काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाका पछिल्ला चुनावी आश्वासनहरुको कडा आलोचना गरेका छन् । बिहीबार काठमाण्डौ क्षेत्र नम्बर ४ मा एमाले उम्मेद्वार राजन भट्टराईको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओली देउवाको कडा आलोचना गरेका हुन् ।
प्रधानमन्त्री देउवाले मधेसका जनतालाई कांग्रेसलाई जिताए संविधान संशोधन गरेर देखाउने आश्वसन दिइरहेको बताउँदै अध्यक्ष ओलीले संविधान संशोधन किन गर्ने ? भन्ने प्रश्न गरे ।
उनले भने, ‘प्रधानमन्त्री देउवाले मधेशतिर भाषण गर्दै हिडेको सुनेँ, कांग्रेसलाई जिताएर संविधान संशोधन गर्ने रे ! संविधान संशोधन किन गर्ने ? उताबाट आउनेलाई नागरिकता दिएर तुरुन्त राष्ट्रपति बनाउनका लागि ? नेपालमा कोही जन्मिएका छैनन् राष्ट्रपति र मुख्यमन्त्री बन्न ? कसलाई रिझाउन बोलेको ?’
ओलीले प्रधानमन्त्री देउवा भारतसँग बोल्न समेत डराएको आरोप लगाए । उनले भारतसँग डराएकै कारण सीमा नाकामा हजारौं ट्रक र ट्यांकरहरु रोकिएको बताए । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा भारतीय राजदूतसँग बोल्न डराएका कारण सीमा नाकामा हजारौं ट्रक र टयांकरहरु रोकिएको ओलीले बताए ।
उनले भने, ‘भारतसँग एक शब्द बोल्नुपर्यो भने ४ पटक चश्मा मिलाउनुपर्छ, ५ पटक दौरा तान्नुपर्छ, उहाँ भन्न सक्नुहुन्न, भन्ने मात्रै हो भने त्यो लाइन खुल्थ्यो तर, राजदूतसँग पनि भन्ने हिम्मत छैन, कठैबरी !’
अध्यक्ष ओलीले चुनावी प्रसंग कोट्याउँदै आफ्नो पार्टीका नेता राजन भट्टराईलाई भावी परराष्ट्रमन्त्री बनाउने संकेत समेत दिए । उनले भने, ‘राजन भट्टराईलाई तपाईंहरुले चुनाव जिताएपछि चाबहिलबाट संसद, संसदबाट चाबहिल फर्किनमात्र टिकट दिएको होइन,’
ओलीले भने, ‘उहाँ विदेश मामिलाको प्रखर विज्ञ हुनुहन्छ, माधव नेपाल प्रधानमन्त्री हुँदा विदेश मामिला सल्लाहकार बन्नुभयो, मेरो पालामा त विदेश नीति नै बनाउनुभयो, अब बुझ्नुस् उहाँको भूमिका अबको सरकारमा के हुन्छ ।’
काठमाण्डौ क्षेत्र नम्बर ४ मा एमाले उम्मेद्वार भट्टराईको कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापासँग प्रतिस्पर्धा हुँदैछ ।



