निर्वाचनलाई प्रभावित गर्ने कुनैपनि काम नगर्न सरकारलार्इ एमाले –माओवादीले चेतावनी दिएका छन् । नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्समा संयुक्त पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो चेतावनी दिएका हुन् ।
राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावविरुद्ध अन्यौल सिर्जना नगर्न सबैमा अपिल गरेका छन् । उनीहरुले मंसिर १० र २१ गतेकालागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रक्रिया अगाडि बढिसकेकाले त्यसविरुद्ध षड्यन्त्र नगर्न र भ्रम सृजना गरी आम नागरिकलाई अन्यौलमा नपार्न अपिल गरे ।
‘निर्वाचनलाई घोषित समयमा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दलहरु तथा नेपाली जनताको साझा कर्तब्य हो,’ संयुक्त पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा भनिएको छ, ‘निर्वाचन प्रक्रिया तीब्र रुपमा अगाडि बढ्दै उम्मेदवारहरु प्रचार प्रसारमा जुटिरहेको स्थितिमा निर्वाचनका सम्बन्धमा कहीं कतैबाट पनि कुनैपनि किसिमको भ्रम, अन्योल र अवरोध सिर्जना हुनुहुँदैन ।’
वाम गठबन्धन बनाएर चुनावी अभियानमा सँगै निस्किएका ओली र दाहालले चुनाव प्रभावित भए लोकतान्त्रिक अभ्यास अवरुद्ध हुने, लोकतान्त्रिक प्रणाली कमजोर हुने बताए । पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्दका अध्यक्ष प्रचण्डले दलहरुकै सहमतिमा एउटै मतपत्र बनाउने निणर्य भएको र त्यही अनुसार निर्वाचन आयोगले काम अगाडि बढाकाे जानकारी दिए ।
कार्यक्रममा दुवै पार्टीका अध्यक्षसहित नेता माधवकुमार नेपाल,झलनाथ खनाल, नारागणकाजी श्रेष्ठ, रामबहादुर थापा, कृष्णबहादुर महरा, ईश्वर पोखरेल, अमृतकुमार बोहोरा, पम्फा भुसाल, वर्षमान पुनलगायतका शिर्ष नेताहरुको सहभागिता रहेको छ ।




