(पार्थ मण्डल) झापा । आसन्न दोस्रो चरण अन्तरगत यही मंसिर २१ गते हुने गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि मनोनयनपत्र दर्ताको तयारी झापामा लगभग पूरा भएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन झापा प्रशासन यसको तयारी समेत सुरु गरेको । यही कार्तिक १६ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य उम्मेदवारको मनोनयन दर्ता हुन लागेको भन्दै मुख्य निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय झापा र झापा प्रशासन अहिले यसको व्यवस्थापनमा जुटेका छन् । यसै बिषयमा निर्वाचन कार्यालय झापाले प्रशासन कार्यालयमा राजनीतिकदल तथा सरोकारवालाहरुसंग निर्वाचन आचारसंहिता तथा अन्य बिषयहरुको जानकारी मूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । निर्वाचन अधिकारी गोपाल आचार्यले निर्वाचनको बेला उम्मेदवार र राजनीतिकदलले आ—आफ्नो क्षेत्रबाट पालना हुनुपर्ने बिषय वस्तुको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । आउदै गरेको निर्वाचनमा मनोनयनपत्र दर्ता देखि लिएर विजय जुलुस सम्मको अवस्थामा हुने नियमको बारेमा निर्वाचन आयोगले जारी गरेको कार्यपत्र प्रस्तुत गर्दै निर्वाचन अधिकारी आचार्यले जानकारी गराएका थिए । झापा जिल्लामा मनोनयपत्र दर्ताको तयारी यस्तो छ ।
कार्तिक १६ गते हुने मनोनयन दर्ताको कार्यतालिका यस्तो छ –
निर्वाचन आयोगले कार्तिक १६ गते उम्मेदवार मनोनयनपत्र दर्ता लागि विहान १० देखि बेलुका ५ बजे सम्मको समय तालिका सार्वजनिक गरिसकेको छ । सो समय तालिका बारेमा प्रशासन कार्यालय झापामा बसेको राजनीतिकदल तथा सरोकारावालाको बैठकले मनोनयपत्र दर्ता कार्यक्रमलाई सहज र सरल बनाउन विभिन्न बुदाँमा लिखित सम्झौता गरेको छ । मनोनयनपत्र दर्ता गराउने आउने राजनीतिक दलका उम्मेदवारलाई समयतालिका र कोणसभा गर्ने स्थान तोकेको छ । राप्रपा लगायतको गठबन्धनले विहान १० देखि ११ बजेसम्म र कोणसभा मेची रंगशाला भद्रपुर भित्र, राजपासहितको गठबन्धनले विहान ११ देखि साढे १२ बजेसम्म र कोणसभा खाद्य गोदामको मैदानमा, नेपाली काँग्रेससहितको गठबन्धनले दिउँसो साढे १२ बजेदखि अपरान्ह् २ बजेसम्म र कोणसभा एुसपी मोड अगाडी, एमाले–माओवादीसहितको गठबन्धनले २ देखि ४ बजेसम्म र कोणसभा वीरेन्द्र उच्च मावि पछाडिको खुल्ला मैदानमा र साना दल तथा स्वतन्त्रले समय अनुकुल मिलाएर र कोणसभा भने नेपाल विद्युत प्राधिकरण अगाडीको मैदानमा बिना मञ्चसहित सवारीसाधन पार्किङ् मात्र हुने ।
कुन क्षेत्रका उम्मेदवारले कहाँ मनोनयनपत्र दर्ता गर्ने –
मनोनयापत्र दर्ताका लागि झापाको सदरमुकाम भद्रपुरमा मुख्यसहित पाँच वटा निर्वाचन कार्यालय स्थापना भइसकेको छ । जिल्ला समन्वय समितिको कार्यालयमा झापा क्षेत्र १ र ३ को कार्यालय स्थापना गरिएको छ । झापा क्षेत्र नम्बर २ को जिल्ला शिक्षा कार्यालय, क्षेत्र नम्बर ४ को जिल्ला स्काउट कार्यालय र क्षेत्र नम्बर ५ को जिल्ला हुलाक कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएको हो । आयोगले तोकिएको बमोजिम झापा क्षेत्र नम्बर ३ मा मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायाधिस खिलानाथ रेग्मी, निर्वाचन अधिकृततर्फ सर्वोच्च अदालत काठमाडौका इजलास अधिकृत शिवप्रसाद पराजुलीलाई झापा क्षेत्र नम्बर १, सर्वोच्चका उपरजिष्ट्रार इन्दिरा शर्मालाई झापा क्षेत्र २, सर्वोच्चका इजलास अधिकृत प्रेम खड्कालाई झापा क्षेत्र नम्बर ४ र इजलास अधिकृत शकुन्तला कार्कीलाई झापा क्षेत्र नम्बर ५ मा खटाएका छन् ।
मनोनयनपत्र दर्ताको सुरक्षा व्यवस्था यस्तो छ –
झापाका प्रहरी प्रशासन मनोनयनपत्र दर्तालाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउने कसरतमा जुटेका छन् । पाँच वटै निर्वाचन क्षेत्रबाट राजनीतिकदलसहितको वहृत र्याली सदरमुकाम भद्रपुर आउने भएपछि त्यसको सुरक्षा व्यवस्थाको रणनीति जिल्ला सुरक्षा समितिले तयार गरिसकेको छ । यस बर्ष टे«ड युनियन चोक आसपासमा मञ्च बनाएर कोणसभा नगर्ने व्यस्था गरेकोले भिडभाड नियन्त्रणमा केही सहज हुने सुरक्षा समितिको ठहर छ । जिल्ला सुरक्षा समितिले मनोनयन पत्र दर्ताका दिन सदरमुकाममा आयोजित हुने दलहरुको कोणसभा स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने भएको छ । मनोनयनपत्र दर्ता गराउने आउने दलसहितको र्यालीलाई जिल्ला समन्वय समितिको कार्यालय गेट अगाडी र प्रशासन कार्यालय गेट अगाडी रोक्ने व्यवस्था गरिएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । दुवै गेटमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइने छ । उम्मेदवार, प्रस्तावक र समर्थकलाई मात्र निषेधित क्षेत्रमा भित्र प्रवेश गर्न दिइने प्रहरी कार्यालय झापाका एसपी बिष्णुकुमार केसीले जानकारी दिए । सदरमुकाममा आउने सवारीसाधनको व्यवस्थापनका लागि ट्राफिक प्रहरी समेत परिचालन गरिने एसपी केसीले बताए ।



