्नुहुन्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा अध्यक्ष ओलीले सिंगो मुलुक निर्वाचनमा होमिइसकेको बताउँदै त्यसतर्फ सोच्न नहुने बताए ।
त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको पछिल्लो आदेशले सबैमा चिसो पसेकोले यसमा सबै सजग र सतर्क हुनुपर्नेमा जोड दिए । उनले यदि निर्वाचन सार्ने षडयन्त्र भएमा संसदको म्याद माघ ७ सम्मै छ भन्ने हेक्का राख्न समेत आग्रह गरे ।
उनले पटक–पटक प्रधानमन्त्री देउवासँग समेत मतपत्र छपाईका विषयमा छलफल भएको सहमतिमा पुगिसकेको र एक्कासि अहिले अदालतले दिएको आदेशले सबैलाई झस्काएको बताए । सबै राजनीतिक दलहरु निर्वाचनका लागि अघि बढिसकेको बताउँदै उनले संविधानको मर्मअनुसार अहिले संसद स्थगित मात्र भएको र त्यो ब्युँतन सक्ने संकेत समेत दिए ।



