काठमाडौं, कात्तिक २०
नविकरण पनि नगरेको र भाडा पनि नदिएको भन्दै नेपालका एक मात्र पूर्व राष्ट्रपति बस्ने घर खाली गर्न सार्वजनिक सुचना निकालिएको छ ।
सरकारले गणतान्त्रिक नेपालका पहिलो राष्ट्रपति रहेका डाक्टर रामवरण यादवलाई ललितपुर बागडोलस्थित निजी व्यक्तिको घरलाई भाडामा लिएर राख्दै आएको थियो । तर, सो घरका धनी रविभक्त विष्टले साउनदेखी घरबहाल सम्झौता नवीकरण नगरेको र त्यसयताको भाडा पनि नदिएको भन्दै सर्वजनिक सूचना जारी गरेका हुन् । उनले राष्ट्रिय पत्रिका मार्फत १५ दिने सार्वजनिक सूचना जारी गर्दै घर खाली गरिदिन भनेका छन् ।

ललितपुर महानगरपालिका चार बागडोलमा रहेको घरमा २०७२ साल कात्तिक २ गतेदेखि पूर्व राष्ट्रपति यादव बस्दै आउनु भएको छ । घरधनी विष्टले सुचनामा राष्ट्रपति कार्यलय र पूर्व राष्ट्रपतिको नाम नै किटान गरेर घर खाली गर्न भन्दै नगराए कानुनी उपचारमा जाने चेतावनी दिएका छन् । विष्टले सम्झौता नविकरण नगरेको, बहाल रकम नदिएको र विजुलीको विल रकम समेत भुक्तानी नगरी जवरजस्ती रुपमा बस्ने बसाउने कार्य भईरहेको उल्लेख गरेका छन् ।
यसअघि पनि यही विषयमा समचार सार्वजनिक भएपछि सरकार र सम्वन्धित पक्षको चर्को आलोचना भएको थियो । पूर्व राष्ट्रपतिको मान मर्दनको ख्यालै नगरी यस्ता गम्भिर विषयमा सार्वजनिक सुचना जारी गर्नुपर्ने अवस्थासम्म पुग्नु नेपाल र नेपालीका लागी लाजमर्दो विषय भएको सम्वन्धित जानकारहरु बताउछन् ।




