आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सिंगो देशको ध्यान गोर्खातिर केन्द्रित भएको छ ।
व्यवस्था फेर्ने लडाईं सकिएको र अब गरिबी र बेरोजगारीविरुद्ध लड्दै देश र नागरिकको अवस्था फेर्नुपर्ने भन्दै नयाँ शक्ति पार्टी बनाएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीचको लडाईंका कारण गोर्खातिर सबैको नजर केन्द्रित भएको हो ।
गोरखामा पहिलो चरण अर्थात् मंसिर १० गते निर्वाचन हुँदैछ । नेपाली कांग्रेसलगायतका पार्टीहरुको सहयोगमा नयाँ शक्तिका संयोजक डा. भट्टराई चुनावी मैदानमा उत्रिएका छन् भने श्रेष्ठलाई नेकपा एमालेले सघाउने भएको छ । स्थानीय चुनावको मत हेर्दा कांग्रेस र नयाँ शक्ति केही मतले वाम गठबन्धनभन्दा कमजोर रहेको देखिन्छ तर, अहिले अन्य दलहरुले पनि बाबुरामलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लीउका छन् भने बाबुराम आफैं उम्मेदवारको रुपमा खडा भएका छन् । यसले आफ्नो स्वभाविक विजय हुने डा. भट्टराईले बताउँदै आएका छन् ।
त्यस्तै गोरखा माओवादीको लालकिल्ला भएको भन्दै वाम गठबन्धन बलियो भएकोले आफूले जित्ने नेता श्रेष्ठको दावी रहने गरेको छ । यसैबीच श्रेष्ठले केही दिनको चुनावी प्रचार अभियानबाट प्राप्त सन्देशलाई हेरेर गोरखामा माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई नै बोलाएका छन् । कात्तिक २९ गते आयोजित गठबन्धनको संयुक्त चुनावीसभालाई दुवै नेताले सम्बोधन गर्नेछन् । गोर्खाका विभिन्न चार स्थानमा हुने संयुक्त सभालाई दुवै नेताले सम्बोधन गर्नेछन् ।
गोरखामा डा. बाबुराम भट्टराईको पक्षमा माहोल बलियो बन्दै गएपछि श्रेष्ठले दुवै पार्टीका शीर्ष नेतालाई सम्बोधन गर्न आइदिन पटकपटक अनुरोध गरेपछि दाहाल र ओली गोरखा जान लागेको एमाले स्रोतले जनाएको छ ।
निर्वाचन नजिकिँदै गर्दा श्रेष्ठलाई टुरिष्ट उम्मेदवार र नक्कली माओवादीको आरोप लाग्न थालेपछि श्रेष्ठ पनि कडा प्रतिवादमा उत्रन थालेका छन् । उनले प्रतिस्पर्धी भट्टराईलाई अस्थिर र एक्लै जितेर पनि केही गर्न नसक्ने जस्ता आरोप लगाउँदै आएका छन् ।
पछिल्लो समय माओवादी उम्मेदवार सुशिला सिंखडा सवार मोटरसाइकलबाट हतियार बरामद भएपछि स्थिति संवेदनशील बन्दै गइरहेको छ ।



