निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि केन्द्रीयस्तरको दुई दिने ‘निर्वाचन सुरक्षा व्यवस्थापन प्रशिक्षण’ कार्यक्रम आजदेखि काठमाडौंमा सुरु गरेको छ । कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आयोगको पूर्व निर्धारित कार्यक्रमअनुसार समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको र प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपत्रको छपाइ कार्य आजैबाट शुरु हुने बताएका थिए ।
डा. यादवले व्यवस्थापकीय र प्राविधिक दृष्टिकोणबाट ज्यादै जटिल भए पनि राष्ट्रको आवश्यकता, राजनीतिक दलको सहमति र सरकारको आग्रहमा प्रतिनिधिसभा र प्रदेशसभाको दुुवै निर्वाचनलाई एकैसाथ गर्न आयोगले सहमति जनाएको उल्लेख गरे ।
‘सर्वोच्चको निर्णय आयोगलाई प्राप्त भएकाे छैन’
डा. यादवले भने,‘निर्वाचनको बारेमा अन्योलका कुरा पनि आएका छन्, आयोगमा कुनै अन्योल छैन, तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न हामी प्रतिबद्ध छौँ ।’ निर्वाचन तोकिएकै मितिमा सफलतापूर्वक सम्पन्न गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले पटक पटक प्रतिबद्धता जाहेर गरेको र सर्वाेच्च अदालतको आदेशको सम्मान गर्दै आयोगले प्राविधिक समिति गठन गरी त्यसले दिएको प्रतिवेदनको आधारमा आयोग अगाडि बढेको जानकारी दिए । डा. यादवले पछिल्लो पटकको सर्वोच्च अदालतको निर्णय आयोगलाई प्राप्त भइनसकेको जानकारी दिए ।
प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्धारित मितिमै निर्वाचन गर्न पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान भई प्रचार प्रसारको काम शुरु भइसकेको बताए । उनले उम्मेदवारहरुलाई आयोगले तोकेको अधिकतम खर्चसीमा भन्दा कम खर्च गर्न आग्रह पनि गरेका छन् ।
पहिलो चरणको उम्मेदवारी मनोनयनका सिलसिलामा राजनीतिक दल र सुरक्षा निकायबाट निर्वाह गरेको भूमिका ज्यादै सराहनीय रहेको भन्दै प्रशंसा गरे । प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनका समयमा हुन सक्ने लोभ, लालच, डर÷धम्कीजस्ता क्रियाकलाप रोक्न तथा आचार संहिताको पालना गर्ने विषयमा सुरक्षाकर्मीलाई व्यावसायिक मर्यादाभित्र रहेर काम गर्न निर्देशन दिए ।
निर्वाचन आयुक्त सुधीरकुमार शाहले यो वर्ष निर्वाचन वर्ष भएकाले अहिलेको राष्ट्रिय लक्ष्य भनेको नै शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराएर संविधान कार्यान्वयनका लागि बलियो जग स्थापना हुने बताए ।



