राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले झापा क्षेत्र नं ३ कुनै पनि हालतमा आफुले नछाड्ने बताउनु भएको छ । काङ्ग्रेस आफैले हस्ताक्षर गरेको गठबन्धनको सम्झौता आफै च्यातेको लिङदेनले बताउनुभयो ।
नेपाली कांग्रेसले झापा क्षेत्र नं ३ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उठाउने निर्णय गरेपछि कांग्रेस–राप्रपा गठबन्धन धरापमा परेको हो । यो संगै लिङदेनले कांग्रेससँगको गठबन्धन टुटेको घोषणा गर्नुभएको छ ।
नेपाली काङ्ग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले क्षेत्र नं ३ राप्रपालाई छाड्न अस्वीकार गर्दै आफै उम्मेद्वार बन्ने अडान नछाडेपछि गठबन्धनमा हलचल आएको हो । नेपाली काङ्ग्रेससँग देशव्यापी चुनावी गठबन्धनमा रहेको राप्रपाले झापा क्षेत्र नं ३ मा महामन्त्री लिङ्देनलाई साझा उम्मेद्वार बनाउने सम्झौता गरेको थियो । आइतबार लिङ्देनले गरेको ट्विटमा भनिएको छ ,भ्रममा नपरौं झापा क्षेत्र नं ३बाट मेरो उम्मेदवारी कायम रहन्छ कुरा यति हो ।एउटै गठबन्धनको २ उम्मेदवार भएपछि कांग्रेससंगको गठबन्धन टुट्यो ।
लिङ्देनले ट्विट गर्दै काङ्ग्रेससंगको गठबन्धन टुटेको जानकारी दिनुभएको हो । उनले कांग्रेसबाट धोका भएको ठहर गर्दै झापा–३ मा आफूले दिएको उम्मेदवारी कुनै हालतमा नछाड्ने अडान दोर्याउनु भएको छ ।
झापा क्षेत्र नं ३ मा राप्रपालाई छाडिदिने सहमति लत्याउनु काङ्ग्रेसको ठूलो भूल भएको छ । लिङ्देनले भन्नुभयो , चुनावमा यहि क्षेत्रबाट सिटौलालाई जितेर काङ्ग्रेसलाई सबकको पाठ सिकाउंछु । लिङ्देनले भन्नुभयो , काङ्ग्रेसले धोकादियो अब अरुसंग राप्रपाको गठबन्धन हुन सक्छ ।



