काठमाडौं, २२ कात्तिक – २०७० सालको संविधानसभा निर्वाचनमा चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर १० को चर्चा यसपटक कम छ ।
काठमाडौं १० मा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उम्मेदवारी परेकोले २०७० मा काठमाडौं १० को खुब चर्चा भएको थियो । तर यसपाली प्रचण्ड काठमाडौंलाइ छोडेर सरेर चितवन पुगेपछि काठमाडौं १० ओझेलमा परेको छ ।
२०७० सालमा काठमाडौं १० मा प्रचण्डलाई हराउँदै कांग्रेस नेता राजन केसी विजयी भएका थिए । २०७० सालमा केसीले २० हजार मत ल्याउँदा एमालेले १३ हजार मत ल्याएको थियो । माओवादीले चाहिँ १२ हजार मत ल्याएको थियो ।
तर, यसपालीको निर्वाचनमा पनि प्रचण्डलाई हराउने केसी कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नम्बर १० मा उम्मेदवार बनेका छन् । वाम गठबन्धनको तर्फबाट माओवादी नेता हितमान शाक्य क्षेत्र नम्बर १० मा उम्मेदवार बनेका छन् ।
तत्कालिन समयमा प्रचण्डलाई सजिलै हराएका केसीले यसपाली ‘डेन्जर जोन’मा परेका छन् । संघीय संरचना अनुसार काठमाडौं १० मा किर्तिपुर, चन्द्रागीरी र दक्षिणकाली नगरपालिका रहेका छन् । स्थानीय तहको चुनावमा किर्तिपुर नगरपालिका एमालेले मेयर पद जितेको थियो भने दक्षिणकाली र चन्द्रागीरीमा चाहिँ कांग्रेसले मेयर पद जितेको थियो ।
स्थानीय निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतलाई पार्टीको खास मत मान्ने हो भने काठमाडौं १० मा यसपाली कांग्रेस उम्मेदवार केसी वाम गठवन्धनका उम्मेदवार शाक्य भन्दा ११ हजार मतले पछि छन् ।
१० वटा वडा रहेको किर्तिपुरमा गठबन्धनले ११ हजार मत पाएको छ भने कांग्रेसले ६८ सय मत पाएको छ । गठबन्धनमा माओवादीले चाहिँ ३९ सय मत पात्रै पाएको छ ।
१५ वटा वडा रहेको चन्द्रागीरी नगरपालिकामा गठबन्धनले १५ हजार ७ सय मत पाएको छ भने कांग्रेसले ११ हजार मत पाएको छ । यहाँ पनि माओवादीले जम्मा ४५ सय मत ल्याएको थियो ।
दक्षिणकाली नगरपालिकाका ९ वटा वडामा कांग्रेसले कुल ४३ सय मत ल्याएको थियो भने गठबन्धले ६१ सय मत ल्याएको देखिन्छ । यहाँ माओवादीको मत २ हजार रहेको छ । स्थानीय तहको मतलाई हेर्ने हो भने गठबन्धनसँग कुल ३३ हजार ३० भोट रहेको छ भने कांग्रेसँग २२ हजार ३ सय ४४ मत देखिन्छ ।
संकटमा केसी
तत्कालिन समयमा प्रचण्डलाई हराएर चर्चा कमाएका केसी देउवा नेतृत्वको मन्त्रिमण्डलमा युवा तथा खेलकुद मन्त्री छन् । प्रचण्डलाई हराएसँगै पार्टीमा राम्रो प्रभाव जमाएका केसी यसपटक भने संकटमा छन् । तर एमालेको भोटलाई आफू तर्फ ल्याउने योजनामा कांग्रेस लागेको छ । हालसम्म कांग्रेसले क्षेत्र नम्बर १० मा घर दैलो वा चुनावी कार्यक्रम गरेको छैन ।
अहिलेसम्म केसी आन्तरिक गृहकार्यमै व्यस्त रहेका छन् । ‘कांग्रेसको तर्फबाट अहिलेसम्म १० नम्बरमा चुनावी कार्यक्रम शुरु भइसकेको छैन,’ चन्द्रागीरी नगरपालिकामा कांग्रेसका तर्फबाट मेयर निर्वाचित घनश्याम गीरीले भने, ‘आज १० नम्बर वडाको बैठक थियो । केही दिनमै चुनावी कार्यक्रम पनि शुरु हुन्छ ।’
उनका अनुसार अहिले केसीले कांग्रेसीहरुकाबीचमा आन्तरिक गृहकार्य गरिरहेका छन् । वडा वडामा प्रचार समिति बनाइरहेका छन् । अब केही दिनमै कांग्रेस एग्रेसीभ प्रचारमा लाग्ने छ ।
एमालेमा अडिएको शाक्यको भाग्य
माओवादीका तर्फबाट क्षेत्र नम्बर १० मा उम्मेदवार बनेका शाक्य त्यहाँका प्रभावशाली नेता हुन् । तत्कालिन समयमा प्रचण्डलाई चुनाव हराउन उनको ठूलै हात रहेको नेताहरु बताउँछन् । तत्कालिन समयमा बैद्य माओवादीमा गएका शाक्यले प्रचण्डलाई हराउने खेल खेलेका थिए । यसपाली उनी प्रचण्डले दिएको टिकटमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन् ।
कांग्रेससँग तुलनात्मक रुपमा कम भोट भएपनि कांग्रेसले आफ्नो मत बढाउनको लागि बाटो ‘क्लियर’ छ तर शाक्यलाई चाहिँ एमालेको भोट कांग्रेस जानबाट रोक्नुपर्ने चुनौती छ ।

गठबन्धनसँग ३३ हजार भोट भएपनि माओवादीसँग १० हजार मात्रै भोट छ । बाँकी सबै भोट एमालेसँगै रहेको छ । त्यसैले शाक्यले एमालेको भोट गठबन्धनमै अडाउन सकेनन् भने उनलाई पनि चुनौती हुने देखिन्छ ।
शाक्यले पनि अहिलेसम्म प्रचारका कार्यक्रमहरु गरेका छैनन् । उनी पनि अहिलेसम्म चुनावी गृहकार्यमै व्यस्त छन् । माओवादी नेतृ तथा शाक्यकी पत्नी अमृता थापाले अहिले आन्तरिक गृहकार्य चलिरहेकोले प्रचारको काम अझै सुरु नभएको बताइन् ।
शाक्यले माओवादीको तर्फबाट पार्वती थापा र एमालेको तर्फबाट रामशरण आले संलग्न रहेको चुनाव प्रचार समिति गठन गरेका छन् ।
लोकान्तर बाट सभार



