काठमाडौं -प्रतिनिधि र प्रदेशसभा चुनावका लागि उम्मेदवारहरू विभिन्न पार्टीका माध्यमबाट मैदानमा रहेका छन् । सवै घरदैलो र चुनावी प्रचारमा अभ्यस्त रहेका छन् । विभिन्न उम्मेदवारमध्ये ‘ट्रेन्डिङ टप’ उम्मेदवार पनि छन् जो जीत्ने र चुनौतिका रूपमा खडा भएका छन् ।
रविन्द्र मिश्र काठमाडौं–१ बाट विवेकशील साझा पार्टीका तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार छन् । बीबीसी नेपाली सेवाको जागिर छाडेर राजनीतिमा हाम फालेका रवीन्द्रले साझा पार्टीको स्थापना गरेका थिए । पार्टीका तर्फबाट स्थानीय तहको निर्वाचनमा चुनाव चिन्हविना स्वतन्त्र उम्मेदवार बनाएर चुनावी परिक्षण गरेका रवीन्द्र प्रतिनिधि सभाको चुनावमा तराजु चुनाव चिन्हबाट लड्दैछन् । सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय जगत् र सर्वसाधारणका आँखामा पनि रवीन्द्रलाई आशावादी उम्मेदवारका रूपमा विश्लेषण गरिादै आएको छ ।
चुनावी अभियान र घरदैलोमा वयस्त रहेका रवीन्द्रको प्रतिष्पर्धा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग हुँदैछ । बलियो जनाधार रहेको प्रक्षेपण गरिएका रवीन्द्रले सिंहलाई निक्कै समस्यामा पारेको कांग्रेसभित्र विश्लेषण गरिन्छ । परम्परागत राजनीतिको विरोधमा ६ महिनाअघि देखि नै व्यापक प्रचार गरी चुनावी मैदानमा उत्रिएका कारणले रवीन्द्र ‘हेवी’वेट भएका नेता मानिएका छन् ।

ललितपुर–१ बाट उठेका पूर्वडिआइजी नवराज सिलवाल पनि ट्रेन्डिङका नेता हुन् । प्रहरी महानिरिक्षकमा बाटो छेकेर राज्यले अन्याय गरेपछि उनी नेकपा एमालेमा प्रवेश गरेका थिए । एमाले प्रवेश गर्नासाथ उनलाई ललितपुर–१ मा कडा स्पर्धीका रूपमा हेरिएको छ । सिलवाल नेपाली कांग्रेसका उम्मेदवार तथा अर्थराज्यमन्त्री उदय शमशेरविरूद्ध चुनावमा लडिरहेका छन् । प्रहरीमा कार्यरत रहँदा उनलाई बाटो छेकेका कारणले नै चर्चामा रहेका थिए । सिलवालसँग नागरिक सहानुभुती रहेका कारणले नै राणाका लागि उनी ठूलो चुनौति बनेका छन् । यसअघि राणाले जित निकालेको उक्त क्षेत्रमा सिलवाललाई बामपन्थी गठबन्धनको साथ रहेको छ ।
नागरिक तहमा बलियो छवि बनाउन सफल गगन थापा पनि चर्चित उम्मेदवार हुन् । संविधानसभाको निर्वाचनमा काठमाडौं–४ बाट जित निकालेका थापा नेकपा माओवादी केन्द्राध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारमा स्वास्थ्यमन्त्री थिए । आफ्नो मन्त्रीको कार्यकालमा उनले स्वास्थ्यमा सुधारात्मक काम गरेका कारणले चर्चामा रहेका थिए ।
डन कुमार श्रेष्ठ भनिने कुमार घैंटोको पक्षमा बोलेका कारणले थापालाई केही हच्किने अवस्था आएपनि थापा एमालेका राजन भट्टराईभन्दा उक्त क्षेत्रमा चर्चामा रहेका छन् । नेपाली कांग्रेससँग उनको आवद्धता रहेपनि सर्वसाधारणको सहानुभुति पाउने नेता मध्येका एक हुन्, थापा ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाविरूद्ध मोरङ–६ मा बामपन्थी गठबन्धनबाट उठेका पूर्वमन्त्री लालबाबु पण्डित पनि बलिया उम्मेदवार हुन् । डिभी र पिआरधारी कर्मचारीदेखि देशका विभिन्न व्यक्तिका विषयमा लिएको कडा कानुन, विधेयकका कारण उनी चर्चामा छन् । सरूवा बढुवामा हुने भ्रष्टाचारको विरोधमा आवाज उठाएको र साधगी जीवनका कारणले पनि नागरिक तहमा उनको बेग्लै चर्चा चलेको थियो । कांग्रेस अनुपातमा उक्त क्षेत्रमा बलियो भएपनि मत चोर्नसक्ने सम्भावनायुक्त नेता पण्डितलाई सरल रूपमा व्याख्या गर्न मिल्दैन ।
आफ्नो क्षेत्र र गाउँका लागि निक्कै ख्याती कमाएका व्यक्ति हुन्, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई । गोरखा–२ मा बामपन्थी गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठविरूद्ध भट्टराईलाई नेपाली कांग्रेसको पनि साथ छ । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा सर्वाधिक फलोअर रहेका नेता भट्टराईले प्रधानमन्त्री हुँदा काठमाडौंका सडक विकास र गोरखामा कार्यक्रम लगेका कारणले चर्चामा छन् । अस्थिर राजनीति गरेका कारण उनको विश्लेषण असहज भएपनि नागरिक तहमा उनको वेग्लै चर्चा यथावत् रहेको छ । श्रेष्ठका लागि भट्टराई भयानक चुनौति हुन् ।



