डडेल्धुरामा देउवाले हार्न सक्ने ४ आधार
प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव हार्ने कुनै खतरा छैन भन्ने दाबी गर्न सकिँदैन । यसपालि देउवासमक्ष केही चुनौतीहरु पनि छन् । मुख्यतः प्रधानमन्त्री देउवाले चुनाव हार्छन् भनेर दाबी गर्नेहरुले चारवटा आधारहरु प्रस्तुत गर्ने गरेका छन्ः
१. स्थानीय निर्वाचनको आँकडा र वाम गठबन्धनः नेपाली कांग्रेस गत स्थानीय चुनावमा एमाले र माओवादीको कुल मतभन्दा ८ हजार ३३७ ले पछि परेको छ ।
स्थानीय तहमा (अध्यक्ष र प्रमुखका आधारमा) कांग्रेसले १९ हजार ५२३ मत पाएको थियो । एमालेले १६ हजार ९१५ र माओवादीले १० हजार ९४५ मत ल्याएको थिए । एमाले र माओवादीको मत जोड्दा २७ हजार ८६० पुग्छ, जबकि कांग्रेसको १९ हजार मात्रै छ ।
सरसर्ती हेर्दा देउवाले स्थानीय चुनावमा एमाले र माओवादीलाई मतदान गरेका करिब ४ हजार मतदाताको मत आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ । उसो त डडेल्धुरामा ६ हजार ८ सय ४ जना मतदाता थपिएका छन् । तर, थपिएका यी सबै मतदाता कांग्रेसका मात्रै होइनन् ।
२. ओरालो लागेको लोकप्रियताः पछिल्लो समयमा प्रधानमन्त्री देउवा विभिन्न ‘स्क्याण्डल’ हरुले गर्दा विवादमा आइरहेका छन् ।
कतिपयले देउवालाई ६४ जना जम्बो मन्त्रीमण्डल बनाइरहँदा ‘असक्षम प्रधानमन्त्री’को ताज पनि पहिर्याएका छन् । यिनै विभिन्न कुराले गर्दा उनको व्यक्तित्वमा दाग लागेको छ र उनको लोकप्रियता घटेको छ । यही विषयमा एक सामाजिक अभियन्ता कैलाश पनेरु भन्छन्– ‘अब देउवालाई गाह्रो हुनेछ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाको ‘तपाईँ बढ्ता बोल्दै हुनुहुन्छ’ काण्ड चर्चामा रह्यो । सप्तरीको भेडिया र मयनाकरेडी महुली खोलामा आएको बाढीको स्थलगत भ्रमणका लागि पुगेका पीडितलाई राहत प्याकेज घोषणा गर्दा उनले अर्कै सामग्री वाचन गरे ।
संयुक्त राज्य अमेरिकाको एक पत्रकार सम्मेलनमा झुक्किएर अंग्रेजी बिगारेको विषय पनि जिल्लामा चर्चामा छ ।
३. क्रमभंग गर्ने मतदाताको मनसायः डडेल्धुराका मतदाता अब आफ्ना प्रतिनिधि परिवर्तन चाहन्छन् भन्ने स्थानीय निर्वाचनको परिणामले देखाइसकेको छ । डडेल्धुरामा अब चार–चार पटक प्रधानमन्त्री भइसकेका देउवा बाहेक अरुलाई पनि चान्स दिनुपर्छ भन्ने चर्चा निकै व्यापक छ ।
‘वाम एकताका कारण अब देउवा प्रधानमन्त्री हुँदैनन् । र, उनी अब बुढो पनि भइसके’ स्थानीय युवा भुवन भण्डारीले भने ‘अब जिल्लामा पालो अरुलाई दिनु्पर्छ । यसै विषयमा कानुन विज्ञ विष्णु भट्ट भन्छन् ‘अब डडेल्धुरावासी परिवर्तन चाहान्छन ।’
४. देउवाको व्यस्तताः शेरबहादुर देउवा देशका प्रधानमन्त्री हुन् । सँगसँगै उनी नेपाली कांग्रेसका सभापति पनि हुन् । प्रधानमन्त्री भएका कारण उनको व्यस्त दैनिकी हुने गरेको छ । उनीमाथि सारा देशको जिम्मेवारी छ ।
साथै चुनावी प्रचार प्रसारमा उनलाई आचारसंहिता लाग्छ र सधैंभरि हेलिकोप्टर चढ्न पनि पाइँदैन । साथै उनी पार्टी सभापति भएकाले पार्टीका लागि पनि समय दिनुपर्ने हुन्छ । टिकट प्रक्रिया ढीलो टुङगिएका कारण देउवा मनोनयन दर्ता गराउन गृहजिल्ला आउन भ्याएनन् र बारेस गणेश पन्तमार्फत उनले मनोनयत दर्ता गराए ।
यिनै कारणहरुले देउवाले जिल्लामा समय दिन भ्याउँदैनन् र यो नै उनको हारको कारण नै बन्न सक्छ भन्ने विपक्षीहरुको तर्क छ ।
व्यस्त दैनिकीका कारण देउवाले मतदातालाई रिझाउन सकेनन् भने उनको भोट घट्न सक्छ ।
मनोनयन दर्ताकै बेला देउवा जिल्ला नआएको भन्दै एक कांग्रेस कार्यकर्ताले गुनासो गरे– ‘देउवा आफैं आएको भए राम्रो हुने थियो ।’
आशिष मल्ल ठकुरीको चुनावी बिशलेषण अनलाइनखबरबाट लिइएको ।



