काठमाडौं । चुनावी सुरक्षाका लागि नेपाली सेनाको तयारी नयाँ रणनीतिमा अघि बढेको छ । नेपाली सेनाले निर्वाचनका बेला उम्मेदवारले आफ्नो सुरक्षा अवस्था आकलन गर्दै सबै क्षेत्रमा उपस्थिति देखाएको छ । सबै उमेदवारलाई निगरानी गर्दै सुरक्षा विश्लेषण गरे पनि आफूमाथि पर्न सक्ने खतरा व्यक्ति आफैंलाई थाहा हुन सक्ने भएकाले सुरक्षा सचेतता अपनाउन सेनाले आग्रह गरेको हो ।
सुरक्षासम्बन्धी सानो सूचना प्रहरीबाट लिने र त्यस अनुसार रणनीति बनाउनेगरि तयारी गरेको सैनिक अधिारीले जानकारी दिए । सेनाको उच्च स्रोतका अनुसार सुरक्षा खतरामा रहेका उम्मेदवारलाई सेनाले व्यक्तिगत रूपमा नै जानकारी दिँदै आफूले दिएको सुरक्षाबारे अवगत गराएको छ । प्रमुख नेता र सुरक्षा खतरामा रहेको सूचना पाएका नेतालाई विशेष निगरानी गर्ने योजना बनाएको स्रोतले बताएको छ।
शसस्त्र प्रहरी र नेपाल प्रहरीको अलावा सादा पोशाकका सेना पनि सुरक्षामा खटिनेछन् । हरेक निर्वाचनको मुखमा निर्वाचनविरोधी केही गतिविधि हुने हुनाले सुरक्षा निकाय मात्र होइन, उम्मेदवार आफैं सचेत रहनुपर्नेमा सबै सुरक्षा निकाय सहमत हुँदै त्यस्तो सुझाव दिइएको हो । चुनावका लागि केन्द्रदेखि जिल्ला तहसम्म रिजर्भ फौज, बम डिस्पोजल टोली, मतपत्र छपाइको सुरक्षा, मतपत्र, मतपेटिका तथा अन्य सामग्री ढुवानी, हवाई पेट्रोल तथा स्ट्राइकिङ फौज, हरेक पृतनामा हेलिकप्टर राख्ने लगायतको काम सेनाले गरिसकेको छ ।



