संघीय संरचनाअनुसार हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा धेरैको ध्यान गोरखा २ पट्टि पनि छ । किनकी त्यहाँ नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चुनावी मेदानमा छन् । कुनै बेला एउटै पार्टीमा रहेर राजनीति गरेका उनीहरु अहिले एकअर्काका प्रतिष्पर्धी बनेर मैदानमा उत्रिएका छन् । यही कारण पनि गोरखा २ मा के होला भन्ने जिज्ञासा सबैमा आउनु अस्भाविक होइन ।
भट्टराई गोरखा २ मा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार छन् । यता श्रेष्ठ वाम गठबन्धनका साझा उम्मेदवार ।
यसअघि भएको स्थानी चुनावको मतपरिणामलाई आधार मानेर विश्लेषण गर्दा पनि गोरखा २ को चुनावी भिडन्त अत्यन्तै रोचक र प्रतिष्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ । किनकी स्थानीय चुनावमा कांग्रेस र नयाँ शक्ति तथा एमाले र माओवादीले पाएको मतको अन्तर धेरै छैन । स्थानीय चुनावमा गोरखा २ अन्तर्गत पर्ने स्थानीय तहबाट कांग्रेसले कुल १० हजार ५ सय ८२ मत पाएको थियो भने नयाँ शक्तिले ५ हजार ३ सय ७१ मत पाएको थियो । यता सोहीनिर्वाचन क्षेत्रमा माओवादी केन्द्रले १० हजार ५ सय ७५ मत प्राप्त गर्दा एमालेले ४ हजार ८ सय ३६ मत पाएको थियो । समग्रमा लोकतान्त्रिक गठबन्धनसँग सो क्षेत्रमा १५ हजार ९ सय ५३ मत छ भने वाम गठबन्धनसँग १५ हजार ४ सय ११ मत छ । जम्मा ५ सय ४२ मतले भट्टराई अगाडि देखिएका छन् ।
दुवै उम्मेदवारले आ–आफ्नो जित दाबी गरिरहेपनि चुनवी प्रतिष्पर्धा भने निकै कडा हुने देखिएको छ । यसअघि भएका निर्वाचनमा भट्टराईले गोरखा २ बाट दुई पटक जित हासिल गरेका छन् भने श्रेष्ठ पहिलो पटक गोरखा २ बाट चुनाव लड्दैछन् ।
– enepalinews.com



