भरतपुर, १८ कात्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनले गर्दा नेपाली कांग्रेसलाई ठूलो झट्का लागेको बताएका छन् ।
चितवनको शिवनगरमा शनिबार बिहान आयोजित चुनावी कार्यक्रमर्लाइ सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादी कन्द्र एकाएक एमालेसँग मिल्न जाँदा कांग्रेसलाई झट्का लागेको बताएका हुन् । दैनिक नेपालमा खबर रहेको छ।
‘मैले र केपी ओलीजीले नेपाली कांग्रेसका साथीहरूलाई झट्का दिएका छौँ’, उनले भने, ‘उहाँहरू पनि सचेत बन्नु पर्छ । सचेत बन्नु भएन भने नोक्सान नेपाली कांग्रेस र त्यो पार्टीका नेताहरूलाई हुन्छ ।’
नेपाली राजनीतिमा एमाले र माओवादी केन्द्र मिल्नु प्राकृतिक हुने भन्दै अध्यक्ष प्रचण्डले भने, ‘कांग्रेससँग माओवादी वा एमालेले तालमेल एवम् गठबन्धन गर्नु प्राकृतिक सिद्धान्तको नियम विरुद्ध हुन्छ । एमाले र माओवादीको वाम गठबन्धन एकदमै ठीक छ ।’
एमाले र माओवादीबीच पार्टी एकीकरण गरेर दश वर्षमा मुलुक बनाउने सपना आफूले लिएको प्रचण्डले बताए ।
‘एमाले र माओवादी पार्टी एकीकरण हुन्छन् । मैले ९ महिना प्रधानमन्त्री हुँदा धेरै काम गरेको छु । दश वर्षसम्म सरकारको नेतृत्व गर्न पाएँ भने अझ कति काम गरुँला ?’, उनले भने, ‘काम गर्ने अवसर मलाई सबैले दिनु हुनेछ ।’



