बिष्णुप्रसाद पोखरेल
दमक/दमकको त्रिवेणि होटलमा भएको रहस्यमय मृत्युको बिषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । दमककै १९ बर्षिय युवा राजेश मल्लिक होटलको कोठामा मृत अवस्थामा भेटिएकाहुन् ।
शनिबार साँझ दमक चोकको होटलको कोठामा मृत अवस्थामा होटलमा काम गर्ने युवा रहेको सूचना पाएपछि प्रहरीले घटना गम्भिर भएको हुनसक्ने आँशकामा तालिम प्राप्त कुकुर मगाएर नै अनुसन्धान शुरु गरेको थियो ।
छातीमा छुरा हानेर कसैले हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान शुरु भएकाले घटनाको वास्तविकता चाडै पत्ता लगाउने इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीले बताएकाछन् ।
घटना प्रकृती अनुसार कोठामा फेन चलिरहेको, टिभि पनि खोलिएको देखिन्थ्यो । छुरा एकातिर र मान्छे अर्कातिर लडेको अवस्था थियो । फोन छुरा र मान्छेको बीचमा देखिन्थ्यो । ढोका छेउमा शव रहेको प्रहरीको भनाइ रहेको छ ।
मल्लिकको मुटुमा नै ताकेर छुरा प्रहार गरेको पाईएको जनाईएको छ । लज केहि समयदेखि मल्लिकले नै हेर्ने गरेको र लज सञ्चालकले बिश्वास गरेर छाड्ने गरेको आफन्तहरुले बताएकाछन् ।
भित्र चुकुल खुला र बाहिरबाट लगाएको पाइएपछि हत्या नै भएको हुनसक्ने प्रहरीको अनुमान रहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतको भनाइ रहेको छ । चक्कु घटनास्थलबाट नै प्रहरीले बरामद गरेको जनाएको छ ।
कुकुरले पत्ता लगायो चप्पल
तालिम प्राप्त कुकुर बोलाइएका कारण ढोका खोल्नलाइ ढिलाइ भएको थियो । राती करिब साढे ९ बजे आएको तालिम प्राप्त कुकुरले छुराको बिड सुघेर अपराधि खोज्न निस्केको थियो ।
त्रिवेणी होटलबाट आकाशेपुल हुदै ठाँउठाँउमा रोकिदै कुकुर पश्चिम बस स्टेण्ड तिर लागेको थियो । पश्चिम बस स्टेण्ड नजिक एउटा रातो झोलामा एकजोडि चप्पल भएको ठाँउमा कुकुरले पुर्याएको थियो ।
अपराधिले प्रयोग गरेको चप्पल झोलामा हालेर खोलाछेउमा फ्याकेर हिडेको हुनसक्ने वा त्यो चप्पल अरु कसैको पनि हुने प्रहरीको भनाइ छ । घटना भने रहस्यमय बनेको भन्दै प्रभावकारी अनुसन्धानको माग पीडितका आफन्तले गरेकाछन् ।
अनुसन्धानमा कमी हुन दिन्नौ
इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीले घटनाको बिषयमा अनुसन्धानमा कुनै कमी हुन नदिने बताएकाछन् । प्रभावकारी अनुसन्धान र सकेसम्म अपराधि तत्काल पक्राउ पर्न सक्छ की भनेर तालिमप्राप्त कुकुर समेत ल्याएर प्रारम्भिक रुपमा अनुसन्धान शुरु गरिएको छ ।



