काठमाडौं, २० कात्तिक– दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दुई क्षेत्र रहेको भक्तपुरमा चुनावी चहलपहल शुरु भएको छ ।
भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललाई मुख्य दाबेदारको रुपमा लिइएको छ । जहाँ नेमकिपाको राम्रो प्रभाव रहेको छ ।
२ नम्बर निर्वाचन क्षेत्रमा भने २३ वर्षपछि राजनीतिमा फर्किएका पूर्वसभामुख समेत रहेका नेपाली कांग्रेसका नेता दमननाथ ढुंगाना र वाम गठवन्धनका तर्फबाट पूर्व उद्योगमन्त्री समेत रहेका महेश वस्नेत चुनावी मैदान छन् । त्यस्तै नेमकिपाले भक्तपुर २ मा अनुराधा थापामगरलाई उम्मेदवार बनाएको छ । लोकान्तरमा खबर रहेको छ।
दोस्रो संविधानसभा निर्वाचनमा भक्तपुरको २ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले जीत हात पारेको थियो भने मतपरिणामका आधारमा नेमकिपा दोस्रो र नेकपा एमालेले तेस्रो स्थान हासिल गरेका थिए ।
तर स्थानीय तहको चुनावमा भने दुईवटा नगरपालिका रहेको यस क्षेत्रमा नेकपा एमालेले जीत हात पारेको थियो ।
सूर्यविनायक र मध्यपुर ठिमी नगरपालिकामा एमालेले जितेको थियो । जसका आधारमा यो निर्वाचन क्षेत्रमा एमालेका महेश वस्नेत बलिया उम्मेदवारका रुपमा रहेका छन् । उनी भक्तपुरका स्थानीयसमेत हुन् ।
तर लामो समयपछि सक्रिय राजनीतिमा आएका ‘हाई प्रोफाइल’ दमननाथ ढुंगानासँग वाम गठवन्धनका उम्मेदवार वस्नेतको जोर नचल्ने कांग्रेसी नेताहरुको विश्लेषण छ ।
यस्तो छ हिसाव
भक्तपुरका २ नम्बर निर्वाचन क्षेत्र अन्तर्गतको सवैभन्दा ठूलो नगरपालिका सूर्यविनायक नगरपालिका हो । सूर्य विनायक नगरपालिकामा १० वडा रहेका छन् भने मध्यपुर ठिमीमा ९ वडा रहेका छन् ।
सूर्यविनायक नगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवारले १२ हजार १ सय ३५ मत पाएका थिए । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उम्मेदवारले १० हजार १ सय ७५ मत पाएका थिए भने माओवादी केन्द्रका उम्मेदवारले १ हजार ३ सय ८४ मत प्राप्त गरेका थिए ।
मध्यपुर ठिमी नगरपालिकाको मेयरमा पनि नेकपा एमालेका उम्मेदवार नै विजयी भएका थिए । जहाँ एमालेले १३ हजार ९ सय ६० मत पाउँदा नेपाली कांग्रेसले १० हजार ८ सय ४६ मत पाएको थियो । माओवादी केन्द्रले १ हजार भोट पाएको थियो ।
यसहिसावमा वाम गठवन्धनको २८ हजार ४ सय ४३ मत स्थानीय तहमा रहेको थियो । नेपाली कांग्रेसले २४ हजार १ सय ३५ मत पाएको थियो । यस हिसावमा वाम उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार भन्दा ४ हजार ३ सय ८ मतले अगाडि छन् ।
भक्तपुर २ नं क्षेत्रमा नेपाली काँग्रेसले प्रदेशसभा निर्वाचनमा युवा नेताद्वय प्रदेश सभामा १ मा अंगत खड्का र २ मा गणेशमान चक्रधरलाई मनोनयन गरेको छ ।
त्यसैगरी एमालेले प्रदेश सभामा १ मा शशिजंग थापा र २ मा राजेन्द्रमान श्रेष्ठलाई मनोनयन गरेको छ भने नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभा सदस्यमा प्रेम सुवाललाई र प्रदेशसभा सदस्य १ मा सरोजराज गोसाईं र २ मा प्रेमजन थापालाई मनोनयन गरेको छ ।



